पूर्व सहमतिलाई कार्यान्वयन गर्न गठबन्धन टिकाइराख्नुपर्छ



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनुभएको छ । रफत सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उहाँको तर्क छ । ज्ञवालीले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिन, अनि सत्ताको महत्वपूर्ण अंगहरूमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाएको भन्दै उक्त कार्य गलत भएको टिप्पणी गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो– ‘जहाँसम्म राष्ट्रपति निर्वाचनको कुरा छ, त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनु पर्दछ । यो सरकार बनाउने राजनीतिक दलहरूको बीचमा हिजो पुस १० गते जे समझदारी भएको त्यसलाई पूर्णरूपमा कार्यन्वायन गरेर जानुपर्छ ।’

कांग्रेसमा सत्ताबाट हटनु परेको छटपटी शुरू भएको आरोपसमेत लगाएका ज्ञवालीले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो– ‘लोकतन्त्रको एउटा बलियो पक्ष भनेको सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ । नियन्त्रण र सन्तुलन खल्बलिन्छ ।’

संसदीय लोकतन्त्रमा प्रतिपक्षको भूमिका सरकारलाई सधैं खबरदारी गर्ने भएकाले कांग्रेसले अहिले जुन स्थान खोजेर बसेको छ त्यही ठाउँमा बसेर जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्