बेबीलोनका विद्यार्थीले खाजाको पैसा जम्मा गरेर बालगृहमा सघाउँदै 



काभ्रे। 

धुलिखेल नगरपालिका वडा नं ३ मा सञ्चालित हेल्प नेपाल बालगृह धुलिखेलको वेविलोन नेशनल स्कुल शान्ति नगर बानेश्वरका शिक्षक तथा ६ कक्षाका  विद्यार्थीहरुले अवलोकन गर्नुका साथै आर्थिक सहयोग समेत प्रदान गरेका छन् ।

शनिवार बिदाका दिनमा  बेबिलोन स्कुलमा कक्षा ६ मा अध्ययनरत ३१ जना विद्यार्थीहरुले बालगृहका विद्यार्थीहरुको सहयोगका लागि खाजा कटाएर जम्मा गरेको रकम लिएर धुलिखेल पुगे । विद्यार्थीले जम्मा गरेको ५ हजार ३ सय ५५ रुपैयाँमा विद्यालयले त्यति नै रकम थप गरी १० हजार ७ सय १० रुपैयाँ चैत्र ४ गते हेल्प नेपाल बालगृहका व्यवस्थापक पुण्यवती घलेलाई हस्तान्तरण गरेको थियो ।

बेबीलोल स्कुलका सञ्चालक टीका सुवेदीका साथ २९ जना विद्यार्थी, विद्यालय परिवारको नेतृत्व गर्दै अवलोकनका लागि धुलिखेल बालगृह पुगी उक्त रकम र केही कपी समेत बालगृह व्यवस्थापन समितिका संयोजक रामप्रसाद घिनाञ्जुलाई हस्तान्तरण गरेको थियो ।

वेविलोन नेशनल स्कुल विद्यार्थीहरुले सङ्कलन गरेको रकम हेल्प नेपाल बालगृहको अक्षयकोषमा जम्मा गर्ने बालगृहका सल्लाहकार पूर्ण बहादुर कार्कीले बताउनुभयो ।

सोही अवसरमा वेविलोन स्कुलका सञ्चालक सुवेदीलाई हेल्प नेपाल व्यवस्थापन समितिका संयोजक घिनाञ्जुले हेल्प नेपाल बालगृहका तर्फबाट मायाको चिनो उपहार प्रदान गर्नुभएको थियो । बेबिलोनका विद्यार्थीहरुलाले बालगृहका विद्यार्थीहरुलाई चक्लेट बाँडेर साथी बनाउँदै एक आपसमा परिचय गरेका थिए ।

रवीन्द्र मिश्र लगायत मनकारी दाताहरुले धुलिखेलमा स्थापना गरेको बालगृहमा १ डलर सहयोग गरौँ बच्चाको शिक्षा पाउने अधिकारको रक्षा गरौँ भन्दै द्वन्द्व कालको बेलामा रकम सङ्कलन गरी जग्गा लिई भवन बनाई अनाथ बालिकाहरुलाई शिक्षा दिँदै आएको छ । हाल २२ जना छात्राहरूले उक्त बालगृहमा बसी स्थानीय विद्यालयमा अध्ययन गरिरहेको बालगृहका व्यवस्थापक पुण्यवती घले बताउनुहुन्छ । बच्चाहरुको पठनपाठन, आवासका लागि र दश जोड दुई पढाई सक्दा सीप सहित बालिकाहरुको बीमा र केही रकम जम्मा गरी आत्मनिर्भर बनाएर फर्काउने लक्ष्य छ । यो संस्थाबाट २ जनाले १२ कक्षा पुरा गरी सीप सिकेर आत्मनिर्भर भै उनीहरूले पाउने रकम लिएर फर्किसकेका छन् । भविष्यमा दातामा निर्भर हुनु नपरोस भनेर बालगृहल अक्षयकोष स्थापना गरेको छ ।

हाल १७ लाख जम्मा गरिएको र भविष्यमा १ करोड अक्षयकोष जम्मा गरी आत्म निर्भर बन्ने लक्षयका साथ अघि बढेको संस्थापक तथा जिल्ला संयोजक पूर्ण बहादुर कार्कीले बताउनुभयो । उहाँले बालिकाहरुको पाँच जनाको समूह बनाएर धुलिखेल अस्पतालमा १ लाख बराबरको स्वास्थ्य बीमा गरेको र उपचारमा सहज भएको बताउनुभयो । त्यसैगरी उहाँले हरेक दाताहरुले जन्मदिन मनाउने खर्च, विवाह भोज, विवाह बर्षगाठ जस्ता धार्मिक, सांस्कृति, तिथि, श्राद्धको दिनमा समेत बालगृहलाई सघाउन आउने गरेकै कारण आत्मनिर्भर बन्न थप हौसला मिलेको बताउँदै बेबीलोनका विद्यार्थी तथा परिवारलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्