सुरसंगीतका केही साधक सार्वजनिक



नीलकमलद्वारा लिखित सुरसंगीतका केही साधक नामक पुस्तक हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ (रायन) को प्रमुख आतिथ्यता र म्युजिक खबर डटकमको आयोजनामा भएको कार्यक्रममा प्राज्ञहरू नारायणभक्त श्रेष्ठ रायन, जगतप्रसाद उपाध्याय प्रेक्षित र रमेश खनाल, ललितकला केन्द्रीय विभागका प्रमुख धु्रवेशचन्द्र रेग्मी तथा नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य कवि तथा गीतकार चिन्तामणि शिवाकोटीले पुस्तक सार्वजनिक गरेका हुन्।

पाँच सय रुपियाँ मूल्य राखिएको एक सय ५४ पृष्ठको पुस्तकमा सेतुराम र आदिगायकी, आदिगायिका : दुखान्त अन्त, मास्टर मित्रसेन थापा : नेपाली संगीतका एक्लो प्रतिनिधि, जर्जी ब्याक्स बनेका पुष्कल बुढापिर्थी, नौलाखे तारा उदाए, गिरिसितको सहकार्य र अम्बरको उचाइ, अम्बरका उत्तराधिकारी बनेका जितेन्द्र बर्देवा, उदास उनको जीवनकथा, सुगम संगीतका एउटा कोशेढुंगा, नेपाली सृगम संगीतका माइस्ट्रो बनेको ‘गोफ्ले’, शिवशंकर मानन्धर सुगम संगीतका प्रतिनिधि हस्ती, जुनेली रात हुँ, दिव्यजस्तै दिव्य, पन्छी सबै उडिगए गुँड रित्तै हुन्छ, जनवादी गीतसंगीतका एक जीवित अर्काइभ, जनसंस्कृतिका एउटा अथक यात्री प्रमोद हमाल, जन्मदिन मनाएकै दिन धर्तीमा लीन, जयनन्द लामा : कलाकारिताको एउटा सिंगो प्याकेज, स्वरकी एउटा जादूगर, सुगम संगीत, रञ्जीत गजमेर र कान्छा, संगीतबाट गुमनाम एउटा प्रतिनिधि गायक, चन्दन लमजेल : संगीतको मायावी संसारमा, कर्म : मेलोडी किङ अफ दार्जीलिङ र मणिकमल क्षेत्री – सुगम संगीतको एउटा आदर्श शीर्षकका सामग्री छन्। कार्यक्रममा रायन, सावत्री श्रेष्ठ र ध्रुवेशचन्द्र रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्तमा अमर स्वरहरू नामक १० अमर स्रष्टाको डिजिटल प्रस्तुति प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्