झापाकै ठूलो मुर्रा भैँसी फर्म राज्यको नजरमा पर्न सकेन



भद्रपुर। 

परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको हो । यस यात्राले  अहिले आएर भने आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब परदेशी माटोमा होइन आफ्नै देशको माटोमा निरन्तर रगत पसिना बगाउने अभियानमा लागेको छु ।  यो भनाइ झापा भद्रपुर १ हिमाली चौक पृथ्वीनगरका ३५ वर्षीय अर्जुन सुवेदीको हो । उहाँ अहिले  नेपालको तराइमा पाइने रैथाने जातको उन्नत नस्ल क्षमताको मुर्रा भैँसी पालन गरिरहनु भएको छ ।

यस जातका भैँसी सङकटमा परिरहेको अवस्थामा सुवेदीले राज्यको विना लगानीमा सञ्चालन गरिरहनु भएको हो । संभवत झापाकै ठूलो मुर्रा भैँसी फर्म सञ्चालन भइरहेको सुवेदीको दाबी छ । घर पालुवाको रुपमा रहदै आएका भैँसी पनि केही वर्षयताबाट पाल्न छाड्दै गइरहेको अवस्थामा यो आँट गरेको उहाँको भनाइ छ ।

सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्रा भैँसी सहितको फर्म छ ।   सञ्चालक  सुवेदी रोजगारीका सिलसिलामा ११ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुग्नुभयो  । ११ वर्ष कतारमा मजदुर भएर पसिना बगाएका अर्जुनले मासिक एक लाख ५० हजार तलब आइरहेको कम्पनी त्यागेर आफ्नै देशमा केही गर्ने सोच पालेर तीन वर्षयता भैँसी पालनमा रमाइरहेको बताउनुहुन्छ ।

उहाँले ३ वर्षयता भद्रपुर १ थाना चौक कमानसिंह मार्गको बस्तीमा आफ्नै स्वामित्वमा रहेको ७ कठ्ठा जग्गामा २६ लाख लगानीमा आधुनिक गोठ निर्माण गरी ५४ वटा भंैसी राखेर व्यावसायिक पशुपालन सुरु गरेको जनाउनुभयो ।

उहाँले प्रदेश २ को सिराहा जिल्लाको लहानबाट अधिकांश मुर्रा जातका पाडीहरू खरिद गरेर ल्याएकोमा अब केही पाडीहरू बच्चा दिने तयारीमा पुगी सकेको बताउनुभयो । स्थानीय  रैथाने प्रजातिका मुर्रा भैँसी भए पनि प्रतिभैँसी १० लिटर सम्मा दूध उत्पादन हुन सक्ने उहाँको अनुमान छ ।

राज्यको कुनै निकायबाट सहयोग नपाइ कर्म गरिरहेका सुवेदीले अहिलेसम्म लगानीमै सीमित  छन् । उहाँले एक वर्षका लागि ६ लाख रुपैयाँको पराल मात्र खुवाउने गरेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारको अनुभवले आफ्नै स्वरोजगार सोच बनाएर व्यावसायिक पशुपालन तथा कृषि उत्पादनको क्षेत्रमा होमिएको भन्दै उहाँले  बजारको उचित प्रबन्ध हुने हो भने दैनिक २ सय ५० लिटर बढी दूध उत्पादन गर्ने सोचमा रहेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो फर्मबाट उत्पादन हुने दूध खरिदका लागि केही दुग्ध डेरी सञ्चालकहरूले खरिद गरिदिने भन्दै फर्ममा आउने गरेको बताउनुभयो । स्थानीय पशुपालक कृषकका सानो – सानो परिमाणको दूध सङ्कलन गर्ने  लक्ष्यका साथ चिस्यान केन्द्र खोल्ने सोचका साथ १३ विगाह जमिन भाडामा लिएर घाँस खेती तथा कृषि उपज उत्पादन पनि गरिरहेको उहाँले बताउनुभयो ।

७  बिगाह जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी घाँस खेती गरेर पशु आहारको व्यवस्थापन साथै मौसमी खेतीका लागि ६ विगाह जमिन उपयोग गरिरहेका जनाउनुभयो ।  आफू सहित ३ जनालाई पूर्ण रोजगारी समेत दिएको सुवेदी फर्मबाट यतिखेर ४ विगाह क्षेत्रमा हराभरा तोरी फुलिरहेको दृश्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ ।  पशुपालन र कृषि उपज तरकारी खेती तथा अन्न तेलहन खेती साथ साथै अगाडि भन्दै रोजगारीका लागि विदेशिने युवाहरूलाई अवसरका ढोकाहरू आफ्नै देशमा रहेको सुनाउनुहुन्छ ।

देशमै बसेर समृद्धिको वातावरण तयार गर्न रात दिन लागिरहेका सुवेदी जस्ता युवालाई स्थानीय सरकारले समेत नजिकबाट निहाल्न सकेको छैन ।

अघिल्लो नेतृत्वले बेवास्ता गरेपछि स्थानीय सरकारका कामप्रति अविश्वास पाल्न बाध्य अर्जुनले वर्तमान नगर नेतृत्वसित पनि खासै आशा पाल्न नसकेको बताउनुहुन्छ । जसलाई सरकारको सहयोग आवश्यक छ त्यसलाई सहयोग गर्न सरकारी पक्ष नलागेकै कारण युवाहरू विदेशिन बाध्य भएको तीतो अनुभव सुनाउने सुवेदी अर्काको देशको लाखले मात्र भविष्य सुनिश्चित नहुने भन्दै आफ्नै माटोमा केही वर्ष थोरै कमाइमा रमाएर भविष्य सुन्दर बनाउन सके देशको समृद्धिको यात्रामा एउटा इँटा थपिने उहाँको कथन छ ।

नातावाद, कृपावाद वा कागजी सहयोगका सबै विभेद बन्द गरेर वास्तविक उद्यमी युवालाई प्रोत्साहनको पोको खोलिनु पर्छ अनि मात्र देशले समृद्धिको यात्रा तय गर्न सक्ने छ भन्ने सोच पालेका सुवेदीले अहिलेसम्म सरकारका कुनै पनि निकायबाट सहयोग भने नपाएको जानकारी दिनुभयो ।

उहाँको फर्मसम्म पुग्ने बाटो वर्षादमा हिलाम्मे हुन्छ भने हिउँदमा हिँडेर जान समस्या नभए पनि असहज अवस्थाको सामना गर्नु पर्छ । फर्म सञ्चालन बापत वडा कार्यालयलाई वार्षिक ७ हजार सहित ४३ हजार कर राज्यलाई बुझाइ रहेको सुवेदी कृषि फर्मले सुविधा भने एक पैसाको पनि पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्