नि:शुल्क आँखा शिविरमा ६८ जनाको गुमेको ज्योति फर्कियो 



काठमाडौँ। 

नेपाल नेत्र ज्योति संघ बागलुङ आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने ६ सय ६८ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको नेपाल नेत्रज्योतिसंघले जनाएको छ ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कसैले पनि अन्धोपनमा जीवन विताउन  नपरोस् भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसंगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङको ढोरपाटन नगरपालिकामा शिविर सञ्चालन गरिएको  थियो  ।

मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठिक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतीबिन्दुको शल्यक्रिया गरेको केही घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी वार्षिक करिब ३ हजार निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १ सय ५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्