बैंकको ब्याजदर घट्यो : नयाँ कर्जामा चैत र पुरानोलाई वैशाखबाट लागू हुने

बैंकमा उद्योगी व्यवसायीको धर्ना



काठमाडौं । उद्योगी व्यवसायीले ब्याजदर वृद्धिविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर यथावत राख्दै आगामी चैत महिनामा निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले आगामी चैत महिनामा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।

संघका अनुसार चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको छ । हाल बैंकहरूले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब १ प्रतिशत घटेपछि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएका हुन् । बैंकहरूले निक्षेपमा साधारण बचततर्फ ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

बचत निक्षेप र कर्जाको ब्याजदरमा सामान्य घटाए पनि बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखेका छन् । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका छन् । त्यस्तै, संस्थागत निक्षेपतर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर रहेको छ । बैंकहरूले कल निक्षेपमा ३ दशमलव २१ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए । यसलाई घटाएर ३ प्रतिशतमा झारेका छन् । ब्याजदर समायोजन हुँदा पुरानो कर्जाको वैशाख र नयाँ कर्जाको चैतदेखि ब्याजदर घट्ने भएको छ । पुरानो कर्जाको ब्याजदर परिवर्तन गर्दा तीन महिनाको औसत आधार दर लिएर मात्र गर्न सकिने राष्ट्रले व्यवस्था गरेको हुँदा पुरानो कर्जाको ब्याजदर वैशाखदेखि मात्र घट्ने भएको हो । माघमा बैंकको आधार दर १० दशमलव २ प्रतिशत छ। यो निर्णयसँगै कर्जाको ब्याजदर एकडेढ प्रतिशत घट्नेछ । अर्थात् अब बैंकको कर्जाको ब्याजदर १६ प्रतिशतको हाराहारीमा सीमित हुनेछ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको खर्च पनि घट्ने भएको छ । जसका कारण बैंकहरूको मासिक खर्चमा करिब ६ अर्ब रुपियाँ कटौती हुने अनुमान गरिएको छ ।

यसैबीच बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अवस्था केही सहज हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल निक्षेप–कर्जा औसत अनुपात (सीडी रेसियो) ८६ प्रतिशतको हाराहारीमा रहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा कुल ५३ खर्ब ८५ अर्ब रुपियाँ निक्षेप जम्मा हुँदा कुल कर्जा लगानी ४८ खर्ब १९ अर्ब रुपियाँ भएको छ । जसमध्ये वाणिज्य बैंकले ४७ खर्ब ४६ अर्ब रुपियाँ निक्षेप जम्मा हुँदा कुल कर्जा लगानी ४२ खर्ब ७५ अर्ब रुपियाँ भएको छ ।

बैंकमा उद्योगी व्यवसायीको धर्ना

मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार हेटौंडाका विभिन्न बैंकमा एक घण्टा धर्ना दिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार उद्योगी÷व्यवसायीको सहभागितामा कार्यक्रम भएको हो ।

ब्याज वृद्धिको विरोधमा विभिन्न कार्यक्रमसहित मकवानपुर उद्योग वाणिज्य संघले विरोध गर्दै आएको छ । फागुन २१ गतेदेखि शुरू भएको चरणबद्ध विरोध कार्यक्रम फागुन ३० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

विरोधका कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ, उद्योग संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एसोसिएसन मकवानपुर, नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, मकवानपुर सुनचाँदी व्यवसायी संघ, मकवानपुर फर्निचर व्यवसायी संघ, मकवानपुर भाँडा व्यवसायी संघ, मकवानपुर ग्यास व्यवसायी संघलगायत वस्तुगत संघहरुको ऐक्यबद्धता रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्