स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ आंगिक क्याम्पसमा निर्वाचन स्थगित

मतदान स्थलमा ५ सामग्री पूर्ण प्रतिबन्ध



Eligible students cast their ballots for the presidential election and several state positions while voting at a polling place in Memorial Union’s Tripp Commons at the University of Wisconsin-Madison on Nov. 6, 2012. The Memorial Union is the designated polling location for campus residents living in Adams, Barnard, Chadbourne, Elizabeth Waters, Slichter and Tripp residence halls. (Photo by Jeff Miller/UW-Madison)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्य उपत्यकासहित देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने ५३ वटामा मात्र स्ववियु निर्वाचन हुने भएको छ ।

त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्य सचिव त्रिवि एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले उपत्यकाको ५ र उपत्यका बाहिरका ४ गरी ९ वटा आंगिक क्याम्पसमा निर्वाचन स्थगित हुने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंको विश्वभाषा, त्रिचन्द्र र रत्नराज्य क्याम्पसका साथै ललितपुरको पाटन संयुक्त र कीर्तिपुरको केन्द्रीय आयुर्वेद क्याम्पसको मतदान स्थगित भएको हो ।

उपत्यकाबाहिर सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, धौलागिरि क्याम्पस वाग्लुङ र पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा वन क्याम्पस गरी चार वटामा निर्वाचन स्थगित भएको छ ।

नेविसंघका वागी र विद्यार्थी संगठनबीच आन्तरिक द्वन्द्वका कारण ती क्याम्पसमा निर्वाचन स्थगित भएको हो । काठमाडौंको मीनभवन र वीरगञ्जको ठाकुरराम क्याम्पसमा पनि स्थगित हुने सम्भावना छ । त्रिविले ती क्याम्पसमा प्रकृया शुरू भएको बताएपछि विद्यार्थी संगठनबीच समझदारी नभएका कारण समस्या बढेको हो ।

सदस्य सचिव प्रा. अधिकारीले स्थगित भएका क्याम्पसले ३० दिनभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था भएको बताउँदै भन्नुभयो– ‘निर्वाचनसम्बन्धी निर्देशिकामा चैत ५ गते निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सबै क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेका छौं ।

स्ववियु निर्वाचनका लागि आजबाट मौन अवधि शुरू भइसकेको छ । स्ववियु निर्वाचनसम्बन्धी आचारसंहितामा पछिल्लो ४८ घण्टा मौन अवधि तोकिएको छ । त्रिविको मौन अवधि शुरू भएपछि कुनै प्रकारको प्रचार, निर्वाचन लक्षित बैठक, भेला गर्न पूर्ण निषेध गरिएको छ । चैत ५ गते बिहान ५ देखि दिउँसो ४ बजेसम्म मतदान गर्ने व्यवस्था गरिएको छ ।

त्रिविले ६ दिनमात्र प्रचारको समय दिएका कारण निर्वाचनमा शान्तिपूर्ण रूपमा प्रचार भएको छ । सदस्यसचिव प्रा. अधिकारीले यो वर्ष कुनै पनि क्याम्पसको पर्खालमा पेन्टिङ गर्ने काम नहुनुका साथै क्याम्पस हातालाई पूर्ण रूपमा पोस्टररहित बनाउन त्रिवि सफल भएको छ । निर्वाचन प्रचार गर्ने समयावधि छोटो भएकोले उम्मेद्वारले भड्किलो प्रचार गर्न नपाएकोले शान्त रूपमा निर्वाचनको प्रचार भएको उहाँका भनाइ थियो ।

प्रचारको क्रममा निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसै गरी सबै उम्मेदवारले निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ए–फोर साइजको एक रङ भएको पर्चामा मात्रै प्रचारप्रसार गर्न पाइने, क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्ने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको छ ।

निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिनेछन् । यसैबीच देशभरका दुई आंगिकसहित ७० वटा क्याम्पसमा निर्विरोध स्ववियु पदाधिकारी चयन भइसकेका छन् ।

मतदान स्थलमा ५ सामग्री पूर्ण प्रतिबन्ध

त्रिभुवन विश्वविद्यालयले पाँच प्रकारका सामग्री मतदान स्थलमा लैजान पूर्ण प्रतिबन्ध लगाएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले हिजो बिहीबार निर्वाचन हुने क्याम्पसका सबै क्याम्पस प्रमुखलाई पत्राचार गरी ती सामग्री मतदान केन्द्र वरपर र परिसरमा लैजान प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लगाइएका सामग्रीहरूमा पानीका बोटल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोटल, रङ र मसीलगायतको तरल पदार्थ रहेका छन् । त्यस्तै, नेल कटर, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कुलगायतका धातुजन्य वस्तुु, मोबाइल क्यामरा, झोला, लौरो, लाठी, हेल्मेट, छाता, रड, चाबी, रेकर्डर, साइकल र मोटरसाइकललगायत डिजिटल तथा कडा सामग्री र लाइटर, सलाई र ग्यासजन्य वस्तुजस्ता आगोजन्य पदार्थलाई मतदान र मतदान स्थल वरपर लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ ।

समितिले हिजो बिहीबार सबै क्याम्पस प्रमुखलाई पत्र पठाएर प्रतिबन्धित समग्री पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । समितिका सदस्यसचिव प्रा.पशुपति अधिकारीले प्रतिबन्ध लगाइएका सामग्री मतदान स्थलमा प्रवेश गराए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो । त्रिविले प्रतिबन्ध लगाइएको सामग्रीको बारेमा सुरक्षा निकायलाई समेत जानकारी गराएको छ । त्रिविले जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रहरीको सहयोगमा प्रतिबन्ध लगाइएका सामग्री रोक्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्