फोहरबाट लाखौँ आम्दानी, संकलन केन्द्रमा पार्क



स्याङ्जा । 

स्थानीय तह निर्माणसँगै कर, सेवा शुल्क र अनेक बहानामा अतिरिक्त शुल्क लागेपछि संघीयताप्रति नकारात्मक बनेको समाजमा स्याङ्जाको भीरकोट नगरपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनमा लोकप्रिय बन्दै गएको छ । नगरपालिका घोषणा भएपछि भएका विकास निर्माणका कामले भीरकोट नगरवासी उत्साहित भएका हुन् । फालिएको फोहोर बिक्री गरेर भीरकोट नगरपालिकाले गत वर्ष १७ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस वर्ष पनि पालिकाले फोहरमैला व्यवस्थापन गरी हालसम्म १२ लाख आम्दानी गर्न सफल भएको छ ।

फोहोरलाई व्यवस्थित गर्ने उद्देश्यले २८ रोपनीमा फोहोर संकलन केन्द्र सञ्चालनमा ल्याएको नगरपालिकाले घरघरबाट निस्किने फोहोर कुहिने र नकुहिने गरी संकलन गर्न थालेको छ । व्यवस्थापन गर्न नजाने फोहर हो भने व्यवस्थापन गर्न जाने आम्दानीको स्रोत हो भन्ने कुरा भीरकोट नगरपालिकाबाट सिक्न सकिन्छ । नगरपालिकाले फोहरमैला संकलन केन्द्रमै भीरकोट पार्क समेत निर्माण गरेको छ । फोहरमैला व्यवस्थापनसँगै सोही ठाउँलाई ‘पिकनिक स्पट’को रुपमा अगाडि बढाईएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो । कुहिने फोहरबाट कम्पोष्ट मल, नकुहिने फोहरलाई वर्गीकरण गरी बिक्री गर्ने र पुन ः प्रयोग गर्ने तथा सिसाजन्य फोहरलाई बिक्री गरी नगरपालिकाले आम्दानी गर्दै आइरहेको छ ।

“बजारबाट संकलन गरिएको फोहरमैला व्यवस्थापनका लागि कतिपय ठाउँमा जग्गा नै उपलब्ध नहुने अवस्था छ”, प्रमुख कर्माचार्यले भन्नुभयो, “दुर्गन्धित हुन्छ, गन्हाउँछ भन्ने भएर होला तर हाम्रोमा फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा नै पिकनिक खान सकिने गरी ठाउँ बनाएका छौँ, अझै केही पूर्वाधार थप गर्दै जाने तयारीमा छौँ ।” सरसफाइ केन्द्र परिसरभित्र दायाँबायाँ हरियो दुबो तथा फूलहरु रोपिएको छ । यो ठाउँ भीरकोट नगरवासीको आकर्षक ठाउँ भएको र यहाँ भीरकोटसहित अन्यत्रबाट पनि पिकनिक खान, वर्थडे मनाउन, फोटो खिच्न, टिकटक बनाउन आउने गरेका सरसफाई केन्द्र तथा भीरकोट पार्कका व्यवस्थापक कृष्ण प्रसाद अर्यालले बताउनुभयो ।

कुहिने, नकुहिने तथा सिसाजन्य फोहरको व्यवस्थापन गर्दै आएको उक्त ठाउँ अब भीरकोट पार्कको रुपमा विकसित भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले बताउनुभयो । सरसफाइ केन्द्रमा देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकनका लागि विभिन्न कार्यालय, संघसंस्था तथा समूह आउने गरेका छन् । सरसफाइ केन्द्रमा दैनिक ५० देखि १ सय जना घुम्न तथा पिकनिक खान आउने गरेका उहाँले बताउनुभयो । फोहोर संकलन केन्द्रमा ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भीरकोट–५ पकानस्थित फूलबारी आमा समूहकी उपाध्यक्ष अनिता कुँवर पनि फोहरमैला व्यवस्थापन गरेको ठाउँमा नपुग्दासम्म गन्ध आउने, प्रदूषित होला भन्ने सोंचाइमा हुनुहुन्थ्यो । जब त्यहाँ पुग्नुभयो फरक पाएको बताउनुभयो । “आँधीखोलाको किनारमा रहेको समथर भूभाग र त्यसमा निर्माण गरिएको सरसफाइ केन्द्रमा पुग्दा राम्रो लाग्यो”, उहाँले भन्नुभयो, “फोहरमैला व्यवस्थापन गर्नका लागि बनाइएको ठाउँ यति राम्रो र घुम्न लायक होला भन्ने लागेको थिएन जब गए तब फरक पाएँ ।”

सरसफाइ केन्द्रमा पिकनिक गएकामध्ये स्वरेक कालिका आमा समूहका सहभागी सिता अर्यालले सरसफाइ केन्द्रमा गन्हाउँछ, दुर्गन्धित हुन्छ भन्ने भ्रमलाई चिर्दै पिकनिक खान गएको बताउनुभयो । “देशका कतिपय सहरमा फोहरमैलाको उचित व्यवस्थापन नहुँदा समस्या बनिरहेको छ”, उहाँले भन्नुभयो, “फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा पनि के को पिकनिक खाने हो ? गन्ध आउँछ होला भनेर हाम्रै समूहमा पनि केही प्रश्न उठेका थिए, त्यस्तो होइन सफा छ भन्ने सन्देश अन्यत्र दिन पनि पिकनिक गरेका हौँ ।”

 

 

प्रतिक्रिया दिनुहोस्