सीतापाइलामा खुल्यो हल



राजधानीमा नयाँ सिनेमा हल थपिएको छ। गत शुक्रबारबाट सीतापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको हो।

बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलगायतले हलको शुभारम्भ गरेका थिए। हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल गाउँ गाउँमा खोल्नुपर्नेमा जोड दिए। सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेकोमा खुसी व्यक्त गरे।

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको हलमा ३ सय ९१ सिट क्षमता रहेको छ। करिब १२ करोड लगानीमा निर्माण भएको हलमा ७१ र डल्बी एटमोस साउन्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए। दुई पर्दा रहेको हलमा शुक्रबारबाट नेपाली फिल्म छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन्। नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्