धोखाघडी हुनसक्ने कुरालाई अवमूल्यन गर्दाको परिणाम



भर्खरै उदाएर जनतामाझ लोकप्रियता हासिल गरी राष्ट्रिय दल बन्न सफल रास्वपा सबै शुभेच्छुकहरुको अनिच्छा हुँदाहुँदै पनि उक्त दलको अध्यक्ष, संसदीय दलको नेता र गृहमन्त्री बनेका र बनेर केही सम्बोधन गर्न प्रयास थालेका रवि लामिछानेको आफ्नै सानो गल्तीका कारण ती सबै पद गुमाउन पुगेका छन् । उनले प्राप्त गरेको पद गुमाउन पुगे पनि उनको चर्चामा कुनै कमी आएको छैन, बरु चुलिएको जनजनले अनुभूति गरेका छन् । पद, प्रतिष्ठामा आघात पुगेको कारण मनमा अलिकति धक्का लाग्दा केही संवेदनशील देखिए पनि न्यायालयको आदेशलाई मान्ने उनको अवधारणालाई सबै जनले स्वागत नै गरेका छन् । इतिहासलाई दृष्टिगोचर गर्दा देशमा आफ्नो राजनीतिक पद–प्रतिष्ठामा आघात पुग्दा समर्थकहरुलाई उरालेर आन्दोलनको नाउँमा आफ्नो प्रतिष्ठा कायम गर्ने नेताहरुको कमी छैन । तर जे भए पनि रविले आफ्ना समर्थकहरु अदालती आदेशको विपक्षीमा उभिन खोज्दा त्यसलाई रोकेर संयमतापूर्वक अदालतको आदेशलाई सम्मान गरेकाले हुनसक्ने कुनै अकल्पनीय घटनाबाट देश सुरक्षित हुन पुगेको छ ।

जे जसो भने पनि यो परिघटनालाई दृष्टिगोचर गर्दा रविले कुनै पनि बेला आपूm स्वयम् वा आफ्ना सल्लाहकार वा आफ्नो मनभित्र रहेको अहंताका कारण कसैले पनि कुनै पनि बेला कुनै पनि विषयलाई उठान गरेर उनको मान–प्रतिष्ठामा आघात पु¥याउने खेल हुनेछ भन्ने कुरालाई नजरअन्दाज गरेकै हुन् । सही शुभेच्छुकहरुले यो विषयमा दिएको सल्लाहलाई पनि उनले नजरअन्दाज गरेकै हुन् । उनको नागरिकता विषय भर्खरै उठाइएको विषय थिएन । दल दर्तादेखि उम्मेदवार हुँदासम्म यो प्रश्न बारम्बार उठाइएको थियो तर उनले यो विषयलाई गम्भीरतापूर्वक लिँदै लिएनन् वा लिन खोजे पनि रोकिने काम भयो । अन्य राजनीतिक व्यक्तिहरुको नागरिकताबारे उठिरहेको विवादले त्यति प्रश्रय र स्थान नपाएका कारण आफ्नो विषयमा पनि त्यति गम्भीररुपमा अगाडि बढ्ने छैन भन्ने मनोकांक्षाले घर गरेको कारणले यो विषयलाई उनले प्राथमिकतामा नपारेको भन्ने कुरा प्रस्टै बुझ्न सकिन्छ ।

पुराना दलहरुले जनजनलाई पटक–पटक झुक्याएको कारणले नयाँ सक्षम व्यक्ति वा नयाँ दलहरुप्रति जनजन आकर्षित भएकै हुन् । यसैको सेरोफेरोमा आलेखकर्ताले रचेको ‘झुक्याऊलान् है झुक्याऊलान् फेरि पनि झुक्याऊलान्’ भन्ने बोलको गीत रविले आयोजना गर्ने सभा–समारोहमा बजाएर जनजनलाई सुसुचित गर्न उनलाई हस्तान्तरण गरिएको थियो । जब उनी राजनीतिक सफलताको सिँढीमा उक्लने छन्, केही जनहितविरोधी काम गर्ने तत्वहरु उनको विरुद्ध लागिपर्ने छन् । नागरिकताको विषयलाई उद्दण्डरुपमा गलत भाष्य निर्माण गर्दै, कानुनको छिद्रलाई प्रयोग गर्दै बदनाम गराउने सम्भावना अधिक छ, त्यसकारण यो विषयलाई उम्मेदवारी दिनुअगाडि नै निस्तेज बनाउन कानुनी प्रक्रिया अवलम्बन गरी अगाडि बढ्नुपर्छ, दिएको सुझावलाई नजरअन्दाज गरेका परिणामले नै आजको अवस्था निम्तिएको हो । यदि यो आलेख उनले पढे वा पढ्न पाए भने विगतका यी कुराहरुको स्मरण गर्लान्÷नगर्लान्, त्यो उनको कुरो हो ।

देशमा पुराना दलका शासकहरुको महत्वपूर्ण काम भनेकै सत्ता कसरी जोगाउन सकिन्छ र कुन उपायहरुबाट पदलाई कसरी प्राप्त गरी सत्तामा टाँसिरहन सकिन्छ भन्ने अंकगणितीय राजनीतिक बाहेक राजनीतिक अंशियारहरुका बीचमा अरु विषयले प्रवेश पाउँदै पाउँदैन भन्ने कुरा घामजत्तिकै छर्लंग भएको छ । निर्वाचनपछि पछिल्लोपटक देखिएको र देखिन थालेका थरी–थरीका यो वा त्यो नामका दलीय द्वन्द्व र व्यवहारले पनि यो कुरालाई पुष्टि गरेको छ । उनीहरुका यस्ता व्यवहारमार्पmत थकित र आजित भएका जनजनहरु रविले विगतमा पत्रकारितामार्पmत सम्बोधन गर्न खोजेका कामको कारणले राजनीतिक अंशियारहरुका मूलीहरु त्यति बेलादेखि नै केही छटपटिन थालेका थिए । राजनीतिक व्यवसायीहरुले जे नाम राखेर न्वारान गरिएको भए तापनि दल सञ्चालनकर्ताहरु र राजनीतिक व्यवसायीहरुले विगतदेखि वर्तमानसम्मको कालखण्डमा जनताको अभिमतलाई कदर गर्ने संस्कारको कहिल्यै प्रत्याभूति दिन सकेका थिएनन् । राजतन्त्रको अन्त्य गरेर जनताको नाउँमा दशकौंदेखि नेपालको शासन बागडोर आफ्नो हातमा लिएपछिको अवस्थादेखि वर्तमान अवस्थासम्म आइपुग्दा पनि जनताको इच्छा र आकांक्षाहरुभन्दा आफ्नै राजनीतिक व्यवसायलाई परिस्कृत गर्न बहाना खोज्ने र थरी–थरीका तुरुपहरुको प्रयोगमार्पmत आपूm सत्तामा कसरी पुग्ने र टिकिरहने भन्दा अन्य जनहितको विषयले मूर्तरुप लिन खोज्दै खोजेन । राजावादीदेखि दलवादीहरुसम्म पनि आजको दिनसम्म यही भुमरीमा अल्झिएको अल्झिएकै छन् ।

कानुनी शासनको प्रत्याभूति, दण्डहीनताको अन्त्य, आर्थिक वृद्धि, स्वास्थ्य र शिक्षामा सबैको सरल पहुँच, मानवका अधिकारहरुको सोभैm हनन हुने खालका गलत परम्पराको अन्त्य, रोजगारीमा अभिवृद्धि आदि कुराहरुले सटिकरुपमा कुनै पनि स्थान ग्रहण गर्नै सकेन । दलहरुका आ–आफ्ना घोषणापत्रहरु घोषणापत्रमै सीमित रहेर बसे । मतदाताहरुसमक्ष भएभरको कसम खान यिनीहरु कहिल्यै थाकेनन् । आजका दिनसम्म आइपुग्दा पनि ती कसमहरु सत्ता प्राप्त नगरुन्जेलसम्मका लागि मात्र हुन् भन्ने कुरा सत्तामा पुगेका राजनीतिक व्यवसायीहरु यसपटक पनि प्रमाणित गर्ने जमर्कोमा लागिपरिरहेका छन् । आफ्नो र आफ्ना हितैषीको दुनो सोझ्याउने कार्यका लागि विगतमा जस्तै अहिले पनि विभिन्न धारमा रहेका राजनीतिक व्यवसायीहरुका स्वार्थलाई राज्यका विभिन्न अंगहरुमा प्रवाहित गर्ने, राख्ने र रहने प्रयासमा मात्र मरिहत्ते गर्दै पुनः लागिपर्ने प्रयास गरिरहेका छन् । राजनीतिक व्यवसायीहरुले विशेष गरी राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रशासन, न्यायपालिका, संवैधानिक परिषद्लगायत आ–आफ्नो स्वार्थ अनुकूल हुने राज्यका प्रायः सबै अंगहरुलाई आ–आफ्नो प्रभावमा पार्न कुनै कसर बाँकी राखेका छैनन् । त्यो निरन्तरतालाई वर्तमान सरकारले पनि पछ्याउँदै जाने जमर्काे गरिरहेको छ । राष्ट्रपति कुन दल र कसलाई बनाउने भन्ने लफडाबाजी यसको पछिल्लो प्रमाण हो । महावीर पुन, सन्दुक रुइतजस्ता व्यक्तित्वहरुको राष्ट्र«पति पदमा यदाकदा चर्चा चले पनि एकातिर दलीय गठबन्धनले अप्रत्यक्षरुपमा तिरष्कार गरिरहेको छ भने अर्कोतिर दलीय चालामाला बुझेका यी व्यक्तित्वहरु कुनै पनि पदमा जान इच्छुक देखिएका छैनन् ।

त्याग, क्षमा र धैर्यताको गुण नभएको नेतृत्व राज्यसत्तामा हाबी भइदिँदा परिवर्तनसहितको विकास त परै जाओस्, विकासका लागि पूर्वाधारका रुपमा रहेका धरोहर पनि मासिन पुग्छन् । २०४६ मा प्रवेश गरेको बहुदलीय व्यवस्थादेखि आजसम्म आइपुग्दा २०४७ सालको केही समयसम्म राजनीति स्थिर रहेको देखिएको भए तापनि संविधान र कानुनलाई आ–आफ्नो अनुकूल प्रयोग गर्ने परिपाटी र बेलाबेलामा गरिने राजनीतिक भ्रष्टाचार र राजनीतिक बेइमानीले मात्र प्रश्रय पाइरहँदा देश आजको यो अवस्थामा आइपुगेको हो । विभिन्न चरणका आन्दोलनहरुबाट खारिएर आएका भनेका नेतृत्वहरुले न त राष्ट्रलाई विकासको फड्कोमा रुपान्तरण गर्न सके, न त जनताले अपेक्षा गरेअनुसारको सामान्य कुराको सम्बोधन गर्न सके । सत्तामा पुगेपछि जनताको जीवनस्तरमा कायापलट ल्याउँछु भनी हुङ्कार गरिहिँड्ने नेताहरु आपूm सत्तामा पुगेपछि आपूmले गरेका बाचाबन्धनहरु सबै बिर्सेर मात्र सत्ता टिकाउने चलखेलमा केन्द्रित हुन पुगे । त्यसको निरन्तरता वर्तमान सरकारले पनि जारी राख्ने कुराको संकेत जनजनलाई प्राप्त भइरहेको छ ।

कानुनी शासनको अवमूल्यन, भ्रष्टाचारको चरणबद्ध शृङ्खला, दोषीहरुलाई उन्मुक्तिमा व्यापकता, हरेक नियुक्तिमा क्षमता भएकोलाई भन्दा पनि भागवण्डालाई प्रश्रय, हरेक निकायहरु कर्मचारी प्रशासनदेखि न्यायपालिकासम्ममा भएको बेथिति र छिराइएको राजनीतीकरण संघीयताका उपलब्धि ठहरिन पुगेका छन् । त्यही उपलब्धिलाई जगेर्ना गर्नको निमित्त मात्र राजनीतिक अंशियारहरु बेलाबेलामा आन्दोलनको नाउँमा जनजनमा भ्रम छर्ने गर्दछन् । कुनै पनि प्रधानमन्त्रीको पालामा देशमा देखिएका उल्लिखित महत्वपूर्ण विसंगतिहरुलाई ठीक स्थानमा ल्याउन अलिकति पनि पहल भएको जनताले अनुभूति गर्न सकेका छैनन् । जुन दलीय अंशियारका भाइ प्रधानमन्त्री भए पनि क्षणिक समयपश्चात् नै आफ्नै सहोदर अंशियारले खुट्टा तानिछाड्ने प्रवृत्तिले सदैव बढावा पाइरह्यो । एक अंशियारको सदस्यले अर्को अंशियारको सदस्यलाई सहयोग गर्ने भावना कहिल्यै जागृत भएन । संविधानले देखाइदिएको बाटोमा अग्रसर हुन कहिल्यै बुद्धि पलाएन । संविधानको मर्मलाई आत्मसात् गरी सो अनुसार देशलाई समृद्धिको शिखरमा पु¥याउने चेष्टाले कहिल्यै प्राथमिकता प्राप्त गर्न सकेन । यो तीतो तर सत्यतामा आधारित वर्तमान यथार्थतालाई वर्तमान सरकारले पनि लिइहाल्छ भन्ने जनजनले विश्वास गर्न सकेका छैनन् ।

देशमा बेथितिका डंगुर यति छन् कि त्यसलाई सफा गर्न मात्र कम्तीमा एक वा दुई कार्यकाल कांग्रेस, कम्युनिस्ट वा अन्य कुनै दलीय नाम भिरेको सरकार नभई ‘बेथितिका डंगुर सफाइ गर्ने सरकार’ नामको स्वतन्त्र सरकारको आवश्यकता परिसकेको छ भन्ने कुरा धेरै अगाडिदेखि उठिरहेको हो । त्यसैको प्रतिफलस्वरुप जनमतले परीक्षणकालको रुपमा बालेन, हर्ष, गोपीलगायत रास्वपालाई रोज्न पुगे । यी दल या पात्रका रुपमा निर्वाचित भएका पदाधिकारीहरुले जनअदालतमा कस्तो परीक्षा देलान्, जनमतको परीक्षणकालमा खरो उत्रलान् या नउत्रलान्, भविष्यले अंकित गर्ने नै छ । साथसाथै एउटा अर्को कुरा के पनि हो भने, यदि यी स्वतन्त्र नामका पात्रहरु अहिलेको परीक्षणकालमा उत्तीर्ण हुन सकेनन् भने भावी पुस्ताको जीवन झन् अन्धकारमय हुने निश्चित छ । जनताबाट विश्वास खस्किन थाल्नु भनेको सरकारमात्र असफल हुने होइन, जुन दलको हैसियत बोकेर सरकारमा प्रतिनिधित्व गरेको हो, सो दलको हैसियत पनि खस्किनु हो । नेकपा होस् वा एमाले, माओवादी होस् वा जसपा, कांग्रेस होस् वा अन्य कुनै नयाँ दल, जनताको मतलाई धोका दिनेबित्तिकै पुग्ने बाटो यही नै हो ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्