गीतकै कारण दर्शकले फिल्म हेर्छन् : दीपक शर्मा



एक दशकदेखि फिल्मी संगीतमा छाइरहेका संगीतकार दीपक शर्माले संगीत भरेका अधिकँंश फिल्मका गीत सफल छन् । शर्माले संगीत भरेको फिल्म मंगलमको पर्ख पर्ख मायालु, छक्का पञ्जाको देख न चम्पा, छक्का पञ्जा–३ को पहिलो नम्बरमा, हिजो आजका कुराको जदौ मायाजस्ता दर्जनौं गीत हिट छन् ।

हालै सार्वजनिक छक्का पञ्जा ४ को उनीद्वारा संगीतबद्व दर्शन सलाम युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा छ । डेढ दशकदेखि संगीत क्षेत्रमा सक्रिय दीपकको फिल्मी गीतसँगै पिरिम नलाउने, मलाई आफ्नो बनाएर, जिन्दगीकै सवाल हुन्छ, पछि पछि लाए, नलाएको माया, बालखैमा दिल बस्योजस्ता सुगम संगीतका गीत पनि हिट छन् । एक हजारभन्दा बढी गीतमा संगीत भरिसकेका र संगीतकै लागि विभिन्न अवार्ड र सम्मान चुम्दै आएका संगीतकार शर्मासँगको कुराकानी यहाँ प्रस्तुत छ :

हिजोआज के गर्दै हुनुहुन्छ ?

मैले संगीत भरेको पछिल्लो फिल्म छक्का पञ्जा–४ को नयाँ गीत दर्शन सलाम भ्युजको हिसाबले चाँडै नै करोड क्लबमा पुग्दैछ । यसबाहेक निर्माता छविराज ओझाको नयाँ फिल्म र केही सुगम संगीतका गीतका लागि संगीत सिर्जना गरिरहेको छु । ओएसआर डिजिटल कम्पनीको लागि यो एक वर्षभित्र एक दर्जन गीतमा संगीत गर्न अनुबन्धित भएकाले त्यसमा व्यस्त छु ।

हिट गीतको फर्मुला के रहेछ ?

सबैको आप्mनै फर्मुला होलान्, मचाहिँ फिल्ममा कस्तो अवस्थामा गीत रहन्छ भनेर बुझ्ने गर्छु र सो गीतले फिल्मको कथालाई अघि बढाउँदै दर्शकको मन कसरी छुन्छ भनेर विचार गर्छु । फिल्मको टिमसँग सम्बन्धित गीतको बारेमा उनीहरूले कस्तो भावको संगीत चाहन्छन् भनेर सल्लाह लिन्छु र आफ्नो अबधारणा सुनाउँछु । त्यसपछि त्यो गीत कसले गाउँदा राम्रो हुन्छ र त्यो गीतमा को को कलाकारले अभिनय गर्छन् भन्ने कुरा बुझेर मात्र संगीत सिर्जना सुरु गर्छु ।

पारिश्रमिकको हिसाबले फिल्मी गीत ठीक कि सुगम गीत ?

फिल्मी र सुगम गीतको पारिश्रमिकमा अन्तर छ । सुगम गीतमा भन्दा फिल्मको गीतमा अन्य टिमले पनि बढी पारिश्रमिक लिने भएकाले गीत तयार गर्दा केही महंगै पर्न जान्छ । सुगम गीतको तुलनामा फिल्मको एउटा गीत तयार गर्न मेहनत र समय पनि निकै गर्नु पर्छ । फिल्मका निर्माता निर्देशकले थुप्रै गीतबाट बल्ल एउटा गीत छानेर त्यसलाई तयार गर्न लगाउनुहुन्छ । यी विविध कारणले फिल्को गीतमा संगीत भर्दा बढी पारिश्रमिक लिने गरेको छु । निर्माता निर्देशकहरू म महंगै संगीतकारको सूचीमा पर्ने गरेको बताउनुहुन्छ ।

नेपाली फिल्ममा संगीतको अवस्था कस्तो छ ?

नेपाली फिल्मको इतिहासबाटै गीत संगीत जोडिँदै आएकोले पनि होला यसको अवस्था राम्रो छ । नेपालीहरू गीत संगीत अत्यन्त रुचाउँछन् । उनीहरू फिल्म हेर्न हलमा पुग्दा त्यसको गीतमा रमाउँछन्, फिल्म आउनुभन्दा अघि नै त्यसको गीत सुनेर मन पराइसकेका हुन्छन् । गीतकै कारण पनि दर्शकले फिल्म हेर्ने गर्छन् । यसरी एकातर्फ फिल्मको कथालाई गीत संगीतले न्याय गरेर अघि बढाउन मद्दत गरेको हुन्छ भने अर्को गीत सफल गीतले त्यो फिल्मलाई पनि सफल हुन त्यत्तिकै साथ दिएको हुन्छ ।

लगानीको तुलनामा आम्दानी छैन र पनि गीतहरू आइरहेका छन् नि ?

श्रष्टाहरूले गीति क्यासेट तथा सिडी चल्न छाडेपछि गीत संगीतमा गरिएको लगानी उठ्न छाडेको भन्ने गर्नुभएको थियो । तर, अहिले समय परिवर्तन भएको छ । प्रविधिले गीत संगीतलाई धेरै तर्फबाट आम्दानी दिलाउन थालेको छ । अहिले फेरि गीत सुनेर कार्यालय तथा घरमा काम गर्ने क्रम बढेको छ । संसारभरीको कैयौं डिजिटल प्लेटफर्ममा अन्य देशको जस्तो हाम्रो गीत पनि राख्न थालिएको छ । ती प्लेटफर्मबाट राम्रौ आम्दानी हुने गरेको छ । हेर्ने गीतको रूपमा युट्युबदेखि विभिन्न च्यानलमा गीत राखिन्छ र राम्रा गीतले यस्ता च्यानलबाट निकै राम्रो आम्दानी गर्दै आएको छ । गीतकार, संगीतकारले पनि विभिन्न माध्यममार्फत राम्रो रोयल्टी पाउने गरेका छन् । अझ गायक गायिकाले त देश विदेशमा हुने विभिन्न स्टेज कार्यक्रमबाट त्यत्तिकै राम्रो आम्दानी गर्नुहुन्छ ।

नेपाली गीत संगीतको भविष्य कस्तो छ ?

नेपाली गीत संगीतको भविष्य निकै उज्ज्वल छ । नेपालमा अहिले गीत–संगीतका अन्तर्राष्ट्रिय रियालिटी शो आएपछि निकै राम्रा कलाकार यो क्षेत्रमा आएका छन् । नयाँ पुस्ताको पनि गीत–संगीतमा त्यत्तिकै आकर्षण बढेको छ । रियालिटी शोका कारण गीत संगीतमा विभिन्न उत्पादन कम्पनीले ठूलो लगानी गरेका छन् । अहिले गीत–संगीतबाट चलेका कलाकारको राम्रो आम्दानी छ ।

केही वर्षअघिसम्म नेपालमा मात्र सीमित नेपाली गीत डिजिटल प्लेटफर्ममा आएपछि विश्वव्यापी भएको छ । त्यसैले, मैले नेपाली गीत संगीतको भविष्य निकै उज्ज्वल देखेको छु । अब यो क्षेत्रमा आउने नयाँ पुस्तालाई पनि गीत–संगीत बुझेर, गीत संगीत अध्ययन गरेर तथा सिकेर यो क्षेत्रमा आउन मेरो सुझाव छ । यसो भयो भने नेपाली गीत संगीतको भविष्य सधैं सुनिश्चित रहन्छ ।

प्रतिक्रिया दिनुहोस्