जापान टोकियो लोकगायक राजेन्द्र लम्सालको निधन



लोकप्रिय लोकगायक राजेन्द्र लम्सालको सोमबार राति निधन भएको छ। उच्च रक्तचाप, कलेजो र पिसाबसम्बन्धी समस्यासँग जुध्दै आएका उनको ६० वर्षको उमेरमा हृदयघातका कारण स्पेनका एक अस्पतालमा निधन भएको हो।

रेडियो नेपालका अब्बल दर्जाका गायक उनी १२ वर्षदेखि स्पेनमा बस्दै अँएका थिए भने केही समय अघिदेखि नै अस्वस्थ थिए। उनले गाएको जापान टोकियो गीत लोक दोहोरी गीतमा सर्वाधिक लोकप्रिय बन्न पुगेको थियो। उनको कागती गेडी खुर्सानीको ढेडी, आमा तिम्रो दूधको धारा, पारी प¥यो भीर, निलो पछ्यौरी, शिरमा रिबन, भीरको टुनी हो, मस्र्याङदीको पुल, राइनासकोटको भीर, गैरी खेतमा मूल, आउ है मेलैमा, आमा छाती चिरिन्छ, पोखराको माटेपानी, पानी पर्दा उसैलाई, मस्र्यादीको पुल, ज्याग्दी खोला किनारै, मुसलधारे पानी प¥या छजस्ता दर्जनौं गीत लोकप्रिय छन्। उनका श्रीमती, तीन छोरा तथा एक छोरी छन्। उनका छोरा सागर लम्साल ‘बल’े लोकप्रिय हास्य कलाकार तथा मोडल हुन्। उनको पार्थिव शरीरलाई स्पेनबाट काठमाडौं ल्याइँदै छ।

कलाकार सागर लम्सालका सहकर्मी अर्जुन घिमिरे ‘पाँडे बुढा’ का अनुसार सागरले ६÷७ महिनाअघि बुबालाई नेपाल बोलाएर मिर्गाैलालगायत विभिन्न रोगको उपचार गराएका थिए। त्यसपछि उनी स्पेन फर्किएका थिए। ‘तर, उहाँको स्पेनमै निधन भएछ’ घिमिरेले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने। सुटिङका क्रममा पोखरामा रहेका सागर बुबाको निधनको खबर पाएपछि मंगलबार काठमाडौं फर्केका छन्।

राजेन्द्रलाई करिब एक हप्ताअघि हृदयाघात भएपछि स्पेनको अस्पतालमा भर्ना गरिएको र उनको उपचारको क्रममा अस्पतालमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव तथा गायक एवं राजेन्द्रका भाञ्जा शिव हमालले बताए। ‘अस्पतालमा रहँदा मेरो श्वास नेपाल नपुगे पनि लास चाहिँ पुगोस् भन्ने इच्छा गर्नू भएको रहेछ। उहाँको स्याङ्जाको कालीगण्डकीमा अन्तिम संस्कार होस् भन्ने चाहनाबमोजिम पार्थिव शरिर नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखा लगायतसँग समन्वयन गरिरहेका छौँ’ हमालले भने ‘उहाँको पपुलारिटी यति धेरै थियो कि, ४० र ५० को दशकबीच रेकर्ड हुने प्रायः गीतमा उहाँको स्वर समावेश गर्नै पर्ने हुन्थ्यो। शिरमा रिबन, सलको पछ्यौरीलगायत दर्जनौं कालजयी गीतका गायक मामाको अल्पायुमै भएको निधनले नेपाली सांगीतिक क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ।’

प्रतिक्रिया दिनुहोस्