विन्ध्यवासिनी अवार्डका सम्मान घोषणा लाइफटाइम प्रकाश र संगीत साधना सुक्मितलाई



विन्ध्यवासिनी फाउन्डेसनले शनिबार राजधानीमा एक भेला आयोजना गरी आगामी चैतमा राजधानीमा हुने विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ अन्तर्गत विभिन्न सम्मानको घोषणा गरेको छ ।

फाउन्डेसनले नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा नवौं वार्षिक भेला आयोजना गरी मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ का लागि तीन संगीतकर्मी र एक सञ्चारकर्मीको नाम अनुमोदन गराएको हो ।

भेलामा फाउन्डेनका सल्लाहकारहरू गीतकार किरण खरेल र दिनेश अधिकारी तथा संगीतकार दीपक जंगम र शक्ति बल्लभको समितिले विन्ध्यावासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड संगीत साधना सम्मान र प्रेमध्वज संगीत रत्न सम्मानको लागि नाम सिफारिस गरेका थिए ।

त्यसैगरी, पत्रकारको समूहले कला पत्रकारिता सम्मानका लागि नाम सिफारिस गरको थियो । फाउन्डेसनले हरेक वर्ष भेला आयोजना गरी सम्बन्धित संगीतकर्मी र पत्रकारबाट सिफारिस नाम अनुमोदन गरी घोषणा गर्ने गर्दछ ।

सल्लाहकार समितिका तर्पmबाट गीतकार अधिकारीले तीन सम्मानका लागि सिफरिस भएको नाम घोषणा गरे । जसअनुसरमा फाउन्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरुष स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नामको प्रेमध्वज संगीत रत्न सम्मान यो वर्ष नगद २५ हजार रुपियाँ सहित गायक भवीन ढुंगानालाई प्रदान गरिने भएको छ ।

त्यसैगरी, नगद ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान लोकप्रिय गायिका सुक्मित गुरुङलाई प्रदान गरिने भएको छ । अवार्डकै सर्वाधिक महत्वपूर्ण विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ नगद एक लाख रुपियाँसहित ख्यातिप्राप्त संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिने भएको छ ।

त्यसैगरी, विन्ध्यावसिनी कला पत्रकारिता सम्मानको छनोट समितिका संयोजक पत्रकार विदुर गिरीले यस वर्षको यो सम्मान नगद २५ हजार रुपियाँसहित सञ्चारकर्मी नरेश भट्टराईलाई प्रदान गर्ने घोषणा गरे । भेलामा आयोजक सुवास रेग्मी तथा विभिन्न संघ संस्थाका पदाधिकारीले संगीत क्षेत्र र विन्ध्यवासिनी अवार्डबारे चर्चा गरेका थिए । फाउन्डेसनकी अध्यक्ष लीना रेग्मीले अवार्ड समारोह चैत मध्यमा हुने जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्