माछाको सुपर जोनका किसान चिन्तित, भारतीय माछाले खर्च असुलीमा समस्या



बुटवल ।

माछा उत्पादनमा नेपालमै सुपर जोनका रुपमा राज्यले घोषणा गरेको रुपन्देहीको सियारी गाउँपालिकाको छपिया क्षेत्रका माछा किसान भने भारतीय माछाका कारण आफ्नो उत्पादन समस्यामा परेको बताएका छन् । माछामा नेपाल आत्म निर्भर  रहेता पनि  भारतीय गुणस्तर हीन माछाले नेपाली माछा किसानको व्यवसाय धरापमा परेको उनीहरूले गुनासो गरेका छन् ।

यहाँका हरेक किसानकोमा एउटा भएपनि माछा पोखरी छ । यसको साथै व्यवसायीक रुपमा माछा पालन गर्ने किसान पनि थुप्रै छन् ।  माछा उत्पादन त भयो विक्रीका लागि बजारको समस्या छैन तर भारतीय माछाका कारण नेपाली माछाको लागत अनुसारको मूल्य किसानले पाउन कठिन रहेको ईन्जिनिएरिङ पेशावाट सेवानिकृत भएर सियारी ४ पसौनीमा सियारी मत्स्य तथा कृषि फम सञ्चालन गर्नु भएका नन्दलाल बन्जाडेको कथन छ ।
भारतीय माछा नियन्त्रणमा पशुक्वारेन्टाईन, जिल्ला प्रशासन कार्यालय, प्रहरी र भन्सार कार्यालय गम्भीर हुने हो भने नेपाली माछा किसानको भविष्य सुन्दर हुने उहाँको भनाई छ ।

माछा किसानहरुलाई माछा सुरक्षित रुपमा कोण्डस्टोरेज गर्नका लागि आधुनिक प्रविधिका कोण्ड स्टोर मेशिनमा सरकारले अनुदान दिन पनि बन्जाडेकोे सुझाव छ । करिब ६ करोडको लागतमा सियारी मत्स्य तथा कृषि फम सञ्चालन गर्नु भएका बन्जाडेसँगै उहाँसँग अन्य ३ जना साझेदार पाटनर पनि हुनु हुन्छ । ८ बिगाहा जग्गा लिजमा लिएर माछासँगै गाई भैँसी समेत पाल्नु भएको छ । ९ वटा पोखरी मध्ये ४ वटामा नर्सरी र ५ वटामा उत्पादन पोखरीका रुपमा सञ्चालन गर्नु भएको वन्जाडेले वार्षिक ४ सय क्विन्टल माछा उत्पादन र २ सय लिटर प्रतिदिन दुध उत्पादन गर्ने गर्नु भएको छ ।

राज्यले माछा किसानलाई  उद्योगको रुपमा मानी विद्युतको शुल्क लिने गरेकोले यस्तो  विषयलाई संशोधन गरी राहत प्रदान गर्न सरकार गम्भीर हुन वन्जाडेले माग गर्नु हुन्छ । राज्यले माछाको लागि सुपर जोन घोषणा गरे पनि सरकारी क्षेत्रवाट अझैपनि माछाका भुरा किसानको माग अनुसार उत्पादन गरी दिन सकिरहेको छैन । जसले गर्दा किसानले ५० पैसादेखि ३ रुपैयाँसम्ममा निजी क्षेत्रका व्यापारीसँग किन्न बाध्य हुन परेको वन्जाडेको दुखेसो छ ।

माछा किसानलाई स्थानीय तहले भने माछालाई दाना हाल्ने मेशिन खरिदमा  ५० प्रतिशत अनुदान दिने गरेको छ । किसानको आवश्यकता र माग अनुसार अनुदान बढाउन समेत उहाँले  माग गर्नु भयो ।

जे होस रुपन्देहीको सियारी क्षेत्रले नेपालमै माछामा नमूना क्षेत्र हुने सौभाग्यता पायो तर किसानको समस्याका रुपमा देखिएको भारतीय माछालाई नियन्त्रण गर्न सरोकारवाला निकाय जिम्मेवार हुने हो भने पक्कै माछा किसानको उत्पादनले राम्रो बजार पाउने र  उनीहरूको लगानीको उचित प्रतिफल मिल्न थियो की ।

प्रतिक्रिया दिनुहोस्