नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको १६ औँ सभा

वर्गीकरण नहुँदा ‘विवाह व्रतबन्ध’ रोकियो



काभ्रे।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन जिल्ला कार्य समितिको १६ औँ वार्षिक साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । स्थानीय सरकारले वर्गीकरण नगर्दा भएका समस्या, कारोबारमा  आएको मन्दी, ब्यवसायीक एकता र शुद्धताका बारमो छलफल गर्दै सभा सकिएको अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो ।

‘संस्थाको विकास तथा ब्यवसायीक एकताका लागि सदस्यहरुको क्षमता बढाउन आवश्यक छ’–अध्यक्ष रोशनकुमार श्रेष्ठले भन्नुभयो – ‘जग्गा वर्गीकरण नहुँदा नागरिकहरुले बेहोर्नु परेको समस्यामा स्थानीय तहका जनप्रतिनिधि र सरकारका तीनै तह जिम्मेवार बन्न सकेनन् ।’ ‘अंशबन्डा हुन सकेको छैन’– अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘कृषि क्षेत्रमा वर्गीकरण गरिएको जग्गा अंश बन्डा हुँदैन ।’ कित्ताकाटका समस्यामा मालपोत र नापी कार्यालयमा भइरहेका समस्यालाई समाधान गर्न पहल गरेको भए पनि नागरिकहरुलाई छिटो सेवा प्रदान गर्न नसकिएको उहाँले बताउनु भयो । भू–सेवाबाट प्रदान गरिएको सेवालाई प्रभावकारी र गुणस्तर बनाउन सहजीकरण गरिएको श्रेष्ठले बताउनु भयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले मालपोत र नापी कार्यालयको सेवालाई प्रभावकारी बनाउन पहल भइरहेको बताउनु भयो । जग्गा वर्गीकरण नहुँदा भएका समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय भए पनि प्राविधिक कारण हुन नसकेको उहाँले बताउनु भयो । आउँदो वैशाख भित्र १३ वटै पालिकाको जग्गा वर्गीकरण भइसक्ने गौतमको दाबी छ ।जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल र चौँरी देउराली तथा खानीखोला गाउँपालिकाले वर्गीकरण गरिसकेका छन् ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले लेखापढी ब्यवसायीहरुको भवन निर्माण तथा संस्थागत विकास आवश्यक रहेको बताउँदै नमोबुद्ध नगरपालिकाको जग्गा वर्गीकरणमा विज्ञहरुले धेरै रकम मागेकाले वर्गीकरण समयमै हुन नसकेको बताउनु भयो । अन्य पालिकाहरुले असहयोग गरेको बताउँदै नगर प्रमुख लामाले नमोबुद्ध नगरपालिकाले माघ भित्रै वर्गीकरण सम्पन्न गरेर बुझाउने बताउनु भयो । जग्गा वर्गीकरण नहुँदा सन्तानको शुभ कार्य समेत रोकिएको गुनासो आएको उहाँले बताउनु भयो ।

कार्यक्रममा एशोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेलले लेखापढी कानुन ब्यवसायीहरुले भोग्दै आएका समस्या, भएका नीति तथा कानुनहरूको अवस्था तथा व्यवसायलाई समृद्ध बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नापी कार्यालय काभ्रेका अधिकृत सुरेश मानन्धर, केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर थापा, महासचिव कृष्णप्रसाद दाहाल, कोषाध्यक्ष हरिप्रसाद पौड्याल, बार एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे, एशोसिएसनका केन्द्रीय सदस्य श्रीधर कायस्थ, जिल्ला उपाध्यक्ष ध्रुर्वप्रसाद दाहाल, सचिव कुमार मैनाली, सल्लाहकारहरु माधव सिग्देल, सदस्य जिल्ला दोर्जे लामा, पत्रकारहरु मोतीराम तिमल्सिना, भुवन रायमाझी र पेमा लामाले लेखापढी कानुन व्यवसायका बारेमा धारणा राख्नु भएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा ५२ वटा भू–सेवा छन् । नयाँ सदस्यहरुका लागि भू–सेवा थप भए पछि आवश्यकता र क्षमताका आधारमा वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

देशभर १ सय ५२ वटा संस्था सङ्गठित भई लेखापढी कानुन व्यवसायीहरू सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्