राप्रपाका मन्त्रीसहित नेताहरूसँग पूर्वराजाको भेट, प्रजातन्त्रसहितको हिन्दु राजतन्त्रमा जोड



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिनुभएको छ । झापा बसाइका क्रममा चितवन, जनकपुर र सिमरा आउँदै जाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडा रूपमा उठाउन आग्रह गर्नुभएको छ ।

उच्चस्रोतका अनुसार लिङ्देनले झापा र जनकपुरमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्नुभएको थियो । पछिल्लो समय संसद्मा राप्रपाका नेता धवलशम्शेर जबराले प्रजातन्त्रसहितको राजतन्त्रको वकालत गरिरहनुभएको छ । १४ सिट जितेका राप्रपाको मन्त्री र नेताहरूले पूर्वराजाकै इसारामा हिन्दु धर्मसहितको राजतन्त्रको विषय उठाइरहेको बताइन्छ ।

सरकारमा उपप्रधान र ऊर्जामन्त्रीसहित ३ मन्त्री र १ राज्य राज्यमन्त्रीको भाग पाएको राप्रपाले हरेक विषय उठान गर्दा राजतन्त्रको पक्षमा वकालत गरेको देखिन्छ । झापामा बसेर राजनीति गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले भेट गरेका अधिकांश नेताले हिन्दुराज्य र राजतन्त्रको विषय उठाउने गरेका छन् ।

क्रिसमस मनाउन चितवन पूगेका पूर्वराजा ज्ञानेन्द्रले सोही क्षेत्रका सांसद एवं शहरी विकासमन्त्री विक्रम पाण्डेसँग भेट गर्नुभएको थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, पार्टी प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही र वरिष्ठ नेता बुद्धीमान तामाङले पनि चितवनमै पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्नुभएको थियो । ऊर्जा राज्यमन्त्री दीपक सिंहले भने पूर्वराजा ज्ञानेन्द्रसँग सिमरामा भेट गर्नुभएको थियो ।

मठमन्दिर घुम्न र दर्शन पूजापाठ गर्न भन्दै जनकपुर पुगेका पूर्वराजाले त्यहाँ राजावादीहरूसँग भेट गर्नुभएको थियो । पूर्वराजा ज्ञानेन्द्रका सचिवालयले निजी भ्रमणको लागि झापा जानुभएको बताए तापनि राजनीतिक चलखेल गर्न झापा बस्दै आएको निकट स्रोतले जनाएको छ । स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘काठमाडौंमा बस्दा सबैले थाहा पाउन सक्छन्, जाडो छल्न भन्दै झापा पुग्दा कसैले पनि वास्ता गर्दैनन् भेटघाट गर्न सहज हुन्छ । त्यसैले पूर्वराजा ज्ञानेद्र तराईका जिल्लाको भ्रमण गर्दै राप्रपाका नेता तथा कार्यकतासँग भेटेर राजतन्त्र ल्याउन वकालत गरिरहनुभएको छ ।’

गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले झापा बस्दा पनि राजनीतिक भेटघाट गर्नुभएको थियो ।

झापाबाट जनकपुर हुँदै चितवन पुग्नुभएका ज्ञानेन्द्र परिवारसँग अंग्रेजी नयाँ वर्ष मनाएलगत्तै सिमरा पुगेर त्यहाँबाट जनकपुर हुँदै झापा पुग्नुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाति हृदयन्द्रलाई राजाको रूपमा अघि बढाउन खुबै जोडबल गर्नुभएको बताइएको छ । यसअघि पनि पटक पटक बेबी किङको बारेमा चर्चा हुने गरेको छ ।

उता फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव पूर्वमै हुने भएको छ । ‘इटहरी, धुलाबारी वा दमकको चिया बगानमध्ये एक स्थानमा जन्मोत्सव मनाउने तयारी भइरहेको र एकदुई दिनभित्रै निर्णय हुने स्रोतले बतायोे । स्रोतका अनुसार जन्मोत्सव मनाउन पूर्वराजाका आफन्तका साथै राप्रपाका नेताहरू पनि पूर्व जाने भएका छन् । पूर्वाञ्चलको एउटा होटल वा क्षेत्रमा हुने जन्मोत्सव समारोहमा राजावादी र राप्रपाका नेताहरूको जमघट हुने स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्