हल्कारा : वैदेशिक रोजगारीबाट सिर्जित समस्या



अमेरिकामा सम्पन्न विभिन्न फिल्म फेस्टिभलमा पुरस्कृत भएको फिल्म हल्काराको टिजर सार्वजनिक गरिएको छ।

आगामी वैशाख २९ गते रिलिज हुने फिल्मको पौने दुई मिनेट लामो टिजरमा वैदेशिक रोजगारीबाट सिर्जित समस्यालाई नयाँ कोणबाट भन्ने प्रयास गरिएको छ। मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा बगेको टिजरले सशक्त दृश्य भाषा र उही स्तरको कलाकारको अभिनयको छनक दिएको छ।

अमेरिकामा बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन र निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन्।

फिल्ममा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्म विक्रमसँगै विप्लव प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्। चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन्। फिल्मको सम्पादन पनि विक्रम स्वयंले गरेका हुन्।

हल्कारा अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड चुमेका थिए। त्यसैगरी, नेपाल–अमेरिका फिल्म फेस्टिभलमा लङ न्यारेटिभ विधामा पुरस्कृत भएको थियो भने अन्य फेस्टिभलमा पनि छनोट भएको थियो।

प्रतिक्रिया दिनुहोस्