बस दुर्घटनामा ६ को मृत्यु, दर्जनौं घाइते



काठमाडौं । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब सवा ९ बजे सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.४ कुइभीरस्थित मध्यपहाडी लोकमार्गमा बा.२ख ६५९६ नम्बरको बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

तीव्र गतिका कारण अनियन्त्रित भई सडक भित्तामा ठोक्किएको बसमा ३६ यात्रुसवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरूमा ओखलढुंगा जिल्ला मानेभञ्याङ गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सहचालक देवबहादुर सार्की, सिद्धिचरण नगरपालिका–२ ठूलाछापकका २९ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका –५ का ३१ वर्षीया जोशना राई, सोही ठाउँकी २९ वर्षीया राधा भुजेल, चिशंखुगढी गाउँपालिका– ४ का २६ वर्षीय सञ्जित राई र उदयपुर–२ कटारीकी ३५ वर्षीया कुमारी क्याप्छाकी रहेको सिन्धुलीका ट्राफिक प्रहरी इन्चार्ज जे जंग कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी चौकी खाङसाङबाट खटिएको प्रहरी टोलीसहित स्थानीय समेतको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौं ट्रमा अस्पतालमा ल्याइएको छ । घाइतेको अवस्था हेरेर एम्बुलेन्स तथा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बसका चालक काभ्रे पाँचखाल नगरपालिका वडा न.१ बस्ने ४५ वर्षका लाल बहादुर तामाङको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण अनियन्त्रित हुन गएको बसको ब्रेक फेल भएर दुर्घटना भएको देखाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । घाइतेमध्ये २५ जनाको पहिचान भइसकेको र ३ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा गत हप्ता पनि ठूलो दुर्घटना भएको थियो । फागुन २१ मा जिल्लाको चिशंखुगडी गाउँपालिका– २ दियालेमा भएको जिप दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ११ जना घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

ओखलढुंगाका सांसद रामहरि खतिवडाले घटनास्थलमै पुगेर दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्न सहयोग गर्नुभएको थियो । प्रधानमन्त्रीका सल्लाहकार हरीबोल गजुरेल, गृह सचिव र नेपाली सेनाको सेनापति समेतको सहयोगमा घाइतेहरूको उद्धार गर्न सफल भएको सांसद खतिवडाले बताउनुभयो ।

१४ जनालाई हेलिकोप्टरबाट र १५ जनाको एम्बुलेन्सबाट उद्धार गरिएको बताइएको छ । खतिवडाका अनुसार १६ जना विएण्डवी अस्पतालमा उपचाररत् छन भने ५ जना नेपाली सेना र ४ जना नेपाल प्रहरी अस्पतालमा उपचाररत छन् । दुधेबालकसहितका घाइतेहरूको अवस्था अत्यन्त चिन्ताजनक रहेको बताउँदै सांसद खतिवडाले आर्थिक हिसाबले समेत कमजोर रहेका घाइतेहरूको उपचार खर्च व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेको बताउनुभयो । उहाँले केही घाइतेहरूको अवस्था हेरेर तत्कालका लागि सामान्य उपचार शुरू गराउन आफूले सामान्य खर्चको व्यवस्था गराएको बताउनुभयो ।

पछिल्लो एक हप्तामा भएका दुई सवारी दुर्घटनाबाट ओखलढुंगाका ८ जनाको ज्यान गएको र ४० जना घाइते भएका छन् । दुर्घटनाको कारण चालकको असावधानी, क्षमताभन्दा बढी यात्रु बोक्नु, सवारी साधनको परीक्षण नगरिनु र सडकको अवस्था राम्रो नहुनु रहेको प्रहरीले बताउने गरेको छ ।

मृत्यु हुनेहरूको नाम 

१. सहचालक देवबहादुर सार्की

२. पेशल भुजेल

३. जोशना राई

४. राधा भुजेल

५. सञ्जित राई

६. कुमारी क्याप्छाकी

घाइतेहरू ः

१. चालक लालबहादुर तामाङ

२. तेज कुमार श्रेष्ठ

३. खेमप्रसाद दाहाल

४. पुकार राई

५. अर्पणा राई

६. शान्ता सेन्चुरी

७. भानुलक्ष्मी गिरी

८. राजकिशोर महाराज चमार

९. राजेश राना

१०. लोकबहादुर विश्वकर्मा

११. निरु चौधरी

१२. एकबहादुर राई

१३. एकराज तामाङ

१४. ज्योति प्रजापति

१५. महेश श्रेष्ठ

१६. सारदा श्रेष्ठ

१७. धु्रव भुजेल

१८. दिपाशेर राई

१९. ढुण्डीराज सुनुवार

२०. एलिसा गिरी

२१. प्रदीप सुवेदी

२२. दिबिका राई

२३. बालक मिलन राई

२४. लेखबहादुर भुजेल

२५.श्रीदेवी राई

२६. राजन बस्नेत

२७. भुपेन्द्र धमला

बाँकी नाम नखुलेका ३ जना

प्रतिक्रिया दिनुहोस्