स्ववियु निर्वाचन स्थगित १७ क्याम्पसलाई तत्काल निर्वाचन गर्न निर्देशन



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाले तत्काल स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु)को निर्वाचन प्रकृया अघि बढाउन १७ आंगिक क्याम्पसलाई निर्देशन दिएको छ । त्यसमा ७ वटा उपत्यका र १० वटा उपत्यका बाहिरका रहेका छन् ।

चैत ५ गते तोकेको मितिमा निर्वाचन हुन नसकेपछि महाशाखाले सम्बद्ध पक्षसंग समझदारी कायम गरी तत्काल निर्वाचन गर्न सबै क्याम्पस प्रमुखलाई निर्देशन दिएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव समेत रहनुभएका महाशाखाका निर्देशक प्रा. पशुपति अधिकारीद्धारा हस्ताक्षरित पत्रमा चैत ५ गते निर्वाचन सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले हुन नसकेको हो ? तत्कालै समझदारी कायम गरी निर्वाचन गर्न निर्देशन गरेका छौ–उल्लेख भएको छ ।

निर्देशनालयले उपत्यकाको अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी, विश्वभाषा, रत्नराज्यलक्ष्मी, नेपाल कमर्श, , पाटन संयुक्त र आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र पठाएको छ ।

उपत्यका बाहिर पृथ्वीनारायण क्याम्पस, वन क्याम्पस पोखरा,पोखरा नर्सिङ र पश्चिमाञ्चल इन्जिनियरिङ, वीरगंगको ठाकुरराम क्याम्पस, कञ्चनपुरको सिद्धनाथ, धौलागिरी क्याम्पस वाग्लुङ, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवन इन्जिनियरिङ रामपुर र कृषी क्याम्पस रामपुर रहेका छन् ।

महाशाखाले सबै क्याम्पस प्रमुखलाई एउटै व्यहोराको पत्र पठाएको छ । त्रिविले जारी गरी निर्वाचन सम्बन्धि निर्देशिकामा निर्वाचन स्गथित भएको ३० दिनभित्र निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । सोही अनुसार निर्वाचन गर्न १७ क्याम्पसलाई पत्र पठाएका हौ– निर्वाचन समितिका सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक प्रा.पशुपति अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार पत्र पठाएलगत्तै किर्तिपुरको केन्द्रीय आयुर्वेद क्याम्पसले १७ गते निर्वाचन गर्ने गरी मिति तय गरेको जानकारी गराएका थिए ।

बाकी १६ वटालाई निर्देशिका अनुसार निर्वाचन गर्न आग्रह गरेका हौ–अधिकारीको भनाई छ । पाटन संयुक्त क्याम्पसका प्रमुख लक्ष्मणसिह कुँवरले विद्यार्थी संघ संगठनसंग छलफल गरी निर्वाचन गर्ने ततारी भैरहेको बताउनुभयो ।

उहाले भन्नुभयो–हामी निर्वाचन गर्ने पक्षमा छौ, विद्यार्थी संगठन मिलेर नआएसम्म सम्भावना छैन । उहाले त्रिबिको पत्र र निर्देशिका अनुसार क्याम्पस प्रशासन निर्वाचन गर्ने तयारीमा रहेको बताउनुभयो ।

सो क्याम्पसमा नेविसंघको दुई गुट भएकोले समस्या आएको हो । निर्वाचन नगराएको झोकमा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

त्रिबिले भने जस्तोसुकै परिस्थिति भएपनि निर्वाचन गर्नेपर्ने जनाएको छ । सोही अनुसार हामीले निर्देशिका बनाएका हौ, सोमबार पत्र पठाएका हौ–समितिका सदस्यसचिव प्रा अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्