सन्दर्भ – जल सप्ताह ललितपुर नगरको चिनारी : ऐतिहासिक जलस्रोत व्यवस्थापन



पानी, देशको सर्वतोमुखी विकासमा प्रमुख भूमिका निर्वाह गर्नुका अतिरक्त जीवनयापनको लागि अद्वितीय भौतिक स्रोत हो । आधारभूत मानवीय आवश्यकताहरू जस्तै– खानेपानी, पकाउने तथा नुहाउने काम, बाली उत्पादन, सिंचाइ, ऊर्जा, उद्योग तथा वातावरणका लागि पानीको आवश्यकता पर्दछ । पानीमा सबै जीवन तथा जीवनलाई समर्थन गर्ने प्रणालीहरू निर्भर रहने पर्यावरणीय चक्रको अन्तरनिहित तत्व हुनुका अतिरिक्त सांस्कृतिक तथा आध्यात्मिक महत्व पनि छ । यही साधनलाई मनन गरी ललितपुरमा धार्मिक, सांस्कृतिकको अतिरिक्त जनमानसको दैनिक जीवनमा जलस्रोतको भूमिकालाई अग्र स्थान दिएर नगरलाई परिकल्पना गरेको भान हुन्छ । साँच्चिकै भन्ने हो भने ललितपुर नेपालका विभिन्न नगरहरूमध्ये धार्मिक तथा सांस्कृतिक नगरले मात्र परिचित नभएर कलाकृतिबाट सुसज्जित सुन्दर र व्यवस्थित नगरमा पर्दछ । यस नगरमा अवस्थित मठ, मन्दिर, देवालय, घर, चोक इत्यादिलाई जिउँदो संग्रहालयमा लिन सकिन्छ भने वर्षभरि नै कुनै न कुनै जात्रा वा पर्व मनाउने चलन अझै पनि छ । यस नगरमा संसारको सबैभन्दा लामो समयावधि सञ्चालन हुने मच्छिन्द्रनाथको रथजात्रा छ भने तीन–चार घण्टामात्र परिक्रमा गरेर सम्पन्न हुने गणेश पूजा, भीमसेन जात्राजस्ता पनि छन् । यसको साथै यहाँ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूबीच कुनै भेदभाव नराखीकन एक–आपसमा आदर–सत्कार गर्दछन् । विभिन्न जात्राहरु मनाउने सिलसिलामा यस समयावधिमा (श्रावण–भाद्र महिनामा) मानिने जात्राहरूमा कुम्भेश्वरमा जनै पूर्णिमाको मेला, गाईजात्रा, न्येकु जात्रा (मत याः), नृसिंह जात्रा, गणेश पूजा, कृष्ण पूजा, दश महाविद्या पूजा तथा भीमसेन पूजा छन् । यसको साथै अधिक बौद्ध धर्मावलम्बीहरु सम्मिलित हुने वसुन्धरा पूजा, वा पूजा तथा बुद्ध जयन्ती पनि मनाइन्छ । यी जात्रा अथवा पर्वहरु एकपछि अर्को हुँदै व्यवस्थापन गर्ने जिम्मा पाएका व्यक्ति, समूह वा क्षेत्रमा सरल त हुँदैन तर त्यसताका ललितपुर नगर क्षेत्रमा जात्राहरूले नगरका जनमानसलाई नै जीवन्त दिएको वा रंगमय भएको भान हुन्छ । यी जात्राहरूको सञ्चालनमा जनमानसको अपार सहभागिताको अतिरिक्त मौसमसँग सम्बन्धित छ अर्थात् पानीमा निर्भरता भएको बुझिन्छ । ललितपुरमा लिच्छवि एवम् मल्ल कालमा नै पानीको व्यवस्थापनमा विषेश प्राथमिकता दिइएको छ, जुन प्राचीन कालमा ललितपुर नगरभित्र निर्माण भएका ढुंगेधारा, पोखरी तथा इनारहरूवाट प्रमाणित हुन्छ ।

नगरक्षेत्रमा प्राचीन जल व्यवस्थापन

ललितपुर नगरमा प्राचीन कालदेखि निर्मित ढुंगेधारा, इनार तथा पोखरीहरुबाट व्यवस्थापन गरिएको जल व्यवस्थापनलाई मान्नु नै पर्ने हुन्छ । यसको प्रमाणको रुपमा ई.स्वी. ५७० श्री मानदेवका नाति श्री भार्वीबाट निर्माण गरिएको मंगलबजारस्थित ढुंगेधारा (मंगः हिटी) बाट प्रमाणित हुन्छ । त्यस्तै श्री सिद्धिनृसिंह मल्ल (ई.स्वी. १६१८–१६६१) को कालमा निर्माण भएको दरबारको सुन्दरी चोकमा निर्माण भएको टुसा हिटी एक उत्कृष्ट नमुनाको रुपमा लिन सकिन्छ । साथै पानीसँग सम्बन्धित संसाधन चुस्त, दुरुस्त राख्न काठमाडौं उपत्यकामा जात्रा नै सञ्चालनमा छन् । यहाँका जात्राहरु शुरु गठे मुंगलबाट हुन्छ । यसमा विषेश नर्कटलाई पूजा गरिन्छ । नर्कटको जराले पानी स्वच्छ गर्ने प्रक्रिया गर्दछ । तसर्थ पहिले नदीको दायाँ–बायाँ नर्कट रोपेको हुन्थ्यो । सालभरिका जात्राहरु सम्पन्न सिथी नखःबाट हुन्छ । यस दिन पानीसँग सम्बन्धित संरचनाहरु जस्तै– इनार, ढुंगेधारा, पोखरी इत्यादि सफा गर्ने काम गरिन्छ ।

ललितपुरमा झन्डै १००० वर्षअगाडि राजकुलो चापागाउँका खेतमा सिंचाइ सुविधा उपलब्ध गराउन निर्माण गरिएको थियो । यस राजकुलोको मूल स्रोत नल्डु खोला हो, जुन नखु खोलाको सहायक नदी हो । यस राजकुलो टीकाभैरवदेखि शुरु हुन्छ । पछि मल्लकाल (ई.स्वी. १४२०–१७६८) मा सिंचाइ तथा घरेलु प्रयोजनको लागि ललितपुर नगरसम्म विस्तार गरिएको थियो । ई.स्वी. १९८० तिर तत्कालीन नेपाल सरकारबाट केही मर्मत–सम्भार गर्नुका अतिरिक्त सैनिक जवानसमेतको सहयोगमा लगनखेलको पोखरीसम्म पानी पु¥याउने प्रयास गरिएको थियो ।

दोस्रो राजकुलो नेपाल सरकारबाट ई.स्वी. १९७३–१९७७ बीचमा निर्माण गरिएको थियो । यस कुलोको मूल स्रोत लेले खोला हो । राजकुलो नं. १ बाट लगनखेलस्थित स्तूपको वरिपरि रहेको पोखरीमा पानी भरिन्छ । यसको साथै लगनखेल अर्थात् लःगं ख्यः मा वर्षात्को समयमा पर्ने पानी सोझै भूमिगत सतहका साथै लगनखेलको पोखरीमा भरिन्थ्यो । यसको साथै यही कुलोमार्फत ललितपुरका प्रयाग पोखरी, कुमारी पाटी, पुल्चोक, जावलाखेल, पुल्चोक, पिम्वहाल इत्यादिका पोखरीहरु भरिन्थ्यो । लगनखेलको अतिरिक्त अन्य पोखरीहरू एवं ललितपुरस्थित विभिन्न पोखरीहरु तथा विभिन्न मैदान र खेतबाट भूमिगत पानी रिचार्जकै माध्यमबाट ललितपुरका इनार तथा ढुंगेधारामा पानीलाई निरन्तरता दिइएको थियो ।

राजकुलो नं. १ बाट ललितपुरका ३९ वटा पोखरीहरुमध्ये १८ वटामा राजकुलो जोडिएको थियो । ललितपुरमा पहिले ३४ वटा ढुंगेधारा हुनुका अतिरिक्त पुराना २०० भन्दा बढी इनारहरु थिए भनिन्थ्यो । राजकुलो लगनखेल पुग्दासम्म लेले, प्याँगगाउँ, चापागाउँ, सुनाकोठी, धापाखेल, ठेचो तथा झरुवाराशी गरी सात गाउँका पोखरीहरु भरेर पनि ३०,००० रोपनीभन्दा बढी जग्गामा सिंचाइ उपलब्ध गराइएको थियो । यो कुलो अन्दाजी ११.६ कि.मि. जति छ ।

राजकुलो नं. २ सन् १९७५ मा मात्रै निर्माण गरिएको थियो । यस कुलोले कुलो नं. १ बाट सिंचाइ सुविधा पु¥याउन नसकेको ढोंलाहिटी, नख्खिपोत इत्यादि क्षेत्रमा सिंचाइ सुविधा पु¥याएको थियो । यो कुलो अन्दाजी ६ कि.मि. जति छ । तत्कालीन समयमा पनि कुलोबाट सिंचाइ सुविधा, दैनिक घरमा आवश्यक प्रयोग, गाईवस्तुका लागि र यसका अतिरिक्त खानेपानीको लागि समेत गरी एक किसिमको एकीकृत जलस्रोत व्यवस्थापनको सोच रहेछ । विश्वमा कमी भइरहेको पानीको राम्रो व्यवस्थापनको लागि एकीकृत जलस्रोत व्यवस्थापनको ब्राजिलको रिओ डी जेनेरिओमा सन् १९९२ मा भएको विश्व जल परिषद्को सम्मेलनमा जारी भएको थियो ।

हालको स्वरुप

कुलो नं. १ ले थेचोसम्म सिंचाइ सुविधा पु¥याउन सकेको छ भने कुलो नं. २ ले ढोलाहिटीसम्म मात्रै सिंचाइ सुविधा पु¥याउन सकेको छ । यसरी हालको अवस्थामा राजकुलो नं. १ र २ पहिले परिकल्पना गरिएअनुरुप अर्थात् मर्मत–सम्भारको कमीको कारण यी संरचनाहरूले सेवा पु¥याउन सकेका छैनन् । त्यसको मूल कारण जनघनत्वले शहरीकरण हुनुका अतिरिक्त जनमानसमा कुलो तथा पोखरीको महत्वभन्दा अन्य संरचनाहरूको आवश्यकता महसुस हुनु हो । त्यसको साथै कुलोको मर्मत–सम्भार समयमै नहुनाले कुलोको कुनै भाग बाटोमा परिणत भयो भने ललितपुर नगरक्षेत्रमा कुलो सञ्चालन नहुँदा पोखरीहरु पनि सुके । पोखरी सुकेको परिणाम ललितपुर नगरक्षेत्रका पोखरीहरु सरकारी कार्यालय, संघसंस्था तथा शिक्षण संस्थाका भवनहरूमा परिणत भएका छन् ।

यसरी ललितपुरका नगरक्षेत्रमा कुलो सञ्चालनमा नआएर पोखरीहरू सुख्खा हुनुका कारणले सुख्खा सिजनमा नगरक्षेत्रको भूमिगत जलस्रोत भण्डारको सतह तल गई सबैजसो ढुंगेधाराहरू सुकेका छन् । साथै धेरैजसो इनारमा पनि पानी सुकेको छ ।

स्थानीय निकायको दायित्व

नेपालको संविधानअनुसार स्थानीय स्रोतको पहिलो हक स्थानीय निकाय नै हुनेछ भने सो स्रोतको संरक्षण र विकासको पहिलो दायित्व पनि स्थानीय निकाय नै हुन आउँछ । तसर्थ स्थानीय जनतालाई यस राजकुलोबाट हुनसक्ने जीवनयापनको सुविधालाई मध्यनजर गरी संरक्षण र संवद्र्धन गर्ने कार्यमा स्थानीय निकायले ध्यान पु¥याउनुपर्ने हुन्छ । शायद सोही दायित्वलाई अंगिकार गर्दै ललितपुर महानगरपालिकाले पिम्वहाल तथा पूर्णचण्डीका पोखरीहरू संवद्र्धन गरेको छ । हाल आएर लगनखेलको स्तूपको वरिपरिको पोखरीको पनि संवद्र्धन गर्न लागेको छ । वर्तमान परिप्रेक्ष्यमा सबै पोखरीमा राजकुलोको पानी पु¥याउन चुनौती नै हुन्छ । तसर्थ त्यस्तो क्षेत्रमा हरेक घरको साथै सो क्षेत्रमा पर्ने वर्षाको पानी फिल्टर गरी पोखरीमा खसाल्नु उपयुक्त हुन्छ । लगनखेलको स्तूपको वरिपरिको पोखरीको हकमा राजकुलो पाइपको माध्यमबाट भए पनि लगनखेलमा ल्याउने प्रयास गर्नुपर्ने हुन्छ । यसको साथै यस नगरक्षेत्रमा भूमिगत जल सतह पनि वृद्धि गर्नुपर्ने हुन्छ । नगरक्षेत्रमा भूमिगत जल सतह पनि वृद्धि भएको खण्डमा ढुंगेधाराबाट सहज जलधार हुनुका अतिरिक्त इनारमा पनि जल सतहमा वृद्धि भई पानी उपलब्धता सहज हुन्छ । नगरक्षेत्रमा भूमिगत जल सतह वृद्धि गर्नको लागि विशेष फिल्टर नगरक्षेत्रका चोक–चोकमा, इनार भए सो स्थानमा फिल्टरलाई पाइपबाट इनारमा जोड्नुपर्ने हुन्छ भने अन्य स्थानमा ठाउँ–ठाउँमा इनारसमेत निर्माण गर्नुपर्ने हुन्छ । यस प्रकारको फिल्टर गर्ने प्रविधि चोकहरुमा मात्रै सीमित नगरी चौर तथा नदीकिनारामा प्रयोग गर्न सकिन्छ ।

यसको साथै नयाँ भवन निर्माणमा बाध्यात्मकरुपमा रिचार्जको लागि वर्षात्को पानी त्यस भवनको छतबाट इनारमा खसाल्ने व्यवस्था गरेमा भूमिगत जल भण्डारणमा प्रभावकारी हुनसक्छ । यस अतिरिक्त काठमाडौं उपत्यकाको वरिपरिको डाँडामा बृहतरुपमा वृक्षरोपण गर्ने पहल गरी भौतिक संरचना निर्माणमा रोक लगाउन सकेमा अझ भूमिगत जल भण्डारणमा प्रभावकारी हुने थियो ।

हालको आवश्यकता

यस नगरका जनताका ढुंगेधारा, इनार तथा पोखरीहरूको पानी जीवन धान्नको लागि पुर्खाबाट प्राप्त उपहारकै रुपमा मान्नुपर्दछ । आधुनिक नेपालमा अझै पनि जीवित रुपमा रहेका भौतिक सम्पदा, संरक्षण र प्रवद्र्धनको संघारमा रहेका यहाँका परम्परागत संस्कृति, सामाजिक जीवन्तता नै हाम्रा पुर्खाका इतिहास हुन् भन्नेमा दुविधा पाइन्न । यसरी लिच्छवि, मध्यकालीन र आधुनिक नेपाललाई निरन्तरता दिने कडीको रुपमा रही हरेक मानवजातिमा प्रभाव पार्ने हाम्रा परम्परागत ढुंगेधारा, इनार तथा पोखरीहरू पनि हुन् । यस प्रकारका बृहत् वरदानलाई लोप हुन नदिन स्थानीय सरकार अर्थात् ललितपुर महानगरपालिका एवं नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूका साथै सञ्चालन र संवद्र्धनमा टेवा प्रदान गर्न जिल्ला प्रशासनसहित सुरक्षा निकायबाट पनि राम्रो पहलको जरुरी देखिन्छ । यस राजकुलो पानीको लागि मात्र नभएर चापागाउँदेखि ललितपुर नगरक्षेत्रको जनमानसको सांस्कृतिक तथा सामाजिक कार्यमा सहज गराउने एक परम्परागत साधन हो । नेपाल सरकारले यस्ता संरक्षित सम्पदाको मान्यता दिन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्