टिकटकमा बढ्यो ‘पाइरेसी’



गीत–सङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ ।

ससाना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्वपूर्ण दृश्यसमेत भेटिँदा भने चिन्तित भइरहेका छन् । क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा चलचित्र नै पाइरेसी भइरहेको छ । दर्शकले रुचाएको चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । ‘ए मेरो हजुर–४’, ‘कबड्डी–४’, ‘झिँगेदाउ’, ‘प्रेम गीत–३’ पश्चात् यो समस्या ‘छक्का पञ्जा–४’ मा पनि देखिएको छ ।

गत शुक्रबारदेखि प्रदर्शन भएको चलचित्रको दृश्य टिकटकमै भेटिएपछि निर्माण पक्षले त्यस्तो नगर्न आग्रह गरेका छन् । राम्रो व्यापार गरिरहेको चलचित्रको प्रतिक्रिया लिन चलचित्र घर पुग्नुभएका अभिनेता केदार घिमिरेले यस्ता दृश्य मोबाइलमा नखिच्न आग्रह गर्नुभयो । ‘नजानेर वा रमाइलोका लागि खिचिएको दृश्यले हामीलाई नोक्सान पु¥याएको छ । त्यो अपराध हो । तपाईं र आफ्नो परिवारलाई चलचित्र खिचेर टिकटकलगायत सामाजिक सञ्जालमा हाल्न हुँदैन भन्दिनुस् । यो सन्देश सबैकहाँ पु¥याइदिनुस्’, उहाँले भन्नुभयो ।

अभिनेता घिमिरेसँगै रहनुभएका कलाकार दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले समेत टिकटकमा आइरहेको भिडियोका ससाना दृश्यले अप्ठ्यारो पारिरहेको गुनासो गर्नुभयो । अभिनेता अनमोल केसीको अभिनय रहेको ‘२.० छड्के’ को समेत दृश्य टिकटकमा भाइरल भएका छन् । भिसिडी, पेनड्राइभ र युट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो ।

नेपाल चलचित्र संघले चलचित्रघरमै सूचना टाँसेर भिडियो नखिच्न अनुरोध गरिरहेको महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । ‘हलमा आउनुहुने दर्शकलाई भिडियो नखिच्न आग्रह पनि गरिरहेका छौँ । हाम्रो कर्मचारीले बेलाबखतमा गएर मोबाइल निकाल्ने दर्शकलाई आग्रह पनि गर्नुहुन्छ’, उहाँले भन्नुभयो, कोरोना भाइरसको महामारीपश्चात् प्रदर्शनमा आएको भारतीय चलचित्र ‘पुष्पा’ को अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडियो क्लिप बनाउने क्रम बढेको हो ।’

पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै समस्या बढिरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाएकै कारणले लोकप्रियतासँगै समस्या पनि सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ थियो ।

– सविना भट्ट ।

प्रतिक्रिया दिनुहोस्