बौद्धिक अपाङ्गता कानुन व्यवहारमा लागू भएन : शिला थापा



काठमाडौँ। 

विश्व डाउन सिण्ड्रोम दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो । दिवसका अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले सोमबार र मंगलबार दुई दिवसीय जनचेतना मूलक ज्ञान आदान प्रदान गरी नीतिगत रुपमै डाउन सिण्ड्रोमलाई सम्बोधन हुनुपर्ने बिषयमा जोड दिँदै विज्ञहरुको सहभागितामा गोष्ठी संंचालन गर्यो ।

डाउन सिण्ड्रोम भएका बालबालिकाहरुका अभिभावकहरुको सकृयतामा खोलिएको संमाजले अघि सारेको दुई दिवसीय कार्यक्रमको मूल एजेण्डा समावेशी शिक्षा नीति र अपाङ्गता मैत्री भौतिक पहुँचको विस्तारका साथ डाउन सिन्ड्रोम भएका व्यक्तिको सहजै जिउन पाउने अधिकारको रक्षामा जोड दिइयो ।

२१ तारिखका दिन मनाइने विश्व डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शिला थापाले सरकारले बौद्धिक अपांगताको कानून बनाएको तर कार्यान्वयनको पक्ष फित्तलो छ भन्नुभयो । बौद्धिक अपांगतालाई संविधानमै ५ वटा बुद्धामा समेटिएकोछ । तर डाउन सिण्ड्रोम छुट्टै समेटिएको छैन । डाउन सिण्ड्रोम भएका व्यक्तिलाई नेपाली समाजमा बोलीचालीको भाषामा लठेब्रो, गोज्याग्रो भनेर हेप्ने र उनीहरुलाई छिछिदुरदुर गरिन्छ । विश्वमा डाउन सिन्ड्रोमबाट प्रभावित बालबालिकालाई उचित शिक्षा र तालिम दिईन्छ र समाजमा निकै सम्मानजनक व्यवहार गरिन्छ भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, डाउन सिण्ड्रोम भएका व्यक्तिलाई बाल्यकाल देखि नै जीवन उपयोगी शिक्षा (दैनिक कृयाकलाप) दिनुपर्छ । यस्तो शिक्षा प्राप्त भएमा आत्मनिर्भर हुन सक्ने भएकोले समावेशी शिक्षा नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्छ । बालबालिकाको उमेरसँगै हर्मोन परिवर्तन हुने, रिसाउने, एकान्तवास बस्ने जस्ता व्यवहार हुन सक्छन् यस्तो अवस्थामा उनीहरूले बोल्न र व्यक्त गर्न सक्दैनन् । बोल्नका लागि सिकाईमा आधारित स्पीच थेरापी, फिजिओथेरापी, दैनिक उठ्ने, बस्ने, बोल्ने, मान्छे चिन्ने, भावना व्यक्त गर्ने तरिका साङ्केतिक रुपमा, भाषागत रुपमा, चित्रका माध्यमबाट, स्वरको माध्यमबाट सिकाउनुपर्छ । दैनिक हिँडडुल सिकाएन भने एकै ठाउँमा बस्ने, भोक लागेको पनि थाहा हुँन, दिन रात पनि थाहा हुन्नँ त्यसैले उनीहरुलाई व्यवहारिक दैनिकी शिक्षा दिनुपर्छ ।

यसका साथै छोरी मान्छेलाई महिनावारी के हो थाहा हुन्न, माया गरेको या गलत नियतले कसैले छोएको थाहा हुन्न । यस्ता बिषयमा पनि ज्ञान दिनुपर्ने हुन्छ । दैनिक व्यवहार, तालिम, व्यायाम र शिक्षा पाए भने डाउन सिण्ड्रोम भएका व्यक्ति साधारण व्यक्ति सरह आफ्नो काम आफै गर्ने र इमानदार हुन्छन् । डाउन सिण्ड्रोम सोसाइटी नेपाल सन् २००६ मा स्थापना गरी यस्तै शिक्षा दिँदै आएको छ र व्यवहारिक शिक्षा पाएकै कारण हालै ३ जनाले काठमाडौँमै रोजगारी पाएका छन् ।
केहीले घरजम गरेर बसेका छन् । उनीहरुलाई उच्च शिक्षामा हिसाबको विषय कठिन हुने हुनाले साधारण व्यक्ति सरह उच्च शिक्षा लिन सहज नहुने पनि थापा बताउनुहुन्छ । नेपाल भरीका ३ हजार ५ सय जनाको हाराहारीमा डाउन सिण्ड्रोम भएका व्यक्ति रहेको थापाको आकलन रहेको छ । उहाँ एक अभिभावक तथा डाउन सिण्ड्रोम भएका व्यक्तिको पैरवी गर्ने,फिँजियो थेरापीमा समेत ज्ञान हासिल गर्नुभएको अनुभवी व्यक्ति हुनुहुन्छ ।

दिवस केन्द्रित गोष्ठीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अपाङ्गता प्रवर्द्धन शाखा प्रमुख उपसचिव जमुना मिश्रले राज्यले अपाङ्गता भएका व्यक्तिका अधिकारलाई सम्बोधन गर्न अपाङ्गता सम्बन्धी दस वर्षे राष्ट्रिय नीति, अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी ऐन, २०७५, समावेशी शिक्षा नीति ल्याएकोमा यसको पूर्ण कार्यान्वयनका लागि सरोकारवाला संघ संस्था र हरेक सचेत नागरिक एकजुट भै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय अपांग महासङ्घ नेपालका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलले विविध प्रकारका अपाङ्गता भएका बालबालिकाकाले साधार बालबालिका भन्दा ढिलो सिक्ने क्षमता भएकाले उनीहरुका लागि प्रविधियुक्त सिकाइ पद्धतिमा जोड दिनुपर्ने बताउनुभयो ।

बौद्धिक अपाङ्गता अभिभावक महासङ्घ नेपालका अध्यक्ष राजु बस्नेतले अपाङ्गता भएका बालबालिकालाई अभिभावक, परिवार, शिक्षकको विशेष सहयोग र अपांगतामैत्री वातावरण बनाई अन्य बालबालिकासँगको घुलमिलले विकासको गति र सहयोगी भावनाको विकास राम्रो हुने बताउनुभयो ।

संयुक्त राष्ट्र संघले सन् २०१२ मार्च २१ तारिखलाई विश्व डाउन सिन्ड्रोम दिवसको मान्यता दिएपछि यो दिवस विश्वभरि मनाउन थालिएको हो । यो दिवसको मूलनार “हामी सँगै हौँ, हाम्रो लागि हैन ।”, भन्ने रहेको छ । मार्च २१ तारिख नै दिवसको दिन छनोट गर्नुको छुटटै अर्थ रहेको छ, साधारण मानिसको शरीरको कोषभित्र हुने ४६ वटा क्रोमोजमहरु २३ जोडिमा विभाजित हुन्छ । तर डाउन सिण्ड्रोमको अवस्थामा साधारणतया २१ औं जोडिमा दुईको ठाउँमा तिन वटा क्रोमोजोम रहेको हुन्छ, त्यसैले यस्तो अवस्थालाई अंग्रेजीमा ट्राईसोमी २१ भनिन्छ ।

दुई दिने कार्यक्रममा स्वदेशका ८ जना र विदेशका ४ जना गरी जम्मा १२ जना विज्ञहरूले विभिन्न पक्ष समेटेर आफ्नो ज्ञान, अनुभव सहितको सोधपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमबाट प्राप्त सुझाहरुलाई सङ्कलन गरी समाजले सरोकारवाला निकायको ध्यानाकर्षणका लागि ज्ञापनपत्र तयार गरी बुझाउने अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्