४ महिला चलचित्र पत्रकार सम्मानित



चलचित्र पत्रकार संघ नेपालले ११३औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार राजधानीमा महिला पत्रकार सम्मान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ।

सो अवसरमा चार महिला पत्रकारहरु जयन सुब्बा मानन्धर, सबी कार्की खड्का, शिल्पा अधिकारी र विना श्रेष्ठलाई महिला पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ। संघको गत फागुन १७ गते राजधानीमा सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो कार्यक्रमको रुपमा आयोजना गरिएको समारोहमा स्वागत मन्तव्य राख्दै संघकी महिला सदस्य सुष्मा कार्कीले नयाँ कार्यसमिति चयनलगत्तै परेको नारी दिवसलाई सदुपयोग गरेर नारी सम्मान कार्यक्रम आयोजना गरेको बताइन्। नारी दिवसलाई नजर अन्दाज गर्न सकिएन। यसैले यो अवसरमा महिला चलचित्र पत्रकारलाई सम्मान गर्ने योजनाअनुरुप कार्यत्रम गरिएको हो, उनले भनिन्। संघकी महिला उपाध्यक्ष सुरक्षा भट्टराईको सभापतित्व तथा ख्यातिप्राप्त हास्यअभिनेत्री वसुन्धरा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका महासचिव रघुनाथ सापकोटाले नारीलाई सम्मान गर्दा पुरुषले पनि सम्मानित भएको महसुस गर्ने र चलचित्र संघमा रहेर सहकार्य गरिने बताए।

संघकी कार्य समिति सदस्य निशा बजगार्इंले सञ्चालन गरेको कार्यक्रममा बोल्दै संघका पूर्वउपाध्यक्ष जीवन पराजुलीले संंघले आयोजना गर्ने यस्ता खालका कार्यक्रमले पत्रकारबिच सदभाव माया ममता र सहयोगको भावना बढ्ने बताए। त्यस्तै, पूर्व महिला उपाध्यक्ष दीपज्योति थापाले मानव विकासको सुरुवाती चरणदेखि हालसम्म आइपुग्दा कुनै न कुनै रुपमा महिलाहरु पुरुषको दाँजोमा पछाडि रहेको र समाजमा महिला र पुरुषभन्दा पनि मानव जातीको रुपमा सहअस्तित्व कायम हुनुपर्नेमा जोड दिइन्।

पत्रकार विजयरत्न तुलाधरले नारी दिवस तथा नयाँ कार्य समितिलाई बधाई दिँदै चलचित्र पत्रकारितामा योगदान दिने महिला पत्रकारहरुलाई सम्मान गर्नु सह्रानीय काम भएको र चलचित्र पत्रकारितालाई मर्यादित बनाउनु संघको पहिलो लक्ष्य हुनुपर्ने बताए।

संघका पूर्वअध्यक्ष विदुर गिरीले शशिकला मानन्धरबाट शुरु भएको महिला चलचित्र पत्रकारिता हालसम्म पुरुषको हाराहारीमा आइपुगेकोमा खुसी व्यक्त गरे भने अर्का पूर्वाध्यक्ष शान्तिप्रियले महिला पत्रकारको समस्या सबैको समस्या हुनुपर्ने र सौहार्दपूर्ण वातावरणमा सह अस्तित्वसहित सहकार्य हुनुपर्ने बताए। पत्रकार डब्बु क्षेत्रीले आफ्नो चलचित्र पत्रकारिताको गुरु पनि महिला नै रहेकोे स्मरण गर्दै अहिले पनि नारीहरुले अधिकार माग्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए।

संघका अध्यक्ष समीर बलामीले महिला उपाध्यक्ष सुरक्षा भट्टराईको प्रस्ताव अनुरुप नारी दिवसमा सम्मान कार्यक्रमको आयोजना गरिएको जनाउँदै पछिल्लो समय स्वार्थ राखेर अन्य नारीलाई अघि बढ्न नदिने नारीहरुका कारण चुनौती थपिएको बताए। संघकी महिला उपाध्यक्ष एवं कार्यक्रमकी सभापति सुरक्षा भद्म्राईले चलचित्र पत्रकारितामा आबद्ध महिला पत्रकारको सम्मान तथा महिला पत्रकारको समस्या राख्नका लागि अन्तक्र्रियाको आवश्यकता महसुस भएकोले नारी दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको बताइन्। कार्यक्रमकी प्रमुख अतिथि वसुन्धरा भूषालले पत्रकार र कलाकारको सम्बन्ध नङ र मासु सरह भएको चर्चा गर्दै चलचित्र पत्रकारितामा भएको महिला पत्रकारको वृद्धिले महिला कलाकारलाई सहज भएको चर्चा गरिन्।

प्रतिक्रिया दिनुहोस्