धुलिखेलमा साहसिक क्रसमाण्डु च्याम्पियनसिप

विजेता बने दिपेश



काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी सदरमुकाम धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको साहसिक तथा पर्यटकीय खेल डट बाइक रेसिङ क्रसमाण्डु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । चैत्र २ र ३ गते छनौट भएका खेलाडीहरूको अन्तिम प्रतिस्पर्धा चैत्र ४ गते शनिवार धुलिखेलमा सम्पन्न भएको हो ।
‘नेपालकै हालसम्मको सबैभन्दा ठुलो रेसिङ प्रतियोगिता धुलिखेलमा हामीले आयोजना गर्‍यौँ’–आयोजक डट टेम्पल प्रणालीका अध्यक्ष इजव वरुणले भन्नुभयो–‘अन्तर्राष्ट्रिय मापदण्डको ट्र्याक मोटो क्रस तयार गरी यो प्रतियोगिता आयोजना गरिएको हो ।’ नासाको समन्वयमा आयोजना भएको उक्त प्रतियोगितामा देशका विभिन्न स्थानबाट १७ जना प्रतिस्पर्धीहरू सहभागी भएको थियो । १७ जना मध्ये १२ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए ।

सहभागी भएका मध्ये तीन समूहमा विभाजन गरिएका मध्ये भीम होना, राजकुमार कार्की, रिजोन खड्गी, रोनिश कार्की पहिलो समूहका हुन् । दोस्रो समूहमा आशुतोष धुँजु, दिपेश क्षेत्री, रामविक्रम थापा र मनिष गुरुङ दोस्रो समूहमा थिए । एलिस बस्नेत, श्रेयस पौड्याल, संगम श्रेष्ठ र प्रशान्त जंग कार्की तेस्रो समूहमा थिए । प्रतिस्पर्धामा सहभागी भएका मध्ये पहिलो समूहका भीम होना र राजकुमार कार्की क्रमशः दोस्रो र तेस्रो भए । दोस्रो समूहका दिपेश क्षेत्री प्रथम भए । आयोजक डट डेम्पल प्रणालीका तर्फबाट प्रथम हुने क्षेत्रीलाई नगद १ लाख १० हजार, दोस्रो हुने भीम होनालाई ७५ हजार र तेस्रो हुने राजकुमार कार्कीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा चिनाउन धुलिखेलमा आयोजना गरिएको साहसिक खेलको प्रर्वद्धन तथा विकासका लागि नगरपालिकाकोतर्फबाट सहयोग गर्ने बताउनु भयो ।

नासाका अध्यक्ष दशरथ रिसालले नासाको वार्षिक क्यालेण्डर भित्र रहेको डट बाइक रेसिङ प्रतियोगिताले नेपाली युवाहरु साहसिक खेलमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने पुष्टि गरेको बताउनु भयो । आयोजक डट टेम्पल प्रणालीका अध्यक्ष इजव वरुणले डट बाइक रेसिङ महङ्गो र जोखिम भए पनि सुन्दर भएको बताउनु भयो । पछिल्लो समय युवाहरुको क्रेज बनिरहेको रेसिङको महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गर्न पाएकोमा नासा र अन्य सङ्घ संस्था तथा सहयोगीहरूलाई वरुणले धन्यवाद दिनु भएको थियो । ८३० मिटरको लम्बाई रहेको मोटो क्रस खुल्ला माटोमा २० ल्याब्स घुमाएर युवाहरुले साहसिक प्रतियोगितामा सहभागी जनाउँदा सर्वसाधारणले हुटिङ गरेका थिए । नासाको रेसिङ लाइसेन्स प्राप्त ब्यक्तिहरु मात्रै उक्त प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।

 

दुई पाग्रें बाइक सँगको खेललाई मनोरञ्जनका रुपमा लिदै अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन साहसिक खेलमा सहभागी युवाहरुलाई अवसर र ब्यवसायीकताका लागि सरकारले सहयोग गर्नु पर्ने नासाका सचिव निरोज खड्काले बताउनु भयो । धुलिखेलमा रहेको नीजि क्षेत्रका ब्यक्तिहरुको ३८ रोपनी जमिन १० वर्षका लागि भाडामा लिदै विभिन्न प्रतियोगिता आयोजना गरिदै आएको खड्काले बताउनु भयो । क्रसमाण्डु अफरोडमा आयोजना गरिन्छ भने रेसमाण्डु पिच भएको स्थानमा हुनेछ ।

विदेशमा सिकेको सिप र अध्ययनलाई नेपाल तथा आफ्नै जन्मस्थानमा केही गर्ने उद्देश्यले आयोजक डट टेम्पल प्रणालीका अध्यक्ष इजव वरुणले आगामी दिनमा फरक फरक खालका प्रतियोगिता आयोजना गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्