स्ववियु निर्वाचन : मतदाता बोक्न अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग



डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा आइतबार भईरहेको स्ववियु निर्वाचनका क्रममा मतदाता ओसार्न अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय आगिंक क्याम्पसका डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मतदाता ओर्सान सरकारी सवारी साधनको दुरुपयोग गरिरहेको भन्दै चुनावी प्रतिष्प्रर्धामा रहेका विद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन् ।

नगरप्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसको बहुमत रहेको अमरगढी नगरपालिकाको स्वामित्वमा रहेको से.१.झ.२३९ नम्बरप्लेटको बोलेरो जीप दुरुपयोग गर्दै मतदाता ओसारेको संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेदवार मदनबहादुर बोहराले जानकारी दिनुभयो ।

चुनावी प्रतिष्प्रर्धामा रहेको अनेरास्ववियु र अखिल क्रान्तीकारीले पनि नेपाल विद्यार्थी संघले सत्ताको दुरुपयोग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाताहरु प्रभावित पार्न खोजेको भन्दै आपत्ती जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा विद्यार्थी नेताहरुबाट गुनासो आएकोले तत्काल अमरगढी नगरपालिकालाई सवारी साधनको दुरुपयोग रोक्न निर्देशन दिएको जनाएको छ ।

यस सम्बन्धमा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यायले स्ववियु निर्वाचनका क्रममा नगरपालिकाका उपप्रमुख सवारी साधनमा चढेर क्याम्पस पुगेको र विद्यार्थीहरु बोक्ने काम नभएको जिकिर गर्नुभयो । उहाँले उपप्रमुखले सवारी साधन प्रयोग गरेको विषयलाई अन्यथा भन्न नमिल्ने बताउनु भयो ।

प्रत्यक्षदर्शी विद्यार्थीहरुले भने नेवि संघका उम्मेदवारहरुले अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरेर मतदाता ओसार्ने काम भएको बताएका छन् ।

‘एक पटक होइन, पटक पटक नगरपालिकाको सवारी साधनमा विद्यार्थीलाई बोकेर मतदानस्थलसम्म पुगाइएको छ,’ विद्यार्थी नेता करन साउँदले भन्नुभयो, ‘यसवाहेक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्ववियु निर्वाचन प्रभावित पार्न आचारसंहिताको उललंघन गर्ने कार्य भएको छ ।’

प्रतिक्रिया दिनुहोस्