‘टोकन’ र ‘टाइम’ पछि राहदानी लिन सहज

दुई महिनामा ३७९८ लाई राहदानी



काभ्रे।

 पाँचखालका श्याम शिवभक्तीले धुलिखेलको एक साईबरमा आठ महिना अघि नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका कागजात सहित नगद २ हजार रुपैयाँ छाडेर पनि राहदानीका लागि  फाराम भर्न सकेनन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले टोकन र टाइम कार्ड लागू गरे लगत्तै शिवभक्तिले जिल्ला प्रशासन कार्यालय आफैले राहदानीका लागि फाराम भरेर फोटो खिचिदिन थाले पछि राहदानी लिनका लागि सहज भएको छ । राहदानीका लागि सहज भएसँगै महिनौँदेखि राहदानीका लागि फाराम भर्न नसकेका सर्वसाधारणहरु दैनिक प्रशासनमा लर्को लाग्ने गरेका छन् । ‘राहदानी लिनका लागि अनलाइन फाराम भर्नै कठिन अवस्थालाई सहज र सरल बनाउन टोकन र टाइम कार्ड दिएर सेवा सुरु गरिएको छ’ –प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘ दैनिक एक सय भन्दा धेरै नागरिकहरुलाई बिदाको दिनमा समेत कार्यालय भित्रै अनलाइन फाराम भराएर राहदानीका लागि फोटो खिचेका छौँ ।’

फागुन महिनामा मात्रै २ हजार ३ सय १ जनाले राहदानीका लागि फोटो खिचाएका छन् । जसमध्ये ९ सय ५६ महिला र १ हजार ३ सय ४५ जना पुरुष छन् । इलाका प्रशासन कार्यालय महाभारतबाट १२ जनाले फोटो खिचाएका छन् । थप २ जनाले द्रुत गतिका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिएका छन् । माघ महिनामा १ हजार ४ सय ९७ जनाले राहदानी लिएका थिए । यो महिनामा २० गतेसम्म सेवाग्राहीले साईबरमा फाराम भर्ने गरेका थिए । साईबरहरुले राहदानीका फाराम भरिदिँदा ५ सय देखि २ हजार लिने गरेका थिए । अहिले जिल्ला प्रशासन कार्यालय आफैले उक्त फाराम भरिदिए पछि नागरिकहरुलाई सहज भएको सेवाग्राही अशोक आचार्यले बताउनु भयो ।

‘हामीले चाहेर पनि आफै अनलाइन फाराम भर्न सकिरहेका थिएनौँ’–सेवाग्राही रामेश्वर फुयाँलले भन्नुभयो–‘छोटो समयका लागि खुल्ने अनलाइनमा कागजात राख्दा राख्दै अफ भई हाल्थ्यो । साईबरलाई भन्यो महिनौ पालो आउँदैन थियो । अहिले केहि दिन कुर्नु परेको भए पनि सहज भएको छ ।’ प्रशासन कार्यालयले टोकन र टाइम दिएर दैनिक एक सय भन्दा धेरै नागरिकहरुलाई सेवा दिइरहेको भए पनि दुईवटा मात्रै फोटो खिच्ने स्टेसन भएकाले नागरिकहरुले सात दिन पछिको टोकन पाउन थालेका छन् । केहि दिन पछि यो क्रम घटेर जुन दिन आयो त्यहि दिन सेवा प्राप्त गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनु भयो । कर्मचारी, बैक तथा सेवाग्राहिहरुको सहयोग र समन्वयका कारण नागरिकहरुलाई दैनिक सेवामा सहज र सरलीकृत गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । राहदानीमा जस्तै नागरिकता, नागरिकता प्रतिलिपि र राष्ट्रिय परिचयपत्रमा समेत सेवामा सहज बनाउँदै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्रका लागि यस अघि कार्यरत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दुईवटा स्टेशनलाई थप गरेर तिनवटा बनाउनु भएको थियो । सरकारले राहदानी तथा अन्य सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै नागरिकहरुको भिड लागेको थियो ।

फागुन महिनामा जिल्ला प्रशासन कार्यालयले १ करोड ३६ लाख ५८ हजार ६ सय राजश्व सङ्कलन गरेको छ । अघिल्लो महिना माघमा ८३ लाख २४ हजार ६ सय ५० सङ्कलन गरेको थियो । राष्ट्रिय परिचयपत्र माघ महिनामा २ हजार ८१ जनाले लिए भने फागुन महिनामा २ हजार ४ सय ७१ जनाले लिए । दुवैको फाराम प्रशासन कार्यालय आफैले भरिदिएर नागरिकहरुलाई सहज सेवा प्रदान गरिरहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्