अविवाहित जीवन र यौन



डा. राजेन्द्र भद्रा

अन्य समाजमा जस्तै नेपाली समाजमा पनि केही चर्चित नाम छन्, जसले उमेर पुगेर पनि अविवाहित नै रहने निर्णय गरे । ती मध्ये एक हुन् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई । ‘म अविवाहित भए पनि कुमार होइन’ भन्ने गरेको उहाँको त्यतिखेरको भनाइले सञ्चारमाध्यम निकै तताएको थियो ।

त्यसै गरी राजनीतिक व्यक्तित्वहरू जस्तै कि नारायणकाजी श्रेष्ठ, कोमल वली, गिरिराजमणि पोखरेल, पम्फा भुसाल आदि पनि अविवाहित नै रहेका छन् । त्यसै गरी मनोरञ्जन क्षेत्रका दीपाश्री निरौला अविवाहित रहनुको विषयले पनि कहिलेकाहीँ निकै चर्चा पाउने गर्छ । विभिन्न सञ्चारमाध्यममा उहाँको विचार जान्न प्रश्न सोधिनुका साथै उहाँहरूको जवाफलाई लिएर अनेक टीकाटिप्पणी पनि हुने गरेका छन् ।

कुनै निश्चित उमेरको भइसकेपछि पनि विवाह नगरेमा समाजले निकै नै चासो राख्ने गर्दछ र नियालेर हेर्दा यी चासो यौन तथा यौनिकतासँग हुने गरेको पाइन्छ । यस लेखमा हामी यसबारे चर्चा गर्ने प्रयास गर्दछौं ।

विवाह

विवाह दुई व्यक्तिहरू सामाजिक, धार्मिक वा कानुनी रुपमा साथसाथै बस्ने एक विशेष सम्बन्ध हो । यसलाई समाजको सबैभन्दा सानो इकाइ मानिन्छ, यसले परिवार बनाउँछ । समाज विकसित भएपछि मानव प्रजातिको निरन्तरताको लागि विवाह गरेर गृहस्थी जीवनमा प्रवेश गर्ने, सन्तान जन्माउने र त्यसको लालनपालन गर्न विवाहलाई एक आवश्यक कार्य मानिन्छ । त्यसैले पूर्वीय संस्कृतिमा गरिने संस्कारहरूमध्ये विवाह महत्वपूर्ण संस्कार हो ।

विवाहलाई सामाजिक वा कानुनी सम्झौताभन्दा एउटा उच्च स्तरको पवित्र सम्बन्ध मानिन्छ । जीवनका चार लक्ष्य अर्थात् पुरुषार्थ (धर्म, अर्थ, काम तथा मोक्ष) प्राप्त गर्न महत्वपूर्ण माध्यम वा सहयोगी कार्य हो विवाह । आश्रमका कुरा गर्दा ब्रह्मचर्यपछि गृहस्थाश्रमको प्रवेश मानिन्छ । सन्तान प्राप्ति आफैँमा पुण्य कार्य हो । अर्कोतिर धेरैजसो देव तथा देवी साथसाथै जोडीको रुपमा प्रस्तुत गरिनुले पनि वैवाहिक जीवनको महत्व दर्शाउँछ ।

अविवाहित जीवन

 

अहिले वैवाहिक स्थिति जनाउने विभिन्न शब्दावली छन् । ती हुन्– विवाहित, विदुर वा विधवा, छुट्टिएका, पारपाचुके गरेका, एकल अनि अविवाहित । कहिल्यै पनि विवाह नगरेका व्यक्तिलाई अविवाहित भनिन्छ । परापूर्वकालदेखि नै विभिन्न कारणले व्यक्ति अविवाहित रहने गरेको पाइन्छ । अहिले आधुनिक समाजको वृत्ति–विकासको सन्दर्भमा धेरै समय लाग्ने, उपयुक्त समय र व्यक्तिको खोजी गर्दागर्दै विवाह गर्ने उमेर नै घर्कने कारणले पनि कतिपयको विवाह हुन नपाएको स्थिति छ ।

अहिले व्यक्तिगत स्वतन्त्रता र आत्मकेन्द्रित सोचका कारण पनि रोजाइ कठिन बन्न पुगेको स्थिति छ । कतिपयले वृत्ति–विकास प्राथमिकता दिँदा वा अन्य कारणले पारिवारिक जीवनमा प्रवेश गर्न चाहँदैनन् भने अन्य कतिपयले यसका फाइदाहरूलाई ध्यानमा राखेर अविवाहित रहने निर्णय गर्दछन् । वैवाहिक जीवनको तुलनामा अविवाहित जीवन धेरै नै फरक हुने गर्दछ । आर्थिक, सामाजिक पक्ष एकातिर छ भने अर्कोतिर यौन जीवन ।

किन अविवाहित नै बस्ने ?

व्यक्ति अनुसार अविवाहित नै बस्ने कारण फरक र विशिष्ट हुने भए पनि केही प्रमुख कारणहरू निम्न प्रकारका हुने गरेको पाइन्छ:
-कतिपय व्यक्तिको जीवनशैली नै पारिवारिक जिम्मेवारी लिएर बस्ने किसिमको हुँदैन र आफ्नो जीवनको लक्ष्य पछ्याउन अनि अर्थपूर्ण जीवन जिउन अविवाहित नै रहन रुचाउँछन् ।
-अर्को थरीका अविवाहितहरूको आफ्नै केही मापदण्ड वा सर्तहरू हुन्छन् र ती पूरा हुने नभएमा विवाह गर्न चाहँदैनन् ।
-त्यसै गरी अर्को थरीको तर्क भने विवाह आफैँमा अन्यायपूर्ण हुने गर्दछ, सो पनि महिलाको सन्दर्भमा घरायसी तथा बालबच्चाको हेरचाहको असमान बोझलाई लिएर, त्यसैले अविवाहित रहने निर्णय गर्दछन् ।
– कतिपय महिलाले आफूलाई कसैको श्रीमतीको रुपमा परिचय दिन नचाहने भएकोले पनि अविवाहित नै रहने गरेको तर्क दिन्छन् ।
– केही व्यक्तिहरूको लागि आर्थिक तथा कानुनी झन्झटबाट टाढै रहन वैवाहिक सम्बन्धमा गाँसिन नरुचाउने हुन्छन् ।
-कतिपयले विवाह गरिने परम्पराले वैवाहिक सम्बन्धलाई बढी महत्व दिने गरेको र अन्य विवाह ईतर सम्बन्धको महत्वलाई कम आँक्ने गरेकोले पनि यसलाई अस्वीकार गर्ने अर्थात् विवाह नगर्ने मत राख्छन् ।
अर्को परिप्रेक्ष्यबाट हेर्दा केही कारणहरूलाई निम्न मुख्य वर्गमा समूहकृत गर्न सकिन्छ ।
– प्रणय सम्बन्ध विकास गर्ने क्षमतामा कमी:
अर्को व्यक्तिसँग यौनको दृष्टिले जिस्कन नसक्ने, लाज लाग्ने, अन्तरमुखी भएको, आत्मविश्वासमा कमी, अस्वीकार गरिदेला भन्ने भय, आफू अरुले रुचाउने व्यक्तित्वको नभएको, सुन्दर वा सुन्दरी नभएको, आर्थिक अवस्था राम्रो नभएको, स्वास्थ्य राम्रो नभएको, यौन क्षमतामा कमी भएको जस्ता कतिपय अन्तरनिहित कारणहरू भएको देखिन्छ ।
-स्वतन्त्रता:
स्वतन्त्र रहन वा स्वतन्त्र जीवनशैली जिउन चाहने, चाहे अनुसार जीवन यात्रा गर्न चाहने, आफ्ना क्रियाकलापप्रति कसैलाई जवाफ दिन नचाहने, कुनै दबाब सहन वा दायित्वको बोझ नचाहने, वैवाहिक सम्बन्धभन्दा वृत्ति–विकासलाई प्राथमिकता दिने, एक सम्बन्धमा बाँधिनुभन्दा साथीसंगीसँग रमाउन चाहने, स्वतन्त्र किसिमको यौनसम्बन्ध रुचाउनेजस्ता कतिपय कारणहरू भएको देखिन्छ ।
– पहिलेको सम्बन्धको प्रभावले पारेका बाधा–व्यवधानहरू:
पहिलेको सम्बन्ध टुटेको र त्यसको आघातबाट बाहिर निस्कन नसकेको, फेरि त्यसरी नै आघात पुग्ला भन्ने भय भएको वा भविष्यमा त्यस्तो होस् भनेर नचाहने, आफ्नो जीवन साथीले मलाई प्रेम गर्न बन्द गरिदेला वा धोका देला भन्ने भयजस्ता कतिपय कारणहरू भएको देखिन्छ ।
-व्यक्तिगत बाधा–व्यवधानहरू:
मादकपदार्थ वा लागूपदार्थको लत, व्यक्तिगत यौन परिचय एकदम फरक भएकोले सामान्य रुपमा विवाह गर्न अमिल्दो वा गरेमा पनि सामाजिक रुपमा अमान्य हुने, घरमा बसिरहन नपाउने किसिमको व्यवसाय वा वृत्तिमा संलग्न भएको कारणले वैवाहिक सम्बन्धलाई कायम राख्न नसक्ने, आर्थिक अवस्थाले विवाह र वैवाहिक जीवन धान्न नसक्ने पारिवारिक किसिमको व्यक्ति नभएको जस्ता कारणहरु देखिन्छ ।

यौनेच्छाको व्यवस्थापन

अविवाहित जेसुकै कारणले भएको भए पनि अविवाहित हुँदैमा कुनै एक व्यक्ति अयौनिक हुने र यौनेच्छारहित हुने होइन । त्यसैले अविवाहित जीवनको हकमा पनि यौनेच्छाको व्यवस्थापन एक महत्वपूर्ण पक्ष हो । यो अहिलेको समाजमा अविवाहित व्यक्तिले विभिन्न तरिकाले पूरा गर्ने गरेको देखिन्छ र सोबाट प्राप्त यौन सन्तुष्टि पर्याप्त भइरहेकै हुनुपर्छ ।

माथि चर्चा गरिएका व्यक्तित्वहरूको यौनेच्छाको व्यवस्थापन कसरी गर्ने गरिएको भन्ने बारेमा केही चर्चा–परिचर्चा हुने गरेको पनि पाइएको थियो । तर उहाँहरूको व्यक्तिगत यौनजीवनको गोपनीयताको सम्मान गर्दै खोजिनीति नगर्नु नै उचित हुन्छ ।
सामान्यतया अविवाहित व्यक्तिले अपनाउने केही प्रमुख तरिकाहरू भने यस प्रकार छन्:
– मित्रसँगका यौनसम्पर्र्क: कतिपय व्यक्ति आफ्नो कुनै मित्र वा साथीसँग नियमित यौनसम्पर्कसहितको अन्तरंग सम्बन्ध राखेर यसको व्यवस्थापन गर्ने गर्दछन् ।
-सहवास गर्ने (ष्खिष्लन तयनभतजभच): कतिपय कारणले विवाह हुन नसकिरहेको स्थितिमा प्रणय वा आत्मीय सम्बन्धमा बाँधिएर सहवास गरी यौनसम्पर्क राख्ने एक विकल्पको रुपमा देखिएको छ । विवाहपूर्वको सहवास निकै नै स्वीकार्य भइसकेको छ ।
– देहव्यापारीसँग यौन सेवा लिने: परापूर्वकालदेखि चलिआएको यो प्रचलन अहिले पनि व्यापक नै छ र अविवाहित व्यक्तिको यौनेच्छा शान्त पार्ने माध्यम बनेको छ ।
-हस्तमैथुन गर्ने: खुलारुपमा भन्न नरुचाए पनि प्रायजसो अविवाहितको लागि यौनेच्छा पूरा गर्न यो शायद सर्वाधिक प्रयोग गरिने यौन क्रियाकलाप हो । अर्को व्यक्तिसँग सम्बन्ध राख्दाको आ–आफ्नै सहजता तथा जटिलता हुने गर्दछन् । हस्तमैथुन गर्दा भने अर्को व्यक्तिको सहयोग नचाहिने र गोप्यता कायम हुने मात्रै होइन, समय र पैसा दुवै खर्च हुँदैन र यौनरोग पनि सर्ने सम्भावना हुँदैन ।
-यौन खेलौनाको प्रयोग: यौन खेलौना (कभह तयथक०, यौन पुतली (कभह मयिि) तथा अन्य यौन उपकरणहरूको प्रयोग अहिले बढ्दो रुपमा छ । प्रकार हेरी यौन खेलौनाले यौनेच्छाको व्यवस्थापनमा सहयोग गर्दछ । प्रविधिको विकाससँगै विभिन्न किसिमको यौन खेलौनाका विकास भएका छन् र हुने क्रममा छन् । अति विकसित मानवाकार खेलौनाले स्वचालित हुनुको साथै केही मात्रमा अन्तरक्रिया पनि गर्न सक्ने क्षमता राख्दछन् ।

अविवाहित व्यक्तिले आफ्नो परिस्थिति अनुसार कुनै एक वा सोभन्दा बढी उपायको प्रयोग गर्ने गर्दछन् र यो उहाँहरुको रोजाइको विषय हो । कुनै पनि तरिका प्रयोग गर्दा त्यसको सकारात्मक र नकारात्मक पक्षको बारेमा जानकार भए भरपूर आनन्द लिएर पनि भविष्यमा समस्यामा कम परिन्छ ।

प्रतिक्रिया दिनुहोस्