राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको आज टुंगो लाग्दै



काठमाडौं । संसद्को सबैभन्दा ठूलो एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्ता गठबनधन बाहिर रहेका दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार एउटै बनाउने सहमति गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने गरी सहमति गरेका हुन् ।

सिंहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार बसेको कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले उक्त निर्णय गरेको नेताहरूले बताएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताउनुभयो । लेखकले भन्नुभयो– ‘उम्मेदवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौं ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरू पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको जानकारी दिँदै भन्नुभयो – ‘सबै पक्षको कुरा बुझेर एउटा टुङ्गोमा पुग्ने भन्ने भएको छ । कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन् । व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन् । विकसित परिस्थितिका आधारमा बसेर टुङ्गोमा पुग्छौँ ।’ उहाँले उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबेदारी नरहेको स्पष्ट पार्नुभयो ।

नेताहरूबीचको छलफलमा नेपाली कांग्रेसले अघि सारेको उम्मेदवारलाई नै सहयोग गर्ने सहमति बनेको एक सांसदले बताए । तीन दलका शीर्ष नेताहरूको छलफलमा कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन गरेका उम्मेदवारलाई सत्ता गठबन्धन बाहिर रहेका दलहरूले सहयोग गर्ने भन्ने सहमतिनजिक पुगेको उहाँको भनाइ छ । उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

यसैबीच प्रतिपक्षी दल कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको लागि उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको छ । राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्ने भएकाले कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो । अनिता देवकोटा पार्टीको प्रमुख सचेतक रहेका कारण दुईमध्ये एक जना उम्मेदवार बन्ने बताइएको छ ।

उपाध्यक्षको निर्वाचनको विषयमा छलफल गर्न कांग्रेसले शनिबार प्रतिपक्षी दलको बैठकसमेत बोलाएको थियो । छोटो समय बसेको बैठकमा यसबारे प्रारम्भिक छलफल भएको कांग्रेसका मुख्य सचेतक लेखकले जानकारी दिनुभयो । अन्य कुनै पार्टीको दाबेदार नरहेकाले भोलि कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने उहाँले बताउनुभयो ।

यता एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाअनुसार राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने भएको छ । सभामुख एमालेले लिएपछि राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीलाई सहयोग गर्ने नेकपा एमालेका नेता विशाल भट्टराईले नेपाल समाचारपत्र बताउनुभयो । यसअघि पनि माओवादीबाट शशिकला दाहाल रहेको सो पदका लागि आगामी माघ २३ गते सोमबार निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्