लोकसेवा परीक्षामा उत्साह : ३ हजार ७ सय पदका लगि ३ लाख ६५ हजारको दरखास्त



–लोकसेवाप्रतिको आकर्षण ७७ जिल्लामै
–उत्कृष्ट पाँच जिल्लामा स्याङ्जा, काठमाडौं, गुल्मी, मोरङ र अर्घाखाँची
–३६ वटा विज्ञापनमा कुनै पनि दरखास्त परेन
– निजामतीतर्फ देशभरमा १ लाख ३६ हजार १ सय २२ दरबन्दी

काठमाडौं । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ । लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन गरिएका ३ हजार ७ सय २७ पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाको दरखास्त परेको छ ।

बेरोजगारी बढेको र लोकसेवाले निस्पक्षतापूर्वक परीक्षा सञ्चालन गर्ने भएकाले लोकसेवाको परीक्षाप्रति युवायुवतीहरुको आकर्षण बढेको हो । लोकसेवामा कुनै सोर्सफोर्स हँुदैन । लोकसेवाले मेरिटोक्रेसी (योग्यता, दक्षता र क्षमता) को आधारमा परीक्षा लिएर सोहीअनुसार कर्मचारी छनोट गर्दै आइरहेको छ । सोर्सफोर्स नलाग्ने भएकाले पनि यसतर्फ धेरैको आकर्षण बढेको हो ।

लोकसेवा आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विभिन्न निकायबाट रिक्त पदपूर्तिका लागि आयोगमा माग भएअनुरुप ५ सय ८२ वटा बढुवा सूचना, १ सय २५ वटा आन्तरिक प्रतियोगिता, २ सय ५२ वटा खुला प्रतियोगिता र ४ सय ३८ वटा विभिन्न समावेशी समूहका गरी जम्मा १ हजार ३ सय ९७ वटा विज्ञापन प्रकाशन गरिएको थियो । सोमध्ये बढुवातर्फ आप्रबाहेक १ हजार २ सय ३३, आन्तरिक प्रतियोगितातर्फ २ सय ७१, खुला प्रतियोगितातर्फ १ हजार २ सय ६ तथा समावेशीतर्फ १ हजार १७ गरी ३ हजार ७ सय २७ पदका लागि आयोगले दरखास्त माग गरेको थियो ।

३ हजार ७ सय २७ पदका लागि परेको ३ लाख ६५ हजार ४ सय ३४ वटा दरखास्तमा देशका ७७ जिल्लाकै सहभागिता रहेको पाइएको लोकसेवा आयोगले जनाएको छ । आयोगका अनुसार लोकसेवाको परीक्षामा सबैभन्दा बढी दरखास्त पर्ने ५ जिल्लामा क्रमशः सप्तरी, धनुषा, सर्लाही, महोत्तरी र सिराहा रहेका छन् । ती पाँच जिल्लाबाट मात्रै कुल ६६ हजार ५ सय ९५ दरखास्त परेको छ ।

जुन कुल संख्याको १८ प्रतिशत हो । त्यस्तै, सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्लामा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु रहेका छन् । ती जिल्लाबाट कुल २ हजार ३ सय ४८ दरखास्त परेका छन् । आयोगबाट प्रकाशित १ हजार ३ सय ९७ विज्ञापनमध्ये विभिन्न ३६ वटा विज्ञापनमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने ५ जिल्लामा भने क्रमशः स्याङ्जा, काठमाडौं, गुल्मी, मोरङ र अर्घाखाँची रहेका छन् ।

राष्ट्रिय किताबखानाका अनुसार संघमा ५३ हजार ५ सय ३१, सात प्रदेशमा १७ हजार ३ सय २२ तथा ७ सय ५३ स्थानीय तहमा ६५ हजार २ सय ६९ गरी देशभर १ लाख ३६ हजार १ सय २२ स्वीकृत दरबन्दी रहेको छ । ती दरबन्दीमध्ये रिक्त स्थानमा लोकसेवा आयोगले पदपूर्ति गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७८÷७९ मा निजामती सेवातर्फ २ हजार ६ सय ७२ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए । जसमा महिला ७ सय ३८ जना र पुरुष १ हजार ९ सय ३४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्