बिचौलियाका कारण झापाका कुखुरा व्यवसायी मारमा



भद्रपुर । 

झापाका कुखुरा व्यवसायीले केही दिन अघि झापा बिर्तामोडको मुक्तिचोकमा कुखुरा तथा अण्डा फालेर विरोध जनाएका थिए  । बजारमा बिक्री गर्नका लागि तयार रहेको अण्डा र कुखुरा किसानले फाल्दा अनौठो मान्नेको संख्या धेरै थियो ।

आफूले गरेको उत्पादनले लागत मूल्य पनि उठ्न नसकेपछि किसानले विरोधस्वरूप अण्डा र कुखुरा सडकमा फालेका थिए । जिल्ला कुखुरा व्यवसायी संघ झापाका अनुसार एउटा अण्डा उत्पादन गर्दा १२ रुपैयाँ ३८ पैसा लागत पर्छ । बजारमा ९ रुपैयाँ प्रतिगोटा अण्डा बिक्री गर्नु परेपछि उनीहरू अण्डा र कुखुरा सडकमा फाल्न बाध्य भएका हुन् ।

संघका अध्यक्ष विवेक निरौलाले खुद्रा बिक्रेताका कारण उत्पादक मारमा परेको आरोप लगाउनुभयो । बजारमा १५ रुपैयाँ प्रतिगोटा अण्डाको कारोबार भइरहेको उहाँले  बताउनुभयो । ‘५० प्रतिशत नाफा राख्नु कालोबजारी गर्नु हो’ निरौलाले भन्नुभयो , ‘१० प्रतिशत नाफा राखेर बिक्री गर्दा किसानको पनि सावाँसम्म त उठ्ने थियो ।’

उहाँले सहरका मुख्य स्थानमा स्टल राखेर १२ रुपैयाँ प्रतिगोटा अण्डा बिक्री गर्नका लागि छलफल भइरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो , ‘त्यसपछि अहिलेका खुद्रा बिक्रेताहरू बाध्य भएर मूल्य घटाउँछन् कि हामीसँग उत्पादन लागत बराबरको रकममा खरिद गर्छन् ।’

निरौलाका अनुसार झापाको उत्पादनले कुखुरा र अण्डामा साबिकको मेची अञ्चललाई धान्नुपर्ने हुन्छ । इलाम, पाँचथर र ताप्लेजुङसमेत झापाकै उत्पादनमा निर्भर रहेका हुन्छन् । सीमावर्ती क्षेत्रबाहेक झापामा भारतबाट अण्डा र कुखुरा आयात भने हुन पाएको छैन । प्रशासनको निगरानीका कारण भारतीय बजारबाट नियमित रूपमा मासुजन्य पदार्थ नेपाल भित्रिन पाएको छैन ।

कोभिडको समयमा भएको लकडाउनको प्रत्यक्ष असर कुखुरा उत्पादनमा अहिलेसम्म देखिएको उहाँको भनाइ छ । त्यो बेला उत्पादन कम हुँदा वृद्धि भएको मूल्य त्यसपछिका उत्पादनले हालसम्म पाएका छैनन् । त्यतिबेला प्रतिकेजी २ सय ७० रुपैयाँमा बिक्री भएको जिउँदो कुखुरा अहिले १ सय ८० सम्ममा पनि बिक्री हुन नसकेको निरौलाले बताउनुभयो । तर, कुखुराको दानाको मूल्य भने औसतमा ३० प्रतिशत वृद्धि भएको उहाँको भनाइ छ ।

आर्थिक मन्दीका कारण कुखुराको खपत कम भएको उहाँको भनाइ छ । मजदुर वर्ग यसका मुख्य उपभोक्ता भएको संघको अनुसन्धानबाट पाइएको उहाँले बताउनुभयो । घर निर्माणमा कमी आएसँगै कुखुराको खपत कम हुन थालेको बताइएको छ । ‘तीनवर्ष अघिको तुलनामा अहिले २० प्रतिशत पनि घर बनेका छैनन् निरौलाले भन्नुभयो , ‘काम नै नपाएपछि उनीहरूको क्रयशक्ति पनि हुँदैन, र खपत नभएको हो ।’

झापामा दैनिक १ लाख ५० हजार अण्डा उत्पादन हुने संघको तथ्यांकमा उल्लेख छ । तर, झापामा दैनिक ३ लाख अण्डा खपत हुने गरेको पाइएको छ । झापामा अपुग भएको अण्डा मोरङ, सुनसरी र नारायणघाटबाट समेत आयात हुने निरौलाले जानकारी दिनुभयो  । झापाबाट कुखुराको मासु भने सुनसरी, मोरङ र काठमाडौँसम्म जाने गरेको जानकारी उहाँले दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्