मधुमेह सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु



काठमाडौं ।

मधुमेह सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँस्थित हायात होटलमा आजबाट सुरु भएको छ । साफिस इन्टरनेशनल इन्डोक्राइन पाचौं सम्मेलन दक्षिण एशियाली इन्डोक्राइन सोसाइटीको आयोजनामा भएको हो ।

सम्मेलनमा दक्षिण एशियाली राष्ट्रहरुको छाता संगठनमा आबद्ध इन्डोक्राइनो लोजिष्टसहित अध्ययन अनुसन्धानकर्ताहरु समेत सहभागी रहेका छन् ।


सम्मेलनको अध्यक्षता डा. डिना श्रेष्ठले गर्नुभएको छ । उहाँ नेपालस्थित इन्डोक्राइन सोसाईटीको सम्मेलनको अध्यक्ष हनुहुन्छ । सम्मेलनमा नेपाल, बंगलादेश, भारत, पाकिस्थान, श्रीलंका, अफगानिस्थान र माल्दिप्सका प्रतिनिधिका साथ बेलायतका विज्ञहरु समेतको सहभागिता रहेको छ ।

सम्मेलनमा विभिन्न देशका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिने कार्यक्रम रहेको बरिष्ट इन्डोक्रिनोलोजिष्ट डा. डिनाले बताउनुभयो ।

मधुमेह र मोटोपनको अन्योन्याश्रित सम्बन्धका बारेमा अन्तर्राष्ट्रिय  रूपमा जनचेतना जगाउने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको डाईवेटिज नेपालका अध्यक्ष रोशन कृष्णन्याच्छोले बताउनुभयो ।

सम्मेलनको उद्घाटन सत्रको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अम्बिका श्रेष्ठले विश्वमा महामारीको रूपमा फैलिएको मधुमेह दक्षिण एशियामा अछुत रहन सक्दैन । मधुमेहले एक व्यक्ति नभै परिवार देशलाई मानसिक र आर्थिक रुपमा नकारात्मक प्रभाव पार्दैछ । त्यसैले यस्ता विषयमा विज्ञहरुद्वारा सम्बोध हुनु समय सापेक्ष विषय हो भन्नुभयो ।

कार्यक्रममा मधुमेह नेपालका  महासचिव कैलाश प्रधानले मधु मेहको अन्तर्राष्ट्रिय सम्मेलनले समस्याको समाधानको निचोड निकाल्ने विश्वास लिएको बताउनुभयो ।

सोही अवसरमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले मधुमेहको सन्देशमूलक वृत्तचित्र सार्वजनिक गर्नुभएको थियो । उक्त वृत्तचित्र महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा मधुमेह रोगका बारेमा जनचेतना फैलाउने उद्देश्यले निमार्ण गरिएको हो । उक्त टेलिफिल्म नेपाल टेलिभिजनमा आजै राती प्रस्तुत हुने र युट्युबमा पनि राख्ने कार्यक्रम रहेको आचार्यले जानकारी गराउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्