अपवित्र गठबन्धन र असफलता



गठबन्धन किन र कुन उद्देश्य पूर्तिका निम्ति गरिन्छ ? देशको उन्नति र सामाजिक वा राष्ट्रिय भलाइका लागि नै गठबन्धन गरिने हो । यसको उद्देश्य सकारात्मक हुन्छ । तर आफूले गरेका खराब कर्तुतको ढाकछोपका लागि, आम मानिसलाई दुःख दिएर सताउनका लागि वा आफूले कानुनविरुद्धका काम गरेर तिनलाई छोप्नका लागि गरिएको कुनै पनि गठबन्धन अपवित्र गठबन्धन हुनजान्छ । अपवित्र गठबन्धनबाट आम नागरिक मानसिक रुपमा खुशी हुन सक्दैनन् । बरु आम जनता अब के होला वा कुन खराब घटना घट्ला कि भनेर त्राही–त्राही भई बाँच्नुपर्ने अवस्था आउन सक्छ । स्वार्थी र सङ्कीर्ण विचारका मानिसका बीचमा हुने गठबन्धनले आम जनता वा समाज वा समग्र देशको भलाइ गर्ला कि भनेर आशा राख्ने स्थान कति पनि रहन्न । आशा राख्ने ठाउँ नरहे तापनि फेरिको आशा र भरोसा भनेको केन्द्रमा रहेकै व्यक्तिको गर्नुपर्ने हुन्छ । वास्तवमा भन्दा यो प्राकृतिक नियम नै रहेछ । अरु कसैको भलाइ होस् भनेर पराईको तुलनामा आफ्नो स्वार्थलाई केही मात्रामै भए पनि गौण भएको ठानेर गरिने गठबन्धनले आम समाज र राष्ट्रकै लागि थोरै भए पनि राहत दिन सकिहाल्छ । पूरा–पूरा स्वार्थमा जकडिएर गरिएको गठबन्धन भने आम नागरिक र उक्त मुलुककै लागि समेत भयङ्कर बन्न सक्छ । अझ शासकीय स्तरमा यी कुरा हुन पुगे भने अब आम नागरिकका दुःखका दिन, कष्ट र पीडाका दिन शुरु भएछन् भनेर हृदयदेखि नै सम्झे पुग्छ ।

आफूलाई कमजोर ठान्ने वा एक्लो ठान्ने अनि अरुलाई निकै बलवान् देख्ने भित्री नजर भएको व्यक्ति वा त्यस्तै भावनाले सताइएका मान्छेहरुका बीच हुने सानो वा अनौपचारिक स्तरको सहमतिमा आएर ती बुँदालाई क्रियाशीलतामा ढालेर कार्यान्वयनको पक्षमा लैजानु गठबन्धनको खास उद्देश्य रहेको हुन्छ । अपवित्र गठबन्धन त्यति बेला बन्दछ जब कुनै असहनीय दुष्कर्मतिर आफूलाई धकेलिन्छ र त्यसको एक्लैले सामना गर्न नसकिने जस्तो अवस्था सिर्जना हुन पुग्छ । यो अवस्थामा एक्लो व्यक्ति वा राष्ट्र स्वयंलाई एक्लै आँट नआएपछिका दिनमा एक–अर्काको बैसाखीस्वरुप गठबन्धन बनिन्छन् । यस्ता गठबन्धन आम जनता र आफ्नो समाजका वास्तविक आवश्यकतालाई ओझेलमा पारेर व्यक्तिगत स्वार्थको रक्षार्थ गरिएका हुन्छन् । यदि गठबन्धनमध्येका कसैले आफ्ना गठबन्धनका मतियारमध्ये कसै एउटाको मात्र पोल खोल्नासाथ सबै भताभुङ्ग हुन पुग्छ । तर एउटा अचम्म के छ भने, गठबन्धनका सबै मूलीहरुबीच मनोमालिन्यका कुरा चर्को तबरले आम नागरिकसमक्ष उठ्दै गर्दा र कडै सजायको भागीदार बन्नुपर्ने अवस्था सिर्जना हुँदासमेत मात्र होइन कि उनीहरुका बीच चरम मनोमालिन्यको भाव मडारिन थाल्दा पनि एक–अर्काको गोप्य पोल नखोल्ने खालका धर्मले भने अहिलेसम्मको राजनीतिमा धर्म थाम्दै आएका छन् । स्वार्थ एउटै खालको भएपछि त्यहाँ विद्रोह जन्मदैन, केवल खटपट भइहाले पनि सामान्य मनोमालिन्यतामा नै सीमित रहन पुग्छ । आफू सवलाङ्ग नै रहेका खण्डमा शायद कसैलाई पनि आफन्त वा साथीभाइसँग आश्रय लिएर लाचार बन्न मन लाग्दैन होला ।

गठबन्धन गर्ने भनेको आफू कमजोर भएर पराजित भइन्छ कि भन्ने भयले मानसमा सताउन थालेपछिका दिन जसले पनि बैसाखी अर्थात् सहारा खोज्छ । सहारा पाएर आफू केही बलियो हुन थालेपछि अगाडिको आफूलाई बलियो बनाउने सहारालाई क्रमशः बिर्सेर जान थाल्छ । यो सबैजसो मानवको मानवीय गुण मान्नुपर्दछ । नेपालको राजनीतिक गठबन्धनमा पनि यस्तै कुरा भएका र हुँदै छन् । नेपालको राजनीतिक गठबन्धनका हकमा भन्ने हो भने, राजनीतिको कुनै पनि कालखण्डमा गरिएका विभिन्न राजनीतिक दलबीचका गठबन्धन नेपालको समाजको उन्नतिका खातिर, देशको उन्नतिका खातिर नभएर आ–आफ्नै व्यक्तिगत लाभका खातिर हुने र असमयमै टुट्ने गरेका छन् । स्वार्थको राजनीति कहिल्यै टिकाउ हुन सक्दैन भन्ने थाहा भएर पनि राजनीतिक उतारचढावका विभिन्न कालखण्डमा विभिन्न राजनीतिक दलका बीचमा गठबन्धन भएका छन् । तर ती गठबन्धन परालको त्यान्द्रो जत्तिका बलिया वा प्रभावशाली भने हुँदैनन् । विश्वास गर्नै नसक्ने गरी ती गठबन्धन टुक्रिएर, फुटेर, हराएर जान्छन् । यसरी टुटफुट भएर जाने राजनीतिक गठबन्धनको पाराले गर्दा पनि आम मानिसको राजनीतिप्रतिको वितृष्णा क्रमशः बढ्दै जान थालेको छ । कम्तीमा आफ्ना धुपौरे कार्यकर्ताबाहेकका लाख जनताले प्रशंसा गर्नलायकका काम गरेर देखाउन नसक्ने राजनीतिक गठबन्धनको औचित्य नै के रहला र ?

वर्तमान नेपालको एमाले र माओवादी केन्द्रका बीचको गठबन्धन पनि आम नेपाली जनता र देशको हितको हेतुले गरिएको गठबन्धन होइन । यो गठबन्धनको मूल हेतु के देखिन्छ भने, विगतमा शासन सत्ता आफ्नो हातमा लिएर सर्वेसर्वा शासक बनेका बेलामा समय अहिले नै त हो नि, पछि के–कसो होला ? पाएका बेलामा ठूलै कुम्लो कसौँ है भनेर धरहरा पूरा निर्माण गरेर नसकेकै बखत हतार–हतार उद्घाटन गरी कमिसनको खेल चलाउने प्रमुखज्यूहरु हुन् कि विगतमा दुई–दुईपटक सत्ताको न्यानो कामधेनु गाईसरहको कुर्सीमा बसेर माखो मार्ने तर देश लुटेर सक्ने बानीको भण्डाफोर हुनबाट जोगाउनु पहिलो र पेचिलो स्वार्थको जगेर्नाका लागि तयार रहन यो गठबन्धन भएको अन्दाज होइन कि पक्का गर्न सकिन्छ । आ–आफ्ना स्वार्थका लागि गरिएको गठबन्धन भए तापनि सम्मान, आदर आदिको तराजु कतातिर अलिकति घटबढ हुँदै गर्दा केही वैमनस्यताहरु बाहिर सतहमा समेत छताछुल्ल हुन पुगेर एउटा सानो तरङ्ग पनि पैदा हुँदै गरेको थियो । त्यही तरङ्गले हल्लाएर बाहिरी मान्छेका कानसम्म कुरो आएपछि सर्वसाधारणले समेत थाहा नपाउने कुरै भएन ।

पवित्र र जनताका लागि योगदान दिने पवित्र उद्देश्यले भएको गठबन्धन हुन्थ्यो भने यो संसार सञ्चालनको जिम्मा लिएको प्रकृति वा भगवान्ले पनि साथ र सहयोग जरुरी ठानेर दिनुपर्ने हुन्थ्यो । तर अपवित्र गठबन्धनलाई परमात्माले साथ दिनुको साटो भत्काएर छोड्दा रहेछन् भन्ने कुरा प्रत्यक्ष र परोक्ष दुवै रुपमा देख्न र भोग्न पाइँदै छ । सत्य सधैँ सोझो हुन्छ भन्ने विचार राख्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको उक्त भनाइको मर्म आज बल्ल विचार गरिँदै छ । आम मान्छेको चित्त बुझाएर शासन गर्न नसक्नेलाई भगवान् वा प्रकृति जे भनौँ, उसले साथ देला वा दिन्छ भनेर सोच्नु र तदनुसारको अपेक्षा राख्नु मूर्खता र घमण्डबाहेक अरु केही होइन । विगतमा देश र जनहितका काम गर्न सकेका भए आज उनीहरुले आफ्ना कुकृत्यको ढाकछोप गर्न यति धेरै हर्कत गर्नुपर्ने नै थिएन । जति बेला अपवित्र गठबन्धनको कुरा चल्दै र मूर्तरुप लिन तयार हुँदै थियो त्यति बेला मेरो देशले पुनः राजनीतिक असफलताको सिकार बन्न तयार हुनुपर्दै थियो । मैले यति लामो कालखण्डमा एउटै पनि सक्षम शासक जन्माउन सकिन भनेर नेपाल आमाको अनुहार धेरै मलिनो र निन्याउरो भएको भान पर्दथ्यो । हुन पनि आज ठ्याक्कै त्यस्तै हुन पुग्यो ।

पहिलो र दोस्रोचोटि प्रधानमन्त्रीको कुर्सीमा बसेर दुवै पटक असफल शासक भनेर जनआवाजमा भनिइसकेका व्यक्ति अब शासन चलाउन सक्षम बन्छु भनेर आश्वासन बाँड्दै आउँदा भरोसा नगर्न पनि भएन, भरोसा गर्दा पनि उनी पुनः तेस्रोपटक पनि असफल प्रधानमन्त्रीको रुपमा दर्ज हुँदै छन् । उनी शासक बन्नुको हेतु नै वा मूलमै अपवित्र सोच वा भावनाले काम गराएको छ । नकारात्मक भावनाले गराएको कामको नतिजा सकारात्मक आउला भन्न सकिँदैन र विष–वृक्ष रोपेको ठाउँमा अमृत फलेको कुरा देख्न, सुन्न र भोग्न पाइएकै छैन । यदि उनी तेस्रोपटक प्रधानमन्त्री बनेर एउटा सक्षम शासक बन्ने पवित्र हेतुले पुगेका थिए भने लाखौँ जनताले विरोध होइन समर्थन र स्वागत गर्ने थिए । त्यति मात्र होइन कि अदेख भगवान् होस् कि अदेख प्रकृति होस्, उसले पनि साथ दिएर सहज वातावरण सिर्जना गर्न साथ दिने थियो । सत्यमा अडिएर गरिने कुनै पनि गर्व गर्नलायकको हुन्छ भने छलकपट, धोखाधडीबाट गरिएको काम गर्व गर्नलायकको हुँदैन । केवल भक्तहरुले फोस्रो प्रशंसा गरिदिए पनि वास्तविकतालाई केलाएर हेर्दा कालो फोहोर कुरा अवश्य किनारा लागेर देखिनेछ ।

अहिले हाम्रो देशमा चल्दै गरेको गठबन्धनको सत्ता अबका दिनसम्ममा धमिरा लाग्न थालिसकेको छ । आम चुनावपछिको यो गठबन्धनको शासन सत्ताभित्र धेरै कसिङ्गर थुप्रिसकेको छ । त्यो कसिङ्गरलाई निर्ममताका साथ बढारेर फाल्नुपर्ने ठाउँमा त्यसलाई माया गरेर ढाकछोप गर्दै र आम जनतालाई कसिङ्गर कति पनि छैन, हामी ज्यादै शुद्ध र सफा भएर शासन चलाउँदै छौँ, त्यसैले हामीलाई विश्वास गरेर लामो अवधिसम्म देश लुट्ने मौका दिइराख्नुहोस् भनेर निम्छरो विज्ञापन गर्ने काम विभिन्न सञ्चारमाध्यमबाट भइरहेका छन् । खरानीभित्र पुरिएको आगोको कोइला, खरानी खोस्रेर हेर्न सके झर्झराउँदो भएको देखिन्छ भनेजस्तै नेपालका हरेकजसो राजनीतिक दलभित्र थुप्रिएको फोहोरको थुप्रो तिनै राजनीतिक दलका नेता भनाउँदा र बफादार भनिएका कार्यकर्ताले समेत पटक्कै देख्न सक्दैनन् । हरेक राजनीतिक दलभित्र अलि विद्रोही स्वभावको कार्यकर्ता कोही भए उसले आफैँमा विद्रोह गरेर भए पनि उक्त कसिङ्गर मिल्काउने प्रयासमा लाग्ला र केही हदसम्म सफल पनि होला । राजनीतिक फोहोरकै थुप्रोको दुर्गन्ध सुँघेर बस्न बानी परेकाहरुलाई त्यो फोहोर सफा गर्न मनै लाग्दैन । यदि फोहोरको मीठो दुर्गन्ध नाकले लामो सास फेरी तानेर फोक्सो भर्न पाएनन् भने उनीहरुलाई रातभर निन्दै्र नलाग्ने होला । अबका कति वर्षपछि को विधाता आएर त्यो फोहोर पूरै सफा गर्ला र समग्र राजनीतिक परिवेशलाई स्वच्छ तुल्याएर लैजान सक्ला ? भन्ने प्रश्न आज हरेक राजनीतिक दलका बीचको अहं समस्या बनेर रहेको छ । चेतना रहोस्, यो अपवित्र गठबन्धनकै कारणले गर्दा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रोपटक पनि असफल प्रधानमन्त्री बनेर बाहिरिने छन् ।

प्रतिक्रिया दिनुहोस्