अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो प्रस्तुति



क्यानबेरा ।

 अस्ट्रेलियाका सबैजसो व्यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा भने यसपाला पहिलो पटक उभिएको थियो  । थोरै मात्र नेपालीको बसोबास रहेको यस सहरमा पनि नेपाली लोक रक धुन बोकेर पुगेको ब्यान्डले शुक्रवार भव्य स्वागत पाउन सफल भएको छ ।

यहाँस्थित ‘म्येनिंग क्लर्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्या अनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै विक्री भएर सिद्धिएको थियो । शुक्रवार कन्सर्ट सुरुहुनुभन्दा निकै अघि नै ‘अस्ट्रेलियन युनिभर्सिटी’ परिसर भित्र रहेको हलमा नेपाली र केही मात्रामा अस्ट्रेलियन दर्शकहरुको घुइँचो लागिसकेको थियो ।


स्थानीय समयअनुसार बेलुकीको ठिक ८.३० बजे कन्सर्ट सुरुहुँदा ब्यान्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरुगरेको थियो । त्यसपछि लगत्तै दोस्रो अल्बमको सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो ।

कार्यक्रममा दर्शकहरुको भिड भित्रै लिन्डा ट्रिक पनि थिइन् । नेपालमा कुनै समय अस्ट्रेलियन कूटनीतिज्ञको भूमिका निर्वाह गरेकी र हाल अवकाशप्राप्त उनी साथमा छोरालाई लिएर कन्सर्ट हेर्न आइपुगेकी थिइन् ।
‘गजब लाग्यो,’ कार्यक्रम हेरिसकेपछि प्रतिक्रिया दिँदै उनी भनिरहेकी थिइन्, ‘व्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुति असाध्यै ऊर्जाशील पनि लाग्यो ।’
ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ त्यो ऊर्जाकै मुख्य श्रोत भएता पनि सिङ्गो ब्याण्ड आफैमा विश्वस्तरीय रहेको लिण्डाको मूल्यांकन थियो ।
‘सिंगो दर्शक रमाए,’ लिण्डाले थपिन्, ‘हामी आमाछोरा पनि खुब रमायौँ ।’

कार्यक्रमलाई त्यसपछि ‘भेडाको ऊनजस्तो’, ‘लाम्पाते सुरती’, ‘चरी म¥यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरुले निरन्तरता दिएको थियो । ‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भुत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकहरूलाई हौस्याएका थिए ।

हलभित्रै रमाइरहेका दर्शकमा मनस्वी र नेहा पनि थिए ।


‘कार्यक्रम असाध्यै बाँध्ने किसिमको थियो र सिंगो अवधिभर हामी त्यसको बन्धनमा कस्सिएर रमाएका थियौं,’ उनीहरू भनिरहेका थिए, ‘अर्कोतिर कस्तो नेपालै पुगेको जस्तो पनि महसुस भइरह्यो ।’ आफूहरू अस्ट्रेलियामा नियमित रुपले कन्सर्टहरुमा गइरहने भएता पनि नेपथ्यसँग शुक्रवारको क्षणजस्तो आत्मीयता अन्यत्र कतै महसुस नगरेको पनि उनीहरुले बताए ।
सिन्धुलीमाडीबाट अस्ट्रेलिया आइपुगेकी नेहाले ११ वर्षअघि नेपथ्यले उनकै सहरमा आयोजना गरेको कन्सर्ट पनि हेरेकी रहिछन् । त्योबेला पाँच कक्षामा पढ्ने उनी काकाहरुको साथमा गएकी थिइन् ।
‘त्योबेलादेखि मैले सकेसम्म नेपथ्यको कन्सर्ट छुटाउँदिन भनेर मनमनै सोचेको थिएँ,’ उनी भनिरहेकी थिइन्, ‘आज फेरि नेपथ्य अनुभव गरिरहँदा बाल्यकालका दिनहरू पनि खुबै याद आए ।’

मनस्वी भने सिड्नीदेखि यो कन्सर्ट हेर्नकै लागि क्यानबेरा आइपुगेकी रहिछन् ।
सानै हुँदा नेपथ्यले ‘भेडाको ऊनजस्तो’ गीत रिलिज गरेको र लगत्तै आफ्नो सहर धुलाबारीमा कन्सर्ट गरेको सम्झना मानस्वीसँग थियो ।
‘उहिलेदेखि मनपरेको त्यो गीत यहाँ आएर यति रमाइलोसँग सुन्न पाइयो,’ उनी भनिरहेकी थिइन्, ‘म केही दिनपछि हुने सिड्नीको कन्सर्ट पनि हेर्न आइपुग्छु ।’
‘नैनाताल’ सुनाएपछि नेपथ्यले जसै ‘यो जिन्दगानी’ गाउन थाल्यो पर्दामा मानवसेवा आश्रमले उद्धार गरेका सडक आश्रितहरुको हृदयविदारक दृश्य बग्न सुरुभएको थियो । यसरी विरक्तलाग्दो हिसाबले कसैले बाँच्नु नपरोस् भनेरै यो सिंगो वर्ष ब्यान्डले ‘मानवताका लागि संगीत’ अभियान अघि बढाएको उल्लेख गर्दै गायक अमृतले त्यसै अभियानलाई लिएर गएको महिना नेपालभरको भव्य यात्रा सम्पन्न भएको पनि उल्लेख गरे ।

त्यसपछि दर्शकहरुमा तीव्र तरंग पैदागर्ने हिसाबले ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएको थियो । अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम अवधिमा अमृतले उपस्थित नेपाली दर्शकहरुको साथ पाइरहँदा एकमनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे । ‘तपाईँहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुसी छु,’ उनी भनिरहेका थिए, ‘तर, यत्तिका उर्जावान् तन्नेरीहरुलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ ।’
नेपालका युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्न उनले मञ्चबाटै नेताहरुलाई आव्हान पनि गरे । त्यसो नगरिएमा आउने समयले उनीहरुलाई माफ नगर्ने चेतावनी पनि दिए ।

मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । कलाकारको यो टिमबाहेक ब्यवस्थापक र प्राविधिकहरुको १३ सदस्यीय टोली यात्रामा सरिक छ ।

‘यो कार्यक्रम भव्य रुपले सम्पन्न त भयो नै,’ स्थानीय आयोजक गौरव दहाल भनिरहेका थिए, ‘उपस्थित प्रत्येक दर्शकले सकारात्मक ऊर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुसी लाग्यो ।’

यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुति सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुगेको छ । फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौँ प्रस्तुति रहनेछ ।
त्यसपछि फेब्रुअरी १० तारिख सिड्नीको ‘होडर्न पभिलियन’, फेब्रुअरी १३ तारिख मेलबर्नको ‘फोरम’ र अन्त्यमा अस्ट्रेलियाकै पुछारमा रहेको बेग्लै टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रवारको दिन प्रस्तुत भएपछि नेपथ्य स्वदेश फिर्नेछ ।

प्रतिक्रिया दिनुहोस्