सिन्धुली अस्पतालमा आजदेखि ल्यापरोस्कोपी सेवा 



सिन्धुली ।

सिन्धुली अस्पतालमा बुधवार देखि ल्यापरोस्कोपी सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारले ल्यापरोस्कोपी मेसिन उपलब्ध गराएपछि अस्पतालमा ल्यापरोस्कोपी सेवा सुरु गरिएको हो ।

बुधवार आयोजित एक कार्यक्रमकाबिच बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले ल्यापरोस्कोपी सेवाको शुभारम्भ गर्नुभएको हो । ल्यापरोस्कोपी प्रविधीबाट शल्यत्रिया प्रक्रियाहरु ठुलो चिर्नुको सट्टा साना प्वालहरु मार्फत गरिन्छ । ल्यापरोस्कोपी विधिबाट अपरेसन गर्दा घाउहरु चाँडै निको हुने, सानो दाग मात्र रहने र पुरानो विधिबाट हुने कठिनाई पनि कम हुने हुन्छ ।

ल्यापरोस्कोपी सेवाको शुभारम्भ गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री श्रेष्ठले स्वास्थ्यकर्मीहरुले विरामीहरुलाई मिठो बोली बचन र सभ्य व्यवहार गर्नाले रोग निको हुन सहयोग पुग्ने भएकाले शिष्ट, नरम र उत्साहित गराउदै विरामीको उपचार गर्न आग्रह गर्नुभयो । उहाँले डेङ्गु, झाडा पखाला लगायतका महामारी रोकथामका लागि पूर्व तयारी थाल्न आग्रह गर्नुभयो । उहाँले दुर्गमका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने वा नजाने समस्या हटाउन रोटेसनको नियम लागु गर्ने योजना बनाएको बताउनुभयो । उहाँले बागमती प्रदेशका अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको अभाव पूर्ति गर्न दरबन्दी सिर्जना गर्ने कार्य स्वीकृत भएकाले स्वास्थ्यकर्मी अभाव भएका अस्पतालहरुमा छिट्टै व्यवस्थापन हुने बताउनुभयो ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु 

यसैबिच बागमती प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला अस्पताल सिन्धुलीमा सुरु  गरिएको छ । बुधवार बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरुवात गरिएको हो ।

नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गर्ने र आवश्यक सल्लाह, सुझा तथा सेवा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम ल्याएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा अति गरिब, महिला, दलित र विपन्नलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

जिल्ला अस्पतालमा वडाको सिफारिस लिएर आउने अति विपन्न, दलित, जनजाति, लोपोन्मुख, सहिद परिवार लगायत द्वन्द्व   पीडित नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्