बधाईका पात्र बनून् नवराष्ट्रपति



अन्ततः गणतन्त्र नेपालका तेस्रा राष्ट्रपतिका रुपमा नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेल विजयी बन्न पुगेका छन् । उनको विपक्षमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उठेका थिए । विज्ञहरुका अनुसार पनि सुवासको हार र पौडेलको जित निश्चितजस्तै थियो । सुवास नेम्वाङलाई दोब्बरभन्दा पनि अधिक मतले पछाडि पारेर विजेता बनेका रामचन्द्र पौडेलको राष्ट्रपतिको कार्यकाल कस्तो रहने होला ? भनेर अहिले धेरैलाई जिज्ञासा जागेको छ । समग्रमा हेर्ने हो भने आम जनता र देशका लागि रामचन्द्र पौडेलको राष्ट्रपतिको पद हर्ष र बिस्मातको हुने देखिन्छ । यसको मतलब के भने, उनको कार्यकालमा पनि पूर्वराष्ट्रपतिहरु विद्यादेवी भण्डारी र रामवरण यादवको कार्यकालजस्तै कुनै उल्लेख्य काम हुनेछैन भन्दा फरक नपर्ला ।

पैडेलको यो कार्यकाल उनी स्वयंका लागि स्थायी जागिरको बाटो हो । राष्ट्रपतिको पद उच्च सम्मानको पद भएको हुनाले उनले पनि त्यही उच्च सम्मानको अपेक्षामा आफ्नो कार्यकाल बिताउने छन् । कतै उनको सवारी हुँदाको बखत बाटो जाम हुने र आम सर्वसाधारणले सास्ती बेहोर्नै पर्ने हुन्छ । यसमा सुधानर आउने सम्भावना देखिँदैन । उनले आफ्नो कारणले सडक जाम भएर सर्वसाधारणले सास्ती खेप्नु नपरोस् भन्ने खालको उदार विचार अवश्य राख्ने छैनन् । किनभने उनले राणा शासन होस् कि पञ्चायत काल वा गणतन्त्र कालको जुनसुकै कालखण्डको भए पनि भीआईपीको सवारीमा सडक जाम गराएर जनतालाई सास्ती दिएको राम्ररी देखे–बुझेका छन् ।

उनको यो बुझकीपनाले विशाल आकार लिन सकेको भए विचार पनि अलि उदार भएर जाने थियो होला । उनको कार्यकालमा पनि आम जनताले राष्ट्रपतिको तर्फबाट संविधानको लक्ष्मणरेखामै रहेर केही पाइएला कि भनी आशा गर्दा हुन्छ तर भरोसा भने गर्नुहुँदैन । उनको मानसिकता चोखो र आम जनताका खातिर केही गर्नुपर्छ भन्ने कर्तव्यबोध भए पनि अहिले सम्पन्न राष्ट्रपतीय चुनावमा भोट हाली विजयी गराएको गुन तिर्दातिर्दै उनको कार्यकाल फुस्स सकिएर जानेछ ।

नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिको पदमा विजयी बनेपछि हामीले उनलाई बधाई ज्ञापन गर्न र सफल कार्यकालको कामना गर्नुृ हाम्रो कर्तव्य हो । उनले आफ्नो कार्यकाल सफलतापूर्वक बिताऊन् । यो हाम्रो कामना हो ।

उनकै राजनीतिक दलका सभापति शेरबहादुर देउवा पुनः छैटौँपटक नेपालका कार्यकारी प्रधानमन्त्री बन्ने साइत जुरेछ भने फेरि पनि देउवाको हर्कत भनेको अपराधीलाई जेलमुक्त गराउने प्रयासमा लाग्नेछन् । जनताका कुरा नसुनी बलजफतसँग एमसीसी पास गराउने हर्कतजस्तै अन्य हर्कतहरुमा उनी नलागी छोड्ने छैनन् । त्यस बेला आफ्नै राजनीतिक दलका अध्यक्षले भनेको वा अराएको कुरा नमानेर कसरी बस्न वा टिक्न सक्लान् राष्ट्रपति रामचन्द्र पौडेल ? के उनले आफ्नै खुट्टाको भरमा समाजमा पुनः आतङ्क फैलाउन नहुने भएकोले रोक्छु भनी सद्बुद्धि देखाएर रोक्ने काम गर्न सक्लान् त ? त्यस्ता खराब कामलाई निरुत्साहित गर्न सके, देशको संविधानको रक्षा गर्न सके भने त्यस बेला मात्रै उनलाई भित्रै हृदयदेखि प्रस्फुटन भएको हार्दिक बधाई ज्ञापन गरौँला ।

अहिले हामी नेपाली जनताले धेरै थरीका भौतिक र मानसिक पीडा भोग्नुपरेको अवस्था छ । राज्यले जनदोहन गरेर पीडा थोपर्दै छ भने देशकै अभिभावक राष्ट्रपति ती पीडाबाट आम जनतालाई मुक्त कसरी गर्ने भन्ने उपायको खोजी गर्न र उपाय निकालेर कार्यान्वयन गराउनेजस्ता महत्वपूर्ण भूमिकामा रहन सक्नुपर्ने हुन्छ । देशमा भइरहेका अनेक खालका अनैतिक कामको लेखाजोखा गरेर निराकरणका उपाय खोज्नु पनि शालीन राष्ट्रपतिको परम कर्तव्य हुन जान्छ । नयाँ राष्ट्रपतिको पदमा विजेता बनेका रामचन्द्र पौडेलले जनअपेक्षित यी सबै काम गर्न सकून भनेर शुभ–भाव प्रकट गरौं । हामीले यसो भनिरहँदा उनी स्वयं के–कति प्रकारका दबाबको झमेलामा फस्ने होलान् भन्ने कुरा पनि बिर्सनुहुँदैन ।

नयाँ राष्ट्रपति रामचन्द्र स्वयंले राष्ट्रपतिको पदभार सम्हालुन्जेल कुनै अनैतिक काम नगरेर आफ्नो छवि उज्यालो र चम्किलो पारिरहुन् भन्ने हामी जनताको कामना छ । उनी त्यो जनअपेक्षित कामनामा खरो उत्रिए पनि नातावाद, कृपावाद आदिको दबदबाबाट निरपेक्ष रहेर राष्ट्रपतिजस्तो सम्मानित पदलाई अझ स्वच्छ बनाउँदै लैजान सके भने त्यो दिन उनी झन् बधाईका पात्र हुनेछन् ।

अर्को विषय भनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुल्ला भाषणमा माओवादी युद्धको समयमा मारिएका १७ हजार नागरिकमध्ये पाँच हजारको हत्याको जिम्मेवारी लिन आफू तयार रहेको कुरा बताएपछि उनको विरुद्धमा सर्वोच्च अदालतमा प्रचण्डका विरुद्धमा मुद्दा दायर भएको छ । यस प्रक्रियाको बाटो कस्तो हुँदो होला भन्ने कुरा अहिले देखा परेको छैन । यस घटनापछिका दिनमा नेपाली कम्युनिस्टका र त्यसमा पनि माओवादी तप्काका सबैजसोले उक्त कार्यप्रति असन्तुष्टि जनाएका छन् । यदि सर्वोच्चले प्रचण्डलाई दोषी ठहर गरेको खण्डमा नेपालमा पुनः हिंसा भड्कन सक्छ ।

यदि नवनिर्वाचित राष्ट्रपतिमा निकै पेचिलो बन्दै गएको यस मुद्दाको सही समाधान पत्ता लगाएर तदनुसारका कदम चाल्न सक्ने क्षमता देखिएन भने पनि राष्ट्रपति सफल भएका होइनन् भन्ने मानसिकता आम जनताका मनमा रहन पुग्छ । यस्तो सोचाइले आम जनमानसमा राष्ट्रपतिप्रतिको सम्मान टुटेर जान सक्छ । सम्मान टुटेर गएको खण्डमा आम जनताको भित्री मानसिकतादेखि नै राष्ट्रपतिको पद र राष्ट्रपतिको कुर्सीमा विराजमान बनेका व्यक्तिप्रतिको व्यवहार उपेक्षित बन्न पुग्छ । यसरी जनतिरस्कृत वा जनउपेक्षित भई कुनै सम्मानित पद ओगटेर बस्न ज्यादै अशोभनीय ठहर्छ ।

नवनिर्वाचित राष्ट्रपतिका लागि यी सबै स्वदेशका चुनौतीका विषय हुन् भने राष्ट्रपतिको कूटनीतिक कुशलताका कारण नेपालसँग संसारका कुनै पनि देशको कूटनीतिक सम्बन्ध खलल भएर जान थालेको वा गएको रहेछ भने पनि कूटनीतिक प्रयासबाट समस्या समाधान गर्दै ती देशका बीचमा भइरहेको सम्बन्धलाई अझै गाढा बनाउन सकिन्छ । तर यी सबै कुरा भनेको नवनिर्वाचित राष्ट्रपतिका कूटनीतिक चातुर्यका विषयभित्र समेटिने कुरा हुन् ।

छिमेकी भारतले पश्चिम क्षेत्रको हाम्रो सिमानामा निकै किचकिचे व्यवहार गरिरहेको पाइन्छ । कहिले त सीमा विवाद निकालेर अत्तो थाप्दै हामी नेपालीलाई धेरै दुःख दिने गरेको छ । यदि रामचन्द्र पौडेलले एउटा सफल र सबल राष्ट्रपति बनेको ठानेर अहंतामा डुबिरहन्छन् अनि आफ्नो सीमा मिचिएको केवल निरीह भएर हेरिरहन्छन् भने उनको अभिभावकीय भूमिका कहाँनेर रहेको छ भनेर आम जनताले खोज्नेछन् । पटक–पटक विवादमा आइरहने सिमानाका स्थानहरु कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सिमानका विवादलाई निमिट्यान्न हुने गरी समाधानको बाटोमा हिँड्न सकेको खण्डमा मात्र हाम्रो देशको राष्ट्रपतिको पद सम्मानित वा मर्यादित भएर जानेछ । त्यति मात्रै होइन, छिमेकी भारतसँगको सीमा विवादलाई कूटनीतिक प्रयासमा निमिट्यान्न पार्नको लागि प्रयास गरेर सफल हुने हो भने विगतका दुई राष्ट्रपतिको तुलनामा वर्तमान राष्ट्रपति कता हो कता अधिक सम्मानित भएर जानेछन् । राष्ट्रपतिको पद सम्मानित भएर जानेछ । होइन भने कालोको स्थानमा गोरो वा गोरोका स्थानमा कालो आउने र जाने भन्दा अरु कुनै प्रकारको उन्नति होला कि भनेर कसरी सोच्न सकिन्छ र ?

आम जनताको चाहना र अपेक्षा के छ भने, नवनिर्वाचित राष्ट्रपतिको पद भनेको सक्रिय हुनेवाला पद होइन । यो त केवल निष्क्रिय बनेर सम्मानित बन्ने मात्र हो । त्यसैले भर्खरै सम्पन्न भएको राष्ट्रपतिको चुनावमा जस–जसले आफूलाई मतदान गरेर विजेता बनाए, पछि गएर तिनीहरुले आ–आफ्ना व्यक्तिगत वा पार्टीगत स्वार्थका घेरामा बन्दी भएर राष्ट्रपतिको सम्मानित पदको ख्याल नगरी जथाभावीसँग अनैतिक र जनभावना विपरीतका काम गर्न वा गराउन बाध्य बनाएको खण्डमा धेरै सोच विचार गरेर मात्र कदम चाल्नुपर्ने हुन्छ । राष्ट्रपतीय पद भनेको आम नागरिकको अभिभावकीय भूमिकामा रहेको वा रहनुपर्ने पद हो । यस्तो पदले व्यक्तिगत स्वार्थका लागि काम गर्न थालेको खण्डमा निम्नस्तरको तिरस्कार वा उपेक्षा जनस्तरबाट सहन बाध्य हुनुपर्नेछ । विगतका दुई पूर्वराष्ट्रपतिले गर्न नहुने काम के गरेका थिए र आम जनताको नजरमा दोषी देखिए ? भन्ने कुराको हेक्का नराखेर कुनै पनि कदम आवेशमा होस् कि अधिक फुक्र्याहटमा लागेर होस्, गर्नै हुँदैन ।

अन्त्यमा आम नेपाली जनताले वर्तमान नवनिर्वाचित राष्ट्रपति पौडेललाई विवादित बनेको हेर्नु नपरोस् । कोही पनि नेपाली जनले उनले गरेका कुनै पनि कामको भत्र्सना गर्न र पछुतो मान्न नपरोस् । उनको सवारीका क्रममा आम जनताले कुनै पनि प्रकारका सास्ती झेल्नु नपरोस् । उनका कारणले हाम्रा छिमेकी मुलुकलगायतका संसारका कुनै पनि मुलुकसँगको सम्बन्धमा तीतो वातावरण बन्ने अवस्था नआओस् । कैयौँ नेपाली नागरिकले नागरिकताको स्थायी प्रमाणपत्र हासिल गर्न नसकिरहेको अवस्थामा हजारौँ विदेशीले नेपाली नागरिकता कसरी हासिल गर्न पाए र उनीहरु विदेशी भईकन पनि नेपाली नागरिकता हासिल गर्दा त्यसको नकारात्मक पक्ष र परिणाम के–कस्तो हुन पुग्यो भन्ने कुरा पनि आजका मननीय विषयवस्तु हुन् । यी सारा विषयवस्तुका बारेमा जानकारी नगरी तिनलाई प्राथमिकताका आधारमा बाँडेर क्रमशः सम्बोधन गर्न नसके जताततै असफलताले ठाउँ पाउन सक्छ । यस कुरामा नवनिर्वाचित राष्ट्रपतिले ध्यान र धैर्यका साथ काम गर्न सकेको खण्डमा पछि पुनः बधाई दिने दिन पनि आउनेछ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्