भेडाबाख्राको समयमै उपचार गर्न पाउँदा किसान खुसी



मुगु ।

नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखालाई राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् ।

छायाँनाथ रारा नगरपालिका ६ कोटिला गाउँमा सहयोगी हातहरूको समूह (साहास) नेपालको आर्थिक सहयोग, जिल्ला भेटेरिनरी तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा र छायाँनाथ रारा नगरपालिकाको सहकार्यमा दुई हजार नौ सय भेडाबाख्राको उपचार गरिएको छ । किसानलाई भेडाबाख्राको उपचारका लागि अल्बेन्डाझोल, भिटामिन बी कम्प्लेक्स, यनोक्सियम, कोट्न, हिमेक्स, जेन्टामाइसियन जस्ता औषधी र विभिन्न रोगविरुद्ध निःशुल्क उपचार गरिएको थियो ।

जिल्लाकै भेडापालन पकेट क्षेत्र रहेको छायाँनाथ रारा नगरपालिकाको वडा ६ मा गतवर्ष बिरामी भई दर्जनौँ भेडाबाख्रा मरेका थिए । गत वर्षको जस्तो स्थितिमा कृषकले क्षति नबेहोरेको साहस नेपालका परियोजना अधिकृत राजकुमार थापाले बताउनुभयो । उहाँका अनुसार सो पकेट क्षेत्रमा २६ हजार भेडाबाख्रा भएकाले पुनः अर्को मुन्दु बस्तीमा पनि भेडाबाख्राको उपचार भइरहेको उहाँको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाका भेडापालक स्थानीय हरिभक्त कार्कीले समयमै उपचार पाउँदा किसान खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष समयमै भेडाबाख्राको उपचार गर्न पाउँदा भेडा रोगको प्रकोपबाट बच्ने आशा जागेको छ ।’

छायाँनाथ रारा नगरपालिका –६ का भेडापालक कृषक चङ्ख बुढाले गतवर्ष बजारमा भेडाबाख्रा उपचारका लागि सदरमुकाम गमगढी बजारमा औषधी नपाउँदा रोगका कारणले तीन वटा भेडा मरेको बताउनुभयो । “अहिले गोठमै आएर हाम्रा भेडाबाख्राको उपचार गर्न पाउँदा निकै सहज भएको छ, हामी धेरै खुसी भएका छौँ’ उहाँले भन्नुभयो ।

जिल्ला भेटेरेनरी तथा पशु कार्यालयका प्राविधिक हरिबहादुर खत्रीले जिल्लाको सबैभन्दा बढी भेडापालन छायाँनाथ रारा नगरपालिका –६ मा भेडा पालक कृषक धेरै भएकाले उक्त ठाउँलाई छनोट गरिएको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्