पुस्तक चर्चा : जीवनको गति र उति बेलाको समय दौड



मकरध्वज गुरुङ ९१ वर्ष, उमेरले नौ दशक पार गरिसकेको भए पनि प्रत्येक दिन देश र दुनियाको खबरसँग अपडेट हुनुपर्ने बानी अहिले पनि उस्तै छ, जति बेला नौजवान मकरध्वज गाउँको मुखिया थिए !

गाउँको मुखिया हुँदै प्रधानपञ्च र जिल्ला विकास समितिको सदस्यसम्म बनेका उनै मकरध्वजले राजनीति, व्यवसाय र सामाजिक अभियानको क्रममा दुःख–सुख, खुशी, उत्साह तथा कौतुहलतापूर्वक बिताएका झन्डै ७०÷८० वर्षको अनुभव समेटेर आफ्नो आत्मकथा प्रकाशन गरेका छन्– ‘म मकरध्वज’ ।

‘म मकरध्वज’ मा उनले दुर्गम एउटा सानो गाउँका बासिन्दालाई व्यवसायमा आकर्षित गर्न लोक्ता कम्पनी नै खोलेर जनकपुरदेखि जलेश्वरसम्म लोक्ता बिक्रीको लागि पुगेको प्रसंगसमेत उल्लेख गरेका छन् । ‘म मकरध्वज’ भित्र मैले किन लेखेँ ? भन्ने प्रसंगमा उनले जेठा छोरा हिमाल गुरुङले किताब छाप्न कम्पनीका मानिस आउँछन् भनेर सम्झाउँदा आफूले लोक्ता सङ्कलन र बिक्रीको लागि कम्पनी खोलेको स्मरण गरेका छन् ।

पुस्तक निकै रोचक लाग्छ, किनभने पुस्तकभित्र राजनीतिदेखि व्यवसायसम्मका धेरै खुराकिला प्रसंगहरु छन् । दुर्गम दोलखाको हिमाली गाउँ काप्ती (गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरी) मा जन्मी–हुर्किएको भए पनि राजनीति र समाजसेवासँगै व्यवसायको समेत उर्वर चेत भएकै कारण सबैको प्रेरणा र आदर्श बनेका थिए मकरध्वज गुरुङ ।
लोक्ता बिक्रीको लागि दुर्गम गाउँबाट हप्तौं हिँडेर जलेश्वर–जनकपुर पुग्दाको रोमाञ्चक यात्रा विवरण पढ्दा संघर्षशील व्यवसायीलाई एउटा अनौठो जादुई मिठाई खाएजस्तै सन्तुष्टि मिल्दछ पुस्तकबाट ।

मकरध्वज गुरुङलाई अहिले उमेरले सक्रिय हुन दिँदैन तर विचारले, सूचनाको चेतले र प्रबल इच्छाशक्तिले उनी अहिले पनि उत्तिकै सक्रिय लाग्छन् । उति बेला हप्तौंको पैदल यात्रापछि काठमाडौँ शहर चियाउने बाध्यतामा पनि मकरध्वज गुरुङ गाउँबाट खसी–बोका, घिउ, जडीबुटीजस्ता शुद्ध अग्र्यानिक उत्पादन बिक्रीको लागि लाने गर्थेे र गाउँका अन्य साथीसङ्गीलाई पनि यस्तो व्यवसायको लागि उक्साइरहन्थे ।

मकरध्वजका कान्छा छोरा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले पुस्तकमा ‘अपार इच्छाशक्तिका बुबा’ भन्दै लेखेका छन्– ‘धेरै जान्ने नभए पनि उद्यममा उहाँको सधैँ जोड रहने गथ्र्यो । गाउँबाट काठमाडौँ जाँदा उहाँ खालि हात कहिल्यै जानुहुन्नथ्यो । खसी–बोका, घिउ, जडीबुटी जे छ त्यो लगेर उहाँ बेच्ने गर्नुहुन्थ्यो ।’

‘म मकरध्वज’ पुस्तकमा मकरध्वज गुरुङले नुन खेप्न भोटतिर गएको प्रसंगदेखि भेडीगोठमा भालु आउँदाको त्राससमेत अटाएका छन् । भूतसँगको यात्रा, जुहारी खेलेर रात कटाएको, झाँक्री दाइले हेरिदिएको केटी, कहाली लाग्दो भोकमरी, कोसेली बुझाउन सिकार, पत्नीको मृत्यु, २०४५ सालको भूकम्पजस्ता कुरा पनि छन् पुस्तकमा ।

राजनीतिको रन्कोले पञ्चायती व्यवस्थामा लागेको समय तत्कालीन राजा महेन्द्र र वीरेन्द्रलाई आँखा सामुन्ने देख्दा, खर्कको मुद्दा जित्दा, गाउँमा आफ्नै स्कुल बनाउँदा र जनताको चाहनामा प्रधानपञ्च बन्दा मकरध्वजको खुशीलाई शब्द–शब्दमा सजीव बयान गरिएको छ पुस्तकमा । खोल्मे खोला र सुरी दोभानमा आफ्नै पहलमा पुल निर्माण गर्दा होस् वा सबैको मन जितेर बाटो निर्माण गर्दा नै किन नहोस्, सामाजिक अभियानको त्यो खुशी जीवनको अमूल्य सम्पत्ति ठानेका छन् मकरध्वजले ।

पारिवारिक रुपमा हिमालजस्तै छोरा हिमालको जन्म, कान्छा छोरा पार्वत मन्त्री बन्दा र तीनवटै छोरीको अन्तरजातीय विवाह भएको बेला मुहारमा चाउरी छोप्दै दौडिएको खुशी जीवनको अनमोल पल भनेर वर्णन गरेका छन् मकरध्वजले पुस्तकमा ।
कान्छा छोरा पार्वत गुरुङ र मकरध्वजको राजनीतिक नोकझोक पनि रमाइलो रहेछ । पञ्चायतकालीन प्रधानपञ्च मकरध्वज राजावादी हुनु स्वाभाविक थियो । अनि विद्रोही स्वभावका आँटिला युवा पार्वत गुरुङलाई कम्युनिस्टको प्रभाव नपर्ने कुरै थिएन । २०४६ सालको प्रजातन्त्रपछि यी दुई धारका राजनीतिज्ञ बाबु–छोरा झन्डै एउटै पदमा भिड्नुपर्ने बाध्यता आइलागेको !

२०४६ सालको प्रजातन्त्र प्राप्तिपछि बाबु मकरध्वज नेपाली कांग्रेस भए, छोरा पार्वत गुरुङ तत्कालीन माले हुँदै एमाले । एउटै पदमा दुई फरक पार्टीबाट बाबु–छोरा उठ्ने तयारी हुँदै गर्दा पार्वत गुरुङको उमेर नपुग्ने भएपछि उठ्न नपाउने अवस्था बन्यो । अनि मकरध्वज गुरुङलाई पनि छोराहरुले जोडबल गरेर एमालेमै प्रवेश गराई जिल्ला विकास समितिको सदस्य बनाए ।

पछि त मकरध्वज गुरुङ कम्युनिस्ट राजनीतिमा यति धेरै भिजेछन् कि २०६४ सालको संविधानसभा निर्वाचनमा झापाबाट केपी शर्मा ओली र रौतहटबाट माधवकुमार नेपाल पराजित भएको खबरले उनलाई बिरामी नै बनाइदिएछ ।त्यसैले त पुस्तकभित्र पार्वत गुरुङले लेखेका छन्– राजनीतिक रुपमा राजा र पञ्चायती व्यवस्थाप्रति उहाँको आस्था थियो । तर विचार र व्यवहारले भने उहाँ प्रगतिशील हुनुहुन्थ्यो । पौरख र श्रममा विश्वास गर्नुहुन्थ्यो ।

दुई सय ८० पेजको पुस्तक ‘म मकरध्वज’मा मकरध्वज गुरुङले उति बेला भोगेका तथ्यलाई सारङ्गीको तारहरुमा दौडने औंलाका चालजस्तै सम्पादक शुभेच्छा विन्दु तुलाधरको शब्दको तख्ताले निक्कै पठनीय बनाएको छ । घोस्ट राइटिङ नेपालको प्रकाशनमा । ‘म मकरध्वज’ फगत शब्द थोपरिएको पुस्तकमात्र हैन जीवनको गति र समयको सन्देश पनि हो । अनि उति बेलाको समय दौड । पुस्तकको भाष्यमा ७०–८० वर्षअघिको समाज र समाजसँग लय मिलाउँदै अघि बढिरहेको चराचर जीवनको वस्तुगत यथार्थता समेटिएको छ । र, पुस्तकको लेखक, पुस्तकको पात्र मकरध्वज गुरुङले त्यति बेलाको समयलाई विकास र चेतनाको हिसाबले समयभन्दा अघि दौडाउन गरेको प्रयत्नको कथा बुनिएको छ, शुभेच्छा विन्दु तुलाधरको शब्द मोहनीहरुमा ।

प्रतिक्रिया दिनुहोस्