परवेज मुसर्रफको निधन



काठमाडौं । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । उहाँ ७९ वर्षका हुनुहुन्थ्यो ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित अमेरिकी अस्पतालमा मुसर्रफको निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले मुसर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको पाकिस्तानी सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँको परिवारका सदस्यलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उहाँको ‘एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन् । मुसर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मुसर्रफ २०७३ सालदेखि उपचारका लागि दुबईमा बस्दै आउनुभएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, केही महिना पहिले मुसर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो निजी वकिलमार्फत पाकिस्तानी सरकारलाई निवेदन दिनुभएको थियो ।

मुसर्रफ २०५६ सालमा सैन्य ‘कु’ पछि पाकिस्तानका दशौं राष्ट्रपति हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्