कांग्रेसद्वारा राष्ट्रपति पौडेललाई शुभकामना



हेटौंडा ।

नेपाली कांग्रेस वागमती प्रदेशका पदाधिकारीहरुद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार बधाई तथा शुभकामना दिइएको छ ।

कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपतिलाई बधाई तथा शुभकामना दिंदै प्रजातन्त्रप्राप्तिका लागि निरन्तर संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि अहम् भूमिका खेल्नुभएका राष्ट्रपतिले आमजनताको जनभावनाअनुरुप कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उच्च स्थान हासिल गर्नेमा आमनेपाली जनता विश्वस्त रहेको बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका रुपमा निर्वाचित भएपश्चात् भएका कार्यक्रममा आफूले निर्वाचित हुनुअगावै गरेका केही प्रतिवद्धता पूरा गरेर जनताको मन जित्न सुरु गरेको बताउँदै नेता बानियाँले पाँच वर्ष कार्यकालमा राष्ट्रपति पदको भूमिका अब्बलरुपमा निर्वाह गर्नेमा पूर्णविश्वास रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्