स्ववियु निर्वाचन-२०७९ : उपत्यकाका केही क्याम्पसमा मनोनयन बिथोलियो



काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने क्रममा उपत्यकाका आधा दर्जन क्याम्पसमा मनोनयन गर्ने क्रममा नाराबाजी भएका छन् । उपत्यकामा त्रिभुवन विश्वविद्यालयका २२ आंगिक क्याम्पस छन् ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने क्रममा पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, रत्नराज्यलगायत केही क्याम्पसमा विद्यार्थी संगठनले निर्वाचन बिथोलेका थिए ।

दरबारमार्गको त्रिचन्द्र र कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि अवरोध सिर्जना भएपछि निर्वाचनको कुनै पनि काम अघि बढ्न सकेको छैन । दुवै क्याम्पस मनोनयनको दिन शनिबार पूर्ण रूपमा सुनसान थियो ।
सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वको कारण समस्या देखिएको छ । आरआरमा मिलोमतोमा मतदाता थपघट गरेको भन्दै सरकारआबद्ध विद्यार्थी संघ संगठनले मनोनयनमा अवरोध गरेका थिए । अनोस्ववियुका एक विद्यार्थीले क्याम्पस परिसरमै खुकुरी आतंक मच्चाएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो । पाटन क्याम्पसमा नेविसंघका दुई गुटबीचको झडपको कारण समस्या देखिएको छ । पछिल्लो जानकारीअनुसार मनोनयन रोकिएका केही क्याम्पसमा मनोनयनका लागि वार्ता भैरहेको छ ।

यसअघि सरकार आबद्ध गठबन्धन मिलेर स्ववियु निर्वाचनमा भाग लिने उल्लेख भए पनि केही क्याम्पसमा कार्यान्वयन हुन सकेको छैन । त्रिवि केन्द्रीय निर्वाचन समितिले सामान्य झगडाका विषयमा निर्वाचन रोक्न नहुने भन्दै सुरक्षाकर्मी परिचालन गरेरै भए पनि निर्वाचन गर्न क्याम्पस प्रमुखलाई निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले विशेष परिस्थिति भए एक महिनाभित्र तर सामान्य अवस्थामा चैत ५ गते नै निर्वाचन गर्न सबै क्याम्पस प्रमुखलाई निर्देशन दिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘मध्यरातसम्म मनोनय प्रक्रिया चालु गर्न सबै क्याम्पस प्रमुखलाई निर्देशन दिएका छौं । निर्वाचन स्थगित गर्न मिल्दैन, सुरक्षाकर्मी परिचालन गरेरै भए पनि निर्वाचन सम्पन्न गर्न सबै क्याम्पस प्रमुख र निर्वाचन समितिलाई आग्रह गर्दछांै ।’

पछिल्लो तथ्याङ्कअनुसार देशैरभका ६२ आंगिकमध्ये करिब ५५ वटा क्याम्पसमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ । उपत्यका बाहिर पृथ्वीनारायण पोखरा, पाल्पा, चितवन, वीरगंजको ठाकुरराम, सिराहा, धौलागिरि क्याम्पस वागलुङगलगायत केही क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ । ती क्याम्पसहरूमा कहिले निर्वाचन हुन्छ भन्ने विषयमा टुंगो लागेको छैन । स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्र्नुपर्ने बाध्यकारी व्यवस्था छ र ३० दिनभित्र निर्वाचनको दिन तोक्ने अधिकार क्याम्पस प्रमुखलाई दिइएको छ ।

कार्यतालिकाअनुसार हिजो शनिबार उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र साँझ ५ बजे अन्तिम नामावली प्रकाशन भएको छ । भोलि फागुन २९ दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, सोही दिन दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

कार्यतालिकाअनुसार फागुन २९ गते दिउँसो २ देखि चैत २ गते राती १२ बजेसम्मको समयलाई मौन अवधि तोकिएको छ । निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

स्ववियु कार्यसमितिमा २ सय विद्यार्थी बराबर ११ सदस्यीय, २ सय एकदेखि १ हजारसम्म विद्यार्थी भए १३ जना, १ हजार १ देखि ३ हजारसम्म भए १९ जनाको र ३ हजार एकदेखि ५ हजारसम्म २१ सदस्यीय कार्यसमिति हुनेछ ।
प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित रूपमा हुनसकेको छैन । २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविले बिसं २०७३ मा निर्वाचन गराएको थियो ।

यसै गरी चुनाव प्रचारको क्रममा निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले क्याम्पसको बाहिर, भित्र र क्याम्पस परिसरमा वालपेन्टिङ गर्न नपाइने, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने, त्रिवि वा क्याम्पसलाई हानी नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार गर्न नपाइने, निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन समितिले सञ्चालन गर्ने परिचयात्मक कार्यक्रमलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्यहरू बोल्न नपाइने आचारसंहिता लागु भएको छ ।

त्यसै गरी सबै उम्मेदवारले निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ए–फोर साइजको एकै रङ भएको पर्चामात्रै प्रचारप्रसार गर्न पाइने, क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि प्रकारको प्रचार प्रसार गर्न नपाइने, निर्वाचन सम्पन्न गर्न क्याम्पस प्रमुखले एकजना निर्वाचन अधिकृत र आवश्यकताअनुसार सदस्य थपेर निर्वाचन समिति गठन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्वाचनमा आंगिक क्याम्पसतर्फ १ लाख ६३ हजार ८२ विद्यार्थी मतदाता छन् । सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्नेछन् । तथ्याङ्कअनुसार उपत्यकामा धेरै विद्यार्थी भएका क्याम्पसको सूचीको तेस्रोमा शंकरदेव क्याम्पस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्