एउटा सपनाको अवसान ल्याउँदै अनुप बराल



सामाजिक मुद्दालाई भव्य क्यानभाष र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाएका रंगकर्मी अनुप बराल चार वर्षपछि त्यस्तै प्रकारको नयाँ नाटक लिएर मञ्चमा प्रस्तुत हुने भएका छन्। चार वर्षअघि मण्डला थिएटरका लागि महाभोजको निर्देशन गरेका बरालले वर्तमान समयमा चलिरहेको आर्थिक संकटको दुरुस्त चित्र प्रस्तुत गर्ने गरी एउटा सपनाको अवसान शीर्षकको नाटक तयार पारेका छन्।

आगामी शुक्रबारदेखि मण्डला थिएटरमा मञ्चन हुने तयारीमा रहेको नाटकको अहिले रिहर्सल चलिरहेको छ। सन् १९४९ मा अमेरिकामा पहिलोपटक मञ्चन भएको आर्थर मिलर लिखित अमेरिकी नाटक डेथ अफ अ सेल्समेनलाई अनुप बराल र उनको लेखक कलाकार समूहले समसामयिक बनाएर प्रस्तुत गर्न लागेको हो।

चरित्र र कथाको आत्मग्रहण गरे पनि नाटकलाई नेपाली सन्दर्भमा जोडेर प्रस्तुत गर्न लागिएको बरालले बताए। कवि विप्लव प्रतीकले नाटकलाई नेपाली माटो सुहाउँदो बनाउने काम गरेका छन्। ७५ वर्ष अघिको अमेरिकी सपना र अहिलेको नेपाली समाजको मनोविज्ञान एकै रहेकाले नाटक एउटा सपनाको अवसानको मञ्चन अति सान्दर्भिक समयमा हुन लागिरहेको अनुप बताउँछन्। ‘हामीले भर्खरै प्रेमप्रसाद आचार्यको आत्मदाहको दृश्य देख्यौ। उनको आत्मदाहले हाम्रा धेरै सत्य र सपनामाथि बहस छेडेको छ।

नाटकको तयारी र उनको घटना संयोग हो। तर दुवै कुरा हाम्रो वरिपरि भइरहेका घटनाका प्रतिनिधि हुन्। मञ्चमा हामीले सपनाको मूल्य चुकाउन बाध्य यस्तै चरित्रलाई जिवन्त बनाउने तयारी गरिरहेका छौ’, बरालको भनाइ छ। भनिन्छ अनुप बरालका नाटक भव्य र खर्चिला हुन्छन्। दर्शक जम्मा गर्न संघर्ष गर्नुपर्ने थिएटरमा खर्चिला नाटक गर्न ठूलै जोखिम लिनुपर्ने हुन्छ। यो नाटक तयार गर्ने जोखिम लिएका छन्, गोविन्द पराजुलीले। सन् २०१० मा राष्ट्रिय नाचघरको ६ महिने प्रशिक्षण लिएर थिएटर र थिएटर व्यवस्थापनामा सक्रिय गोविन्दले फिल्मजस्तै नाटकमा पनि एकल निर्माणको अभ्यास संस्थागत गर्न एउटा सपनाको अवसान तयार गरेको बताए।

‘म आफैले कलाकार भएर पनि नाटकमा काम गरे। अभिनयमा डुब्नुपर्ने हामी जहिले पनि पैसाको चिन्तामा भुलेका हुन्छौ। यसरी नाटक गरेर आफै र दर्शकलाई पनि ठगिरहेको महसुस गरेपछि मैले निर्माणको अभिभारा लिने निर्णय गरेको हुँ’ पराजुलीको बुझाइ छ ‘नाटक गर्नलाई पैसा आउँछ र गर्छु भन्ने नहुँदो रहेछ। अझ अहिले त देश नै आर्थिक संकटबाट गुज्रिरहेको छ। मानिसमा भविष्यलाई लिएर चिन्ता छ। यस्तो बेलामा आँट हौसला दिने नै कलाले हो।’ नाटकमा धेरै पात्र भएको र यसले अधवैंशेदेखि युवा युवतीसम्मलाई आफ्नो कथा भनेको महसुस गराउने बराल बताउँछन्। तर, संघर्षलाई बुझ्ने मामलामा नाटकले नयाँ दृष्टिकोण प्रदान गर्ने उनको विश्वास छ। ‘संघर्ष गर्यो भने सफल भइन्छ भन्ने हाम्रो मान्यता छ।

तर, हामीले यी मान्यता खण्डित भएको बारम्बार देखेका छौ। त्यस्ता मान्छेलाई समाजले बुझ्नुपर्छ भन्ने नाटकको एउटा आग्रह छ। भौतिकवादले बाँकी सबै कुरालाई ओझेलमा पारेको समयमा यो नाटक आफैलाई हेर्ने ऐना हो भन्ने लाग्छ मलाई’ अनुप भन्छन्। महिना दिनसम्म चल्ने नाटकमा शेखर चापागाई ं,दिया मास्के ,दिव्य देव, मेनुका प्रधान, रोयदिभ श्रेष्ठ, सूर्यमान लिम्बू, विकास जोशी, उत्पल झा, सन्देश शाक्य, सरोज अधिकारी, अविरल प्रताप अधिकारी, अभिषेक खड्का, विशाल पुलामी, निकिता आचार्य, सुरज मल्ल, जीवन गौ तमलगायतल े अभिनय गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्