६५ वर्षमा नेपाललाई रजत दिलाएका कृष्ण सिं शाही



काठमाडौं।

सन् २०२३ को एक तथ्यांकअनुसार नेपालीहरूको औसत आयु ७१.७४ वर्ष रहेको छ । तथ्यांकलाई आधार मान्ने हो भने ६५ वर्ष कटेका अधिकांश नेपाली नागरिकहरूलाई कुनै न कुनै दीर्घरोगले सताउने गरेको पनि उल्लेख छ । तर, यो यथार्थलाई गलत साबित गर्ने सूचीमा अटाएका छन् ६५ वर्षीय नेपाली स्ट्रेन्थलिफ्टिंग खेलाडी कृष्ण सिं शाही । उनी निरोगी पनि छन् र बलिया पनि ।

इच्छाशक्ति बलियो भए के सम्भव हुँदैन र ? भन्ने उदाहरण पनि कृष्ण बनेका छन् । मार्चको दोस्रो साता भएको इन्टरनेसनल स्ट्रेन्थलिफ्टिंग एन्ड इन्कलाइन्ड बेन्च प्रेस च्याम्पियनसिप २०२३ मा उनको प्रदर्शनलाई दुर्लभभन्दा फरक नपर्ला । नेपालमा नै पहिलोपटक भएको उक्त खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा शाहीले ६० वर्ष कटे पनि देशलाई रजत पदक दिलाएर ‘उमेर त संख्या मात्रै हो’ भन्ने कठनलाई प्रमाणित गरिदिएका छन् ।

नेपाल स्ट्रेन्थलिफ्टिंग फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक नेपाल लगायत भारत, पाकिस्तान, कजाखस्तान र किर्गिस्तान गरी पाँच राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाली टोलीले दोस्रो स्थान हासिल गरे पनि ६५ वर्षको उमेरमा पनि युवाजस्तो देखिने शाहीको जोशलाई प्रतियोगितामा सहभागी भएका अन्य राष्ट्रका खेलाडीहरूले पनि तारिफ गरेका थिए । प्रतियोगितामा सहभागी केही विदेशी खेलाडीले उनले उचालेको वजनलाई देखेर मात्रै होइन, पाको उमेरमा पनि सिक्स एब्ससहितको उनको सुगठित शरीर देखेर प्रसंशा गर्न कुनै कन्जुस्याइँ गरेनन् ।

५६ किलोग्राम शारीरिक तौल भए पनि मास्टर्स–३ स्पर्धाअन्तर्गत ६८ केजी तौल समूहमा खेलेका थिए शाही । आफ्नो स्वाभाविक तौलभन्दा झन्डै १२ केजी बढी तौल समूहमा चुनौती पेश गरेका उनले बाइसेप कर्लिगं र ह्याक लिफ्टको दुई–दुई सेटमा गरी कुल ३ सय ४७.५ केजी उचालेर दर्शकहरूलाई दाँत टोक्न बाध्य पारेका थिए । उनले बाइसेप कर्लिगंको पहिलो र दोस्रो सेटमा क्रमशः ४० र ४२.५ केजी भार उठाएका थिए । त्यस्तै, ह्याक लिफ्टको पहिलो सेटमा १ सय २५ केजी र दोस्रो सेटमा १ सय ४० केजी उठाएर नेपाललाई रजत पदक दिलाउन सफल भए ।

विगत साढे तीन दशकभन्दा अघिदेखि निरन्तर खेलकुदमा लागेका उनले स्ट्रेन्थलिफ्टिंगबाट मात्रै होइन, बक्सिंग, एथ्लेटिक्स र बडी बिल्डिंगका राष्ट्रियस्तरका प्रतियोगितामार्फत् पनि पदकहरू जितेका छन् । कमलपोखरी बक्सिंग क्लबबाट खेल्ने गरेका उनले वि.सं २०३५ सालमा तेस्रो राष्ट्रिय बक्सिङ प्रतियोगितामा ४८ केजी तौल समूहमा स्वर्णपदक जितेका थिए ।

त्यति मात्रै होइन, उनले चौथो र पाँचौं राष्ट्रीय बक्सिङ प्रतियोगितामा पनि रजत र कांस्य हात पारेको बताउँछन् । दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने स्व.पुष्करध्वज शाहीसँग समेत बक्सिंग खेलेको उनी सुनाउँछन् । उनले भने–“३० को दशकमा स्व.शाहीसँग बक्सिंग रिंगमा टक्कर हुन्थ्यो । तैपनि, कुनै प्रमुख अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा खेल्ने अवसर भने जुरेन । एकपटक कलकत्तामा भएको मैत्रीपूर्ण बक्सिङ बाउट खेलेको थिएँ । त्यही नै बक्सिङको मेरो अन्तर्राष्ट्रिय अनुभव बनेको छ ।”

‘पहिले पहिले लाग्थ्यो कसैले एक बक्सिङ हाने पॉच बक्सिंङ हान्ने पो बलियो । मलाई त माइक टाइसन, मोहमद अली बलियो लाग्थ्यो । आफूलाई पनि एक हाने पाँच फर्काऊँ जस्तै लाग्थ्यो । त्यो त बल हैन रहेछ, रिस रहेछ । बलियो त को नै छ र । समयले बक्सरहरू त रिङमा पो बलियो हुँदा रहेछन् । उमेर ढल्कंदै गएपछि थाहा पाएं, अरूको मनमा बस्न सक्ने कर्म गर्ने पो बलियो हुँदो रहेछ ।”–उनले भने ।

निम्न आर्थिक अवस्थाका कारण बडी बिल्डिंगको प्रतिस्पर्धामा होस् वा अरु कुनै खेलका लागि तयारी गर्दा होस्, कहिल्यै केराटिन, अमिनो मास जस्ता महँगा शक्तिबद्र्धक औषधिहरू सेवन नगरेको उनी बताउँछन् । उनले घरकै साधारण खानाको भरमा खेलकुदलाई निरन्तरता दिइरहेका छन् । तैपनि, उनले कहिल्यै व्यायामलाई थांती राख्ने सोच भने बनाएका छैनन् ।

एथ्लेटिक्सको भेट्रान्स प्रतियोगितामा पनि थुप्रै पटक पदक जितेको बताउंछन् उनी । त्यस्तै, दशौं धर्मश्री बडीबिल्डिङ प्रतियोगितामा पनि मास्टर्सतर्फ स्वर्ण पदक जितेका थिए । झन्डै बितेको तीन दशकदेखि नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरमा कसरत गर्दै आएका उनी हरेक दिन दुई घण्टा व्यायामका लागि समय निकाल्छन् । हातखुट्टा ठिहिर्याउने जाडो होस् वा पसिनाले लतपतिएर स्वास फेर्नसमेत उकुसमुकुस हुने गर्मी, साढे ६ दशकको उमेरमा पनि उनले व्यायामलाई निरन्तरता दिँदै आइरहेका छन् । नेपालीहरूको राष्ट्रिय रोग जस्तै बनिसकेको डाइबिटिज, प्रेसर र ग्यास्ट्रिकले उनलाई अझै छुन सकेको छैन । त्यसैले उनी भन्छन्–“मैले खेलकुदमा लागेर आर्थिक रूपमा प्रगति गर्न नसके पनि यो उमेरमा रोगहरूबाट भने आफ्नो शरीरलाई जोगाउन सकेकोमा धेरै सन्तुष्टि महसुस हुन्छ । लामो समय विभिन्न खेल खेलियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरू पनि जिते, तर अहिलेसम्म सरकारी र निजीस्तरबाट कुनै प्रकारको सहयोग मिलेको छैन । जे जति गरे, आफ्नै बलबुटामा गरेको छु ।”

जीवन हो खाल्डोमा पर्छ, हेर्दा हेर्दै लाग्ने रोग पनि एउटा खाल्डो हो जीवनको । शरीरलाई वास्ता नगर्दा कोही पनि कहिले पनि खाल्डोमा खस्न सक्छ । खाल्डोमा खस्दा केही मान्छेले हरायो अब कहाँ पुग्यो भन्ने सोच्छन् । तर, शारीरिक रूपमा कमजोर भए पनि इच्छाशक्ति र आत्मबल बलियो बनाईरहेको मान्छेले रोगलाई जित्दो रहेछ । शाहीले पनि उमेरसँगै शरीरले दिने आवाज र संकेतलाई बुझेर आफ्नो जीवनशैलीमा व्यायामलाई सामेल गराउंदै आएका छन्, र उनका लागि उमेरलाई गिन्तीमा मात्रै सिमित राख्ने सूत्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्