राइनास नगरपालिकालाई किवी पकेट क्षेत्र बनाउने



लमजुङ ।

पूर्वी लमजुङको राइनास नगरपालिकालाई किवी पकेट क्षेत्रको रुपमा विस्तार गरिने भएको छ । नगरपालिकाले विकासको प्राथमिक क्षेत्रको रुपमा कृषिलाई अघि बढाएको नगरपालिकाले किवी खेती विस्तार तथा प्रवर्द्धन गर्न लागिएको हो ।

भौगोलिक क्षेत्रको अधारमा किवी खेतीको लागि उपयुक्त स्थानको रुपमा वडा नं. ९ कुडुँलेलाई छनौट गरी उक्त क्षेत्रलाई किवी पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको राइनास नगरपालिका नगरप्रमुख खड्गवहादुर गुरुङले बताउनुभयो ।

नगरपालिकाले यसै वर्षबाट कुडुँले क्षेत्रमा करिव ६० रोपनी जग्गामा १२ सय किवीको बिरुवा रोप्ने योजन अनुसार किसानहरुलाई अनुदानमा किवीको बिरुवा वितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको फलफूल तथा घाँसे नर्सरी स्थापना कार्यक्रम अन्तर्गत एक लाख ५० हजार रुपैयाँ बजेटबाट किवीको बिरुवा खरिद गरिएको नगरपालिकाका कृषि प्राविधिक पवन ढकालले जानकारी दिनुभयो । उक्त बिरुवा नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
किवी खेतीका लागि २७ जना किसान सम्मिलित कुँडुले किवी तथा अलैँची उत्पादन समूह गठन गरिएको छ ।

उक्त समूहलाई नगरपालिकाले कृषि प्राविधिक तथा विषय विज्ञको उपस्थितिमा किवी खेती गर्ने तरिकाबारे प्रशिक्षण दिएर बिरुवा उपलव्ध गराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताउनुभयो ।

किवीका बिरुवा रोप्नका लागि खाडल खनेर तयारी अवस्थामा राखेसँगै नगरपालिकाले शनिवार किसानहरुलाई किवीका बिरुवा वितरण गरेको हो । चालु आर्थिक वर्षबाट किवी खेती विस्तार कार्यक्रम ल्याएको नगरपालिकाले पहिलो वर्ष कृषकहरुलाई तालिम सहित बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ । सो बाहेक प्राविधिक सहयोग र  बिरुवा रोप्नको लागि खाडल खन्न तथा पुर्ने लगायतका कार्यका लागि पनि नगरपालिकाले सहयोग गर्ने भएको छ ।

यसवर्ष रोपिएका विरुवाको संरक्षण सँगै आगामी वर्ष थप विस्तार गर्ने योजना बनाएको नगरपालिकाले केही वर्षभित्र राइनास किवीको हब क्षेत्रको रुपमा विकास हुने अपेक्षा लिएको छ । नगरपालिकाले उक्त क्षेत्रमा किवीसँगै अलैँची खेती पनि विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्