टर्की-सिरियामा भूकम्प : हजारौंको मृत्यु

प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त



काठमाडौं । टर्की र सिरियाको सीमानजिकै गएको शक्तिशाली भूकम्पमा दुई हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । सोमबार बिहानको विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा भवनहरू भत्किएका र हजारौं नागरिकले ज्यान गुमाएको विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दिएका छन् ।

सीएनएन टेलिभिजनका अनुसार सोमबार साँझसम्म मृतकको संख्या एक हजार सात सय पुगिसकेको छ ।

स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमानजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्ने बताइएको छ ।

समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पु¥याएको छ । सयौं मानिस घाइते भएका छन् ।

सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ । त्यहाँ सयौं घरहरू भत्किएका छन् । टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पु¥याएको छ ।

लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ । अहिलेसम्म २० भन्दा बढी परकम्प आइसकेको बताइएको छ । तीमध्ये एउटा परकम्प ६.६ म्याग्निच्युडको थियो ।

यस भूकम्पमा नेपाली नागरिक परेको कुनै जानकारी भने प्राप्त छैन । टर्कीलाई पनि हेर्ने इस्लामावादस्थित नेपाली राजदूत तपस अधिकारीले टर्की र सिरियाको सिमानानजिकै जुन स्थानमा भूकम्प गएको छ त्यहाँ नेपालीहरू नरहेको जनाउनुभएको छ । बीबीसी नेपाली सेवाका अनुसार अधिकारीले ‘हालसम्म कोही पनि नेपाली भूकम्पमा परेका छैनन् भन्ने जानकारी हामीले पाएका छौँ ।’

टर्कीमा ३५ सयदेखि चार हजारको संख्यामा नेपाली रहेको बताइन्छ । नेपालीहरू मुख्य रूपमा अङ्कारा र इस्तानबुलमा बस्ने गरेका राजदूत अधिकारीले बताउनुभएको छ ।

२०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पपछि खोज तथा उद्धारका लागि टोली पठाउनेमा टर्कीको सहायता निकाय पनि रहेको थियो ।

इस्तानबुलमा रहेका गैर आवासीय नेपाली संघ, टर्कीका महासचिव विनोद पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सीमित सङ्ख्यामा नेपालीहरू छन् ।

सिरियालाई पनि हेर्ने जिम्मेवारी पाएको इजिप्टस्थित नेपाली राजदूत सुशीलकुमार लम्साल भन्नुहुन्छ – ‘सिरियामा हाम्रा एक जना कन्सुल हुनुहुन्छ । हामी उहाँसँग सम्पर्कमा रहेर त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छौँ । अहिलेसम्म नेपाली परेको कुनै विवरण आएको छैन ।’

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पमा परी ठूलो परिमाणमा मानिसको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेख्नुभएको छ, टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस्