स्वस्थानी पूर्णिमा



आज स्वस्थानी पूर्णिमा । एक महिना लामो व्रतको समाप्तिको दिन । हरेक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म एक महिना हिन्दु धर्मावलम्वीहरुव्रतको यो अभ्यास गर्दछन् । महिनाभरि श्रीस्वस्थानी माताको कथा भन्ने क्रममा श्रीस्वस्थानी परमेश्वरीको पूजा गरेर श्री सत्यनारायणको पनि व्रत बसी महादेव र नारायणको पनि पूजा गर्ने गरिन्छ । व्रतालुहरु महिनाभरि व्रत बसेर नुनसमेत नखाई दिनहुँ फलाहार मात्र गर्नेगर्छन् ।

श्रीस्वस्थानीको कथामा दक्ष प्रजापतिले कोटीहोम गर्दा मन नपर्ने ज्वाइँ महादेव र छोरी सतीदेवीलाई मात्र नबोलाई अन्य सबै छोरी ज्वाइँका साथै तेत्तीस कोटी देवता, नाग, नागिनी, यक्ष, किन्नर सबैलाई बोलाएको, सतीदेवीले आफ्नो र महादेवको अपमान भएको ठानी माइतीमा गई होम गरिरहेको स्थानमा उग्ररुप लिएको वर्णन छ । सतीदेवी यज्ञमा गई, आफैंले आगोको ज्वाला प्रकट गरेर आफ्नो प्राण त्याग्छिन् ।

आगोले पनि छुन नसकेकी सतीदेवीको मृत शरीर बोकेर महादेव विभिन्न स्थानमा गइरहँदा सतीदेवीको विभिन्न अंग सडेर खसेको ठाउँमा विभिन्न शक्तिपीठ बनेको हो भन्ने मान्यता रहिआएको छ । श्रीस्वस्थानीको कथामा लेखिए अनुसार एकाउन्न शक्तिपीठमध्ये काठमाडौंमा रहेको शक्तिपीठ भने गुह्येश्वरी शक्तिपीठ हो ।पछि सतीदेवी नै पर्वतराज हिमालय र मेनकाको गर्भबाट पुत्रीको रुपमा पार्वती भएर जन्म लिएपछि महादेव नै पति पाऊँ भनी श्रीस्वस्थानीको व्रत बसी महादेव पति प्राप्त गरेकी हुन् भन्ने कथामा छ । श्रीस्वस्थानीको कथामा ८० वर्षका शिव शर्मा र ७ वर्षकी गोमाको विवाहको सन्दर्भ पनि छ ।

आज आधुनिक र मानवअधिकारका पक्षमा वकालत गर्ने समाजका केही व्यक्तिले यस्तो अनमेल र अप्राकृतिक वैवाहिक सम्बन्धको वकालत गर्ने शास्त्रको आलोचना पनि गर्नेगरेका छन् । तर, धर्मभिरुहरुका लागि यो विरोध सह्य छैन । किंबदन्ती, कथा र आख्यानका विषयमा विवाद गरेर आजको समाजमा अस्थिरता सिर्जना गर्नु आवश्यक पनि छैन । विश्वास हो– आकाशको बादलमा सिंह, घोडा, चरा आदि जेपनि देख्न वा केही पनि नदेख्न सबैलाई छुट छ ।

यद्यपि व्रतले मानवको स्वास्थ्य राम्रो पार्ने र श्रीस्वस्थानीमा वर्णन गरिएका तीर्थस्थलले धार्मिक पर्यटन बढाउने तथा आजका हामी आम नागरिकको जीविका चलाउन सघाउने काम गरिरहेको छ । जुनसुकै नाममा किन नहोस्, दैनिक जीवनलाई सहज, व्यवस्थित र अनुशासित बनाउने प्रतिफल हेर्दा यस पछाडिका कथामा आपत्ति गरेर बसिरहनु आवश्यक पनि देखिन्न ।

काठमाडौंमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखन टोलको तारिणी बहालमा छ । हरेक वर्ष साँखुमा श्रीस्वस्थानी भवानीको मेला लाग्छ । भक्तपुर चाँगुनारायण, पनौती त्रिवेणी घाट, काठमाडौंको पशुपति र फर्पिङको शेषनारायणसम्म नाङ्गै गोडाले हिँडेर एक–एक दिन बास बस्ने परम्परा छ । यस्तै पाटनको थेचोमा माघ महात्म्य परिक्रमा गर्दा दश अवतार प्रदर्शन गरेर सवा लाख सहस्र धारा बगाउँदै जात्रा मनाउने परम्परा छ ।

श्रीस्वस्थानीको कथा भन्न शुरु भएदेखि नै माघ महात्म्य जात्रा शुरु हुन्छ । जात्रा देखाएर विदेशी पर्यटकलाई आकर्षित गर्नसकियो भने शिव शर्मा र गोमाले जस्तो विवाह गरेपनि आजका नेपालीको वैवाहिक जीवन र घरगृहस्थी सुखद हुनसक्छ । यसरी हेर्दा श्रीस्वस्थानीले सबैको कल्याण गरेको नै प्रमाणित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्