स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै

सबैभन्दा बढी पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० मतदाता



काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् ।

सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसपछि दोस्रोमा वीरगञ्जस्थिति ठाकुरराम क्याम्पसमा १० हजार २ सय ६२ ले मतदान गर्नेछन् ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्याङ्कअनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् । तथ्याङ्कअनुसार धेरै विद्यार्थी भएका क्याम्पसको सूचीको तेस्रोमा शंकरदेव क्याम्पस रहेको छ । सो क्याम्पसका ८ हजार ४ सय ९० जना विद्यार्थीले मतदान गर्दैछन् । नेपाल कमर्स क्याम्पसमा ८ हजार ८८, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय ९, बुटवल बहुमुखीमा ७ हजार १ सय ९, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ५ हजार ७ सय ४८, महेन्द्र बहुमुखी क्याम्पस इलाममा ५ हजार ५ सय ९१, पद्मकन्या क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थीले मतदान गर्ने भएका छन् ।

यसैबीच भर्नाको विषयमा विवाद उत्पन्न भएको कारण त्रिचन्द्र क्याम्पसमा मतदाता सूची प्रकाशन गर्न कठिन भएको छ । सो क्याम्पसमा करिब ८ हजार विद्यार्थीले मतदान गर्ने आंकलन गरिएको छ । मतदाता सूची प्रकाशन गर्नु केही दिनअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मनपरी भर्ना गरेका कारण समस्या परेको अन्य विद्यार्थी संगठनको आरोप छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष समिक बडालले फागुन १६ र १७ गते नेविसंघले मनोमानी रूपमा भर्ना गरेका कारण मतदाता सूची प्रकाशन गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले फागुन ४ गतेभित्र भर्ना गरेकाहरूलाई मात्र मतदातासूचीमा समावेश गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेका छौं, त्यसो नगरे नेविसंघबाहेक सबै विद्यार्थीले आन्दोलन गर्नेछन् ।’

त्यस्तै, उपत्यका बाहिरबाट सिरहा, राजविराज र विराटनगर र लमजुङ कृषि क्याम्पसको तथ्याङ्क आएको छैन । निर्वाचन समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले केही दिनभित्र सबै क्याम्पसको तथ्याङ्क आउने जानकारी दिँदै भन्नुभयो– ‘प्रक्रिया शुरू भइसकेको छ । प्राविधिक कारणले गर्दा तथ्याङ्क आउन समस्या भएको हुनसक्छ । सबै क्याम्पसको तथ्याङ्क जोड्दा करिब १ लाख ७० हजारको हाराहारीमा मतदाता हुन सक्ने आंकलन गरिएको छ ।’

तथ्याङ्कअनुसार उपत्यकाको नेपाल ल क्याम्पसमा २ हजार २ सय ४६, ललितकलामा ६ सय ७१, महेन्द्र बहुमुखी क्याम्पस ताहाचलमा २ हजार ४१, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ३ हजार ३ सय ३९, जन प्रशासनमा १ हजार २ सय १४, थापाथली क्याम्पसमा १ हजार ७ सय ५०, महाराजगञ्ज नर्सिङमा ३ सय ६९, पब्लिक युथमा ४ हजार ८७ जना मतदाता रहेका छन् ।

त्यस्तै, पुल्चोक इन्जिनियरिङमा २ हजार ६ सय ९९, भक्तपुर क्याम्पसमा ४ हजार १, विश्वभाषामा १ हजार ५ सय ६५, सानोठिमीमा १ हजार ३ सय, सरस्वती क्याम्पसमा ३ हजार ४ सय ४५, आयुर्वेद क्याम्पस कीर्तिपुरमा १ सय ५१, रत्नराज्य क्याम्पसमा ४ हजार ९ सय र अमृत साइन्स क्याम्पसमा १ हजार ८ सय ६८ मतदाता छन् ।

उपत्यका बाहिर ४० क्याम्पसमध्ये झण्डै आधा दर्जन क्याम्पसमा विद्यार्थी संख्या ५ सयभन्दा मुनि रहेका छन् । नर्सिङ क्याम्पस विराटनगरमा १ सय ८५, पोखरा वन क्याम्पसमा ४ सय १६, गौरादह कृषि क्याम्पस झापामा २ सय ३५, तेह्थुम क्याम्पसमा १ सय ६८, नर्सिङ क्याम्पस नेपालगञ्जमा १ सय ६१, हेटौडा वन विज्ञान क्याम्पसमा ४ सय ३८, पोखरा नर्सिङमा २ सय २८ जना मतदाता रहेका छन् ।

निर्वाचन तालिकाअनुसार आज बिहीबार फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला गर्ने कार्यक्रम छ । सोही दिन ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

फागुन २९ दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ भने सोही दिन दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।

निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्