‘नेतृत्व उत्पादनको नर्सरी’ को नतिजा धमाधम



हेटौंडा ।

‘नेतृत्व उत्पादन गर्ने नर्सरी’ का रुपमा रहेको स्ववियु निर्वाचनअन्तर्गत् मकवानपुरको नतिजा आउने क्रममा छन् ।
पहिलो नतिजाअनुसार हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पस अध्यक्षमा अनेरास्ववियुका दिवस सिलवालको प्यानल विजयी भएको छ । आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिलवालको प्यानल निर्वाचित भएको हो ।

सिलवाल १८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्र विसंकी मनिका गौतमले ९ मत प्राप्त गर्नुभयो । वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रुपा राई (१७ मत), सदस्यमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित विजयी हुनुभएको छ ।

सिलवालको प्यानलमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु र नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) बीच गठबन्धन थियो भने गौतमको प्यानलमा नेपाली कांग्रेसनिकट नेवि संघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्र विसंबीच गठबन्धन थियो ।

पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि गठित निर्वाचन समितिले निर्विरोध निर्वाचन सम्पन्न भएको घोषणा गरेको छ । निर्वाचन समितिले आगामी कार्यकालका लागि निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएको छ ।

क्याम्पसमा प्रत्यक्षतर्फ अध्यक्षमा पुष्कल श्रेष्ठ, सचिवमा दिलीप रुम्बा, कोषाध्यक्षमा आयाम नापित र सदस्यमा मेनुका देउला, मोणिका खत्री र पुष्पा कार्की निर्विरोध निर्वाचित हुनुभएको छ भने समानुपातिकतर्फ सबिता केसी, रोशनी गोपाली, नवीना अधिकारी, सुष्मिता श्रेष्ठ र पुष्पा पाख्रिन निर्वाचित हुनुभएको छ ।

निर्वाचितलाई क्याम्पस प्रमुख राजन मिश्रले प्रमाणपत्र प्रदान गर्नुभएको थियो निर्वाचन अधिकृत कुमार नेगीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

उक्त अवसरमा निर्वाचन समिति सदस्य हरिकृष्ण कार्की, क्याम्पस सञ्चालक समिति सदस्य मनोज अधिकारी, निवर्तमान स्ववियु सभापति मुकेश गोलेलगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्लाका ७ क्याम्पसमा निर्वाचन भएको छ ।

विश्वविद्यालयमा अध्ययरत् विद्यार्थी र तिनले आन्दोलनमार्फत् गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीतिनिर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चितता, क्याम्पसमा शैक्षिक वातावरण र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हु“दै आएको छ ।

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको थिएन । २०५४ मा भएको स्थानीय तह निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो ।

देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनअन्तर्गत् १ सय ६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसमध्ये वागमतीका १९ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।

प्राप्त जानकारीअनुसार वागमतीमा २५ क्याम्पसमा मतदान भएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन हुँदा वागमतीमा ५ सय २९ प्रहरी परिचालन गरिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्