निकुञ्जले स्वीकृति नदिए जनताले आफै बाटो खोल्ने



नवलपरासी ।

पूर्वी नवलपरासीमा पर्ने बहुवन त्रिवेणी पहुँच मार्ग संचालनमा  निकुञ्जले स्वीकृति नदिए जनता आफै सडक खोल्ने जनाएकाछन् ।झण्डै ५ दशकअघि सम्म चलनचल्तीको यो बाटो नारायणी पारीको चितवन राष्ट्रिय निकुञ्ज बनेसँगै आवतजावत बन्द भएको हो ।

हालको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने यो सडक प्राचीन हुलाकी बाटो भएकाले भित्री मधेसबाट तराई जोड्ने पहुँच मार्गका रूपमा विकास गरिने पालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

गिरीका अनुसार जैविक विविधताको पूर्ण संरक्षण गर्दै आफ्नै गाउँ पालिकाको ६ र ७ नम्बर वडा जोड्ने बहुवन त्रिवेणी सडक खोल्न विनयी त्रिवेणी सरकार व्यापक छलफलमा जुटेको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग पहुँच मार्ग सञ्चालनको स्वीकृति मागेका छौँ,सङ्घ, प्रदेश सबै गुहार लगायौँ अव धेरै ढिला भई सकेको छ समयमै निर्णय नभए जनतालेनै यो बाटो खाेल्नेछन् अध्यक्ष गिरीले भन्नू भयो ।

त्यसो त पछिल्लो पटक राज्यको पुनर्संरचना हुँदा जिल्ला विभाजनसँगै गण्डकी प्रदेशको भारतसँग जोडिने गरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका सिमाङ्कन गरिएको छ ।

यसैले गण्डकी प्रदेश सरकारको तत्कालीन मन्त्री स्तरीय बैठकबाट चीनसँगको उत्तरी नाका कोरला र दक्षिणी नाका त्रिवेणी जोड्ने गरी बहुवन त्रिवेणी सडक खोल्न यश सडकलाई गौरवको योजनामा समेटेको थियो ।

यसरी गण्डकी प्रदेशकै लाइफ लाइन यो बाटो नखुल्दा प्रदेशकै भारतसँगको पहुँच रोकिएको छ भने स्थानीय २ वडाका बासिन्दालाई दैनिक प्रशासनिक काम लिन दिनै बिताउनु पर्ने बाध्यता रहेको छ । त्यसो त बहुवन त्रिवेणी हुलाकी सडक यशअघि पनि बनाउने प्रयास जन स्तरबाट नभएको होइन ।

साबिक त्रिवेणी सुस्ता,नयाँ बेलहानी र दुम्किबास गाउँ विकास समितिको विशेष पहलमा हाल बन्द रहेको बहुवन गजेन्द्रमोक्ष ११ किमी सडकको टय्राक खोल्ने काम स्थानीयले २०५९ सुरू गरी २०६३ सालमा सकेका थिए ।

त्रिवेणीधाम क्षेत्रकाे महत्ता र गरिमा कायम राख्न अत्यावश्यक याे सडक खोल्न अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमल नयनाचार्यले यश जन अभियानमा संरक्षकत्व प्रदान गर्नु भएकाे थियाे ।

सुरूमा घोडेटो अवस्थामा रहेको यो मार्ग तत्कालीन जिल्ला विकास समितिको २५ लाख र स्थानीयको समेत गरी करिब ७५ लाख रुपैयाँमा ४ पाङ्ग्रे सवारी चल्ने गरी खोलिएको थियो ।

पालिका अध्यक्ष गिरी भन्नू हुन्छ हामीले सम्बद्ध सबै निकायमा पत्राचार, अनुनय र विनय  गरिरहेका छौँ तर सुनुवाइ भएन हाम्रो बाटो हामीले किन नबनाउने ?
कि त यसलाई नामै संशोधन गरेर नवलपरासी राष्ट्रिय निकुञ्ज बनाइनु पर्छ  होइन भने जनताले सडकको पहुँच अविलम्ब पाउनु पर्ने अध्यक्ष गिरीको तर्क छ ।
दुरीका हिसाबले भारतको बिहार राज्य स्थित वाल्मीकि नगरसँग सीमा जोडिएको त्रिवेणीधाम देखि पूर्व पश्चिम राजमार्ग केवल २१ किमी दुरीमा छ ।

यसै सम्बन्धमा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारी कोर एरियामा हुने विकास गतिविधि वातावरणीय प्रभावलाई हेरी प्रक्रियागत रूपमा हुनु पर्ने बताउनु हुन्छ ।

दुर्लभ जीव तथा वनस्पतिको संरक्षण मुख्य विषय हो, राज्यले निर्दिष्ट गरेका नीति नियम पूरा गरी हुने कार्यमा निकुञ्ज बाधक नभई समन्वयात्मक भूमिकामा रहने तिवारीको भनाई छ ।

बहुवन त्रिवेणी बाटो नखुल्दा स्थानीयहरू लुम्बिनी प्रदेशको बर्दघाट, प्रतापपुर र सुस्ता गाउँ पालिका हुँदै घुमाउरो बाटो भएर सदरमुकाम जाऊ आऊ गर्न  परिरहेको त्रिबेणीका समाजसेवी  वीरेन्द्र महत बताउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्