दक्षिण कोरियाका २ सय बौद्ध तीर्थयात्रीहरु लुम्बिनीमा 



बुटवल ।

भगवान गौतम बुद्धको मार्ग पच्छाउँदै दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदल यात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बिच मंगलबार स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन ।

कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरूलाई रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीहरुलाई बुद्धजन्मस्लमा खादा ओढाएर स्वागत गर्नु भयो ।

कोरियाली बौद्ध तीर्थयात्रीहरूको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेका हुन । पूजा तथा प्रार्थना नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो ।

प्रार्थना र पूजा कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्ल लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाविचको सम्बन्ध थप प्रगाढ बनेको बताउनु भयो । उहाँले नेपाल र दक्षिण कोरियाविच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको बताउनु भयो ।

नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरूलाई बुद्ध जन्मस्थल मायोदवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्ध जन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताउनु भयो ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले नेपाल सरकार र नेपाली समुदायको तर्फबाट स्वागत गर्नु भयो । उहाँले फागुन महिना भगवान् गौतम बुद्धको जीवनमा निकै ठूलो महत्त्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरि कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरुका लागि खुसीको क्षण रहेको बताउनु भयो ।

उहाँले अग्रज भिक्षु सहितको तीर्थयात्रीहरूको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यात्मिक सम्बन्ध अझै मजबुद बनेको बनाउनु भयो । उहाँले दक्षिण कोरियाबाट उच्च तहका भिक्षु सहितको बौद्ध तीर्थयात्रीहरूको लुम्बिनी भ्रमणले विश्वमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नु भयो ।

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरूलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । भारत स्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन । मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु भिक्षु छासुङ्गले प्रवचन दिर्नु भएको थियो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिति थियो ।  फेब्रअरी  ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो ।  लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरूबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरूको ठूलो–ठूलो समूह बुद्ध जन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटनक्षेत्रलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्