अशक्तलाई घरमै पुगेर भत्ता वितरण



म्याग्दी ।

शारीरिक रुपमा अति अशक्त, अपाङ्गता भएका लाभग्राही, वारिसे नभएका तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर भत्ता वितरण गरिएको छ । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो सबै वडामा बैंक, वडा कार्यालय र पायक पर्ने स्थानमा आउन नसक्नेलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय र पायक पर्ने स्थानसम्म आउन नसक्नेलाई घरमै पुगेर वितरण गरिएको छ । यसैगरी अशक्त र अपाङ्गबाहेक ज्येष्ठनागरिक तथा अन्य लाभग्राहीलाई सम्बन्धित वडा कार्यालय र पायक पर्ने स्थानसम्म बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बेनी नगरपालिकाका फिल्ड सहायक गोविन्द पौडेलले बताउनुभयो ।

हालै बेनी नगरपालिका–१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरु र कृषि विकास बैंकका प्रतिनिधिहरु घरमै पुगेर भत्ता वितरण गर्नुभएको छ । ज्येष्ठनागरिक कार्कीलाई तीन महिनाको मासिक चारहजार रुपैयाँका दरले १२ हजारको चेक बनाएर बुझाइएको थियो । जसिकलाको उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गएपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दै आउनुभएको उहाँकी जेठी बुहारी धनकुमारी कार्कीले बताउनुभयो ।

पहिला भत्ता लिनका लागि ज्येष्ठनागरिकलाई गाडीमा राखेर बैंकसम्म लैजानुपर्ने बाध्यता रहेकोमा अहिले वडाको पहलमा बेनी नगरपालिकामार्फत बैंकको टोली घरमै पुगेर भत्ता वितरण गर्न थालेपछि सजिलो भएको बताइएको छ । बेनी नगरपालिका–१, रत्नेचौरका वडा अध्यक्ष थापा अघिल्लो कार्यकालमा वडा सदस्य र त्यसभन्दा अगाडि साविक रत्नेचौर गाविसको सचिव र बेनी नगरपालिकाको वडानम्बर १ हुँदै गर्दा वडा सचिवको रुपमा समेत रहनुभएको थियो । रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरु धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

कृषि विकास बैंक म्याग्दी शाखाले बेनी नगरपालिका–१, रत्नेचौर तथा ७ र ८ नम्बर वडा बेनीबजारमा सामाजिक सुरक्षाभत्ता वितरणको जिम्मेवारी पाएको छ । बेनी नगरपालिका–१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिसहित कुल ४ सय २ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको बैंकको शाखा प्रवन्धक शंकरदेव मल्लले बताउनुभयो । त्यसमध्ये रत्नेचौरको माथिल्लो भेगका २ सय १ जना लाभग्राही रहेकोमा गाउँमै पुगेर भत्ता वितरण गर्ने क्रममा १ सय ८० जनालाई १८ लाख ९५ हजार रुपैयाँ वितरण गरिएको बैकले जनाएको छ ।

चालु आर्थिक वर्षमा नवीकरण भएका रत्नेचौरको माथिल्लो क्षेत्रका २ सय १ मध्ये १ सय ८० जनालाई घरमै पुगेर भत्ता वितरण गरिएको र बाँकी १३ जनाको बैंक खातामै जम्मा गरिएको छ । बैंकले बेनी नगरपालिका–७, बेनीका ८२ जना र ८ नम्बर वडा बेनीका ७८ जनालाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सरकारले ज्येष्ठनागरिकलाई बैंकमै खाता खोलेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरेपछि भौगोलिक विकटता, शारीरिक रुपमा अशक्ततालगायत विविध कारणले समस्या हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्